कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

४२ प्रतिशत कर्जा अनुत्पादक क्षेत्रमा

यज्ञ बञ्जाडे

काठमाडौं — बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल १९ खर्ब ५८ अर्ब रुपैयाँ कर्जामध्ये झन्डै आधा अनुत्पादक क्षेत्रमा प्रवाह भएको छ । छिटो र धेरै प्रतिफल आउनुका साथै जोखिम पनि कम हुने भएकाले बैंक तथा वित्तीय संस्थाको ठूलो लगानी यो क्षेत्रमा प्रवाह भएको हो ।

४२ प्रतिशत कर्जा अनुत्पादक क्षेत्रमा

राष्ट्र बैंकको तथ्यांकअनुसार गत वैशाखसम्म ८ खर्ब २६ अर्ब रुपैयाँ अनुत्पादक क्षेत्र (ओभरड्राफ्ट, सेयर मार्जिन, घरजग्गा तथा हायर पर्चेज) मा लगानी भएको छ । यो कुल कर्जाको ४२ दशमलव २ प्रतिशत हो । ०७३ वैशाखको तुलनामा गत वैशाखसम्म यस्तो कर्जा २९ दशमलव २ प्रतिशतले बढेको छ । ०७३ वैशाखमा यो क्षेत्रमा ६ खर्ब ३९ अर्ब ३ करोड रुपैयाँ ऋण प्रवाह भएको राष्ट्र बैंकको तथ्यांक छ ।

खासगरी चालु आर्थिक वर्षको सुरुदेखि नै बैंक तथा वित्तीय संस्थाले आक्रामक रूपमा लगानी विस्तार गरेका थिए । तर, कर्जा वृद्धिको अनुपातमा निक्षेप बढ्न सकेन र वित्तीय क्षेत्रमा लगानीयोग्य रकमको कमी भयो । यसले ब्याजदरमा ठूलो उतारचढाव ल्यायो । यस्तो अवस्था नियन्त्रणका लागि भन्दै राष्ट्र बैंकले शीर्षकै तोकेर ओभरड्राफ्ट, सेयर मार्जिन, घरजग्गा तथा हायर पर्चेज अनुत्पादक क्षेत्रलाई अनुत्पादक भन्दै ती क्षेत्रमा लगानी नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दियो । त्यसपछि अनुत्पादक क्षेत्रमा थप ऋण प्रवाहमा कमी त आयो तर पहिल्यै धेरै लगानी भइसकेकाले अझै पनि कुल ऋण प्रवाहमा ४२ प्रतिशत ऋण अनुत्पादक क्षेत्रमा प्रवाह भएको देखिएको हो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत वैशाखसम्म ओभरड्राफ्टमा सबैभन्दा बढी ३ खर्ब ४३ अर्ब रुपैयाँ ऋण प्रवाह भएको छ । ०७३ वैशाखमा ओभरड्राफ्टमा बैंक तथा वित्तीय संस्थाको लगानी २ खर्ब ७७ अर्ब रुपैयाँ थियो । त्यसपछि बढी लगानी भएको क्षेत्र रियल इस्टेट (घरजग्गा) हो । गत वैशाखसम्म यो क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले २ खर्ब ९३ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

०७३ वैशाखमा यस्तो लगानी २ खर्ब ३३ अर्ब रुपैयाँ थियो । यसैगरी गत वैशाखसम्म हायर पर्चेज र सेयर मार्जिनमा क्रमश: १ खर्ब ५० अर्ब र ३८ अर्ब रुपैयाँ प्रवाह भएको छ । अघिल्लो वर्षको वैशाखसम्म ती क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी क्रमश: ९६ अर्ब र ३२ अर्ब रुपैयाँ थियो । उता राष्ट्र बैंकले भने पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले अनुत्पादक क्षेत्रमा लगानी विस्तार कम गरेको जनाएको छ ।

