कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उच्च नाफा राखी मूल्य समायोजन

राजु चौधरी

काठमाडौं — आयल निगमले उच्च नाफा राखी पेट्रोल र डिजेलमा मूल्य समायोजन गरेको पाइएको छ । भारतीय आयल कर्पोरेसन्स (आईओसी) ले जुन १५ (असार १ गते) मा पठाएको नयाँ मूल्यसूचीअनुसार निगमको पाक्षिक नाफा ४० करोड ४१ लाख रुपैयाँ देखिन्छ ।

उच्च नाफा राखी मूल्य समायोजन

आयल निगमले उच्च नाफा राखी पेट्रोल र डिजेलमा मूल्य समायोजन गरेको पाइएको छ ।

भारतीय आयल कर्पोरेसन्स (आईओसी) ले जुन १५ (असार १ गते) मा पठाएको नयाँ मूल्यसूचीअनुसार निगमको पाक्षिक नाफा ४० करोड ४१ लाख रुपैयाँ देखिन्छ । तर, गत शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा मात्रै घटाएको छ । जुन १ तारिख (जेठ १८) मा पठाएको मूल्यसूचीअनुसार नाफा ३३ करोड ९ लाख रुपैयाँ भएको थियो । जसअनुसार जुनमा मात्रै निगमको नाफा ७३ करोड ४२ लाख रुपैयाँ देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपछि निगमको नाफा बढेको हो । प्रत्येक महिना नाफा बढे पनि उपभोक्ताले भने इन्धन खरिदका लागि चर्को मूल्य तिर्न बाध्य छन् ।

सरकारले ०७१ असोजदेखि पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धनमा स्वचालित मूल्य लागू गरेको थियो । आईओसीले पनि प्रत्येक महिनाको १ र १५ तारिखमा नयाँ मूल्यसूची पठाउँछ । स्वचालित मूल्य प्रणालीअनुसार नेपालमा पनि सोहीअनुसार मूल्य समायोजन गर्नुपर्छ । पुसमा पेट्रोल डिजेल र मटितेलको मूल्य समायोजनपछि शुक्रबार घटाएको हो । निगम आफैंले बनाएको मूल्य समायोजन कार्यविधि पूर्ण रूपमा कार्यान्वयन नगर्दा सर्बसाधारण मर्का परेको उपभोक्ताकर्मीहरू बताउँछन् । ‘आफैंले बनाएको नियम कार्यान्वयन गरेको देखिएन । मूल्य बढेको बेला समायोजन हुने घट्दा मूल्य नघट्ने यो सरासर ठगी हो,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भने, ‘निगम आफैंले उपभोक्ता ठग्न र कालोबजारी गर्न पाइँदैन ।’

निगमको तथ्यांकअनुसार जुन १५ देखि पेट्रोलमा पाक्षिक नाफा १० करोड २९ लाख, डिजेलमा ९ करोड ९७ लाख, मटितेलमा १ करोड ६७ लाख रुपैयाँँ छ । यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ २ करोड ८६ लाख, हवाई इन्धन (अन्तर्राष्ट्रिय) तर्फ ११ करोड १३ लाख र खाना पकाउने एलपी ग्यासमा ४ करोड ५१ लाख रुपैयाँ नाफा छ । जानकारहरूका अनुसार निगमले सडक मर्मत, प्रदूषण, मूल्य स्थिरीकरण कोष, निगमको प्रशासनिक, पूर्वाधार विकास, बूढीगण्डकी जलविद्युत् आयोजनालगायत विभिन्न शीर्षकमा रकम उठाउँछ । तर, उक्त शीर्षकबाट उठाइएको रकम भने प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन ।

संसदको आपूर्ति तथा उपभोक्ताहित उपसमितिले पनि पटकपटक अनावश्यक शीर्षकबाट रकम असुल्न नहुने निर्देशन दिएको थियो । स्वचालित मूल्य पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको थियो । तर, निर्देशनको पालना हुन सकेको छैन । ‘निगमले शुक्रबार समायोजन गरेको मूल्य औपचारिकता मात्रै भयो । मूल्य बढाउँदा कसैलाई सोध्न नपर्ने, धेरै बढाउने । तर, घटाउँदा न्यून मात्रै घटाउने । यो जायज होइन,’ उपसमिति संयोजक सुभासचन्द्र ठकुरीले भने, ‘स्वाचालित मूल्य पूर्ण रूपमा कार्यान्वयन भएको छैन । यस विषयमा आपूर्ति मन्त्रालयल, निगम र सरोकारवाला निकायसँग छिट्टै छलफल गर्छौं । निकास छिट्टै आउँछ ।’

निगमका बिक्री वितरण विभाग प्रमुख एवं प्रवक्ता सीताराम पोखरेलले भने स्वचालित मूल्य कार्यविधिअनुसार नै मूल्य समायोजना भएको दाबी गरे । ‘आईओसीले पठाएको मूल्यअनुसार नै मूल्य समायोजन गरेका छौं । आयातको अनुपातमा मूल्य घटेको छ,’ उनले भने । सीमा नाकाको बहाना बनाउँदै मूल्य घटाउन आनाकानी गर्दै आएको निगमका केही अधिकारीहरू बताउँछन् । भारत सरकारले उपभोक्ताबाट करिब ६ प्रकारको कर लगाउने हुँदा इन्धनको मूल्य महँगो पर्छ । तर, आईओसीबाट इन्धन आयात हुँदा नेपालका लागि छुट दिइएको छ । जसले गर्दा भारतको भन्दा यहाँ केही सस्तो पर्छ ।

निगमको तथ्यांकअनुसार सबै प्रकारको इन्धनमा नाफा छ । प्रतिलिटर पेट्रोलमा ५ रुपैयाँ ६९ र डिजेलमा १ रुपैयाँ ४७ पैसा, मटितेलमा १७ रुपैयाँ ४७ पैसा नाफा छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फ ११ रुपैयाँ २२ पैसा, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ १८ रुपैयाँ ८४ पैसा र खाना पकाउने ग्यासमा ४४ रुपैयाँ ३८ रुपैयाँ नाफा छ ।


निगमको पाक्षिक नाफा
पेट्रोल : १० करोड २९ लाख
डिजेल : ९ करोड ९७ लाख
मटितेल : १ करोड ६७ लाख
हवाई इन्धन (आन्तरिक) : २ करोड ८६ लाख
हवाई इन्धन (अन्तर्राष्ट्रिय) : ११ करोड १३ लाख
खाना पकाउने एलपी ग्यास : ४ करोड ५१ लाख
कुल नाफा : ४० करोड ४१ लाख
स्रोत : आयल निगम

प्रकाशित : असार ६, २०७४ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?