बैंकरहरूले भने राष्ट्र बैंकले भने जस्तो ठूलो लगानी अनुत्पादक क्षेत्रमा नगएको बताएका छन् । उनीहरूका अनुसार घरजग्गा र हायर पर्चेज क्षेत्रमा प्रवाह भएको सबै ऋणलाई अनुत्पादक भनेर वर्गीकरण गर्नु न्यायसंगत हुँदैन । ‘सार्वजनिक यातायात, पूर्वाधारण निर्माण, ढुवानी सेवालगायत क्षेत्र प्रवाह भएको ऋणलाई कसरी अनुत्पादक भन्न मिल्ला र ? बैंकर्स संघका पूर्वअध्यक्ष उपेन्द्र पौड्यालले प्रतिप्रश्न गरे, ‘हुम्ला, जुम्लाबाट सामान ओसारपसारका लागि ट्रकलगायत साधनमा लगानी हुन्छ भने त्यो कसरी अनुत्पादक भयो ?’

निजी सवारी साधन, बिलासिताका वस्तु, घरजग्गाको सट्टाबाजी कारोबारलगायतमा गएको ऋणलाई अनुत्पादक भन्न मिले पनि ती क्षेत्रमा प्रवाह भएको सबै ऋण अनुत्पादक नभएको उनको दाबी छ । पुँजी वृद्धिसँगै बैंक तथा वित्तीय संस्थालाई जसरी भए पनि कारोबार विस्तार गर्नुपर्ने दबाब परेकाले केही ऋण अनुत्पादक क्षेत्रमा पनि गएको जनाउँदै उनले भने, ‘बैंकहरूले निकै संयमित भएर लगानी गरिरहेका छन्, बिस्तारै उत्पादनमूलक क्षेत्रमा ऋण प्रवाह बढिरहेको छ ।’

केन्द्रीय बैंकको निर्देशनअनुसार वाणिज्य बैंकहरूले कुल कर्जाको कम्तीमा २० प्रतिशत उत्पादनमूलक क्षेत्रमा प्रवाह गर्नुपर्छ । ०७४ वैशाखसम्म बैंकहरूको यस्तो कर्जा अनुपात १७ दशमलव ३ प्रतिशत छ । यो राष्ट्र बैंकको निर्देशनभन्दा करिब ३ प्रतिशत विन्दुले कम हो । कुल उत्पादनमूलक कर्जामध्ये कम्तीमा १५ प्रतिशत कृषि र ऊर्जा क्षेत्रमा लगानी भएको हुनुपर्ने राष्ट्र बैंकको निर्देशन छ । वैशाखसम्म बैंकहरूले कृषि र ऊर्जामा प्रवाह गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन पूरा गरेका छैनन् ।

राष्ट्र बैंकको मासिक प्रतिवेदनअनुसार ०७४ वैशाखसम्म वाणिज्य बैंकहरूले साना तथा मझौला व्यवसायमा ४४ अर्ब १५ करोड रुपैयाँ प्रवाह गरिसकेका छन् । यो कुल लगानीको २ दशमलव ७ प्रतिशत हो ।

यसैगरी सोही अवधिमा १ अर्ब ३८ करोड रुपैयाँ आयात कर्जा (ट्रस्ट रिसिट) प्रवाह भएको छ । गत वर्षको तुलनामा यो १ दशमलव ९ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २७ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्षको १० महिनासम्म बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रतर्फ प्रवाह गरेको कर्जा १६ दशमलव ६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १६ दशमलव २ प्रतिशतले बढेको थियो ।

निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको १९ दशमलव ७ र विकास बैंकको २ दशमलव ५ प्रतिशतले बढेको छ । तर, उक्त अवधिमा वित्त कम्पनीहरूले प्रवाह गरेको कर्जा १ दशमलव ७ प्रतिशतले घटेको छ । वार्षिक विन्दुगत आधारमा ०७४ वैशाखमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जा २४ दशमलव १ प्रतिशतले बढेको छ । ०७३ वैशाख मसान्तमा यस्तो कर्जा २१ दशमलव १ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

दस महिनाको अवधिमा कृषि क्षेत्रको कर्जा १० दशमलव ८, औद्योगिक उत्पादन क्षेत्रको १२ दशमलव ४, निर्माण क्षेत्रको १८ दशमलव ४, थोक तथा खुद्रा व्यापारको १३ दशमलव ८, सेवा क्षेत्रको कर्जा १६ दशमलव ८ र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रको कर्जा २६ दशमलव १ प्रतिशतले बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : जेष्ठ ३१, २०७४ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?