कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ढुवानी नहुँदा चामल थन्कियो

पर्सा — वीरगन्जस्थित नेपाल खाद्य संस्थानको गोदाममा गत वर्षदेखि जिरा मसिनो चामल ठेकेदारको लापबाहीका कारण थन्किएको छ । राजधानीमा पुर्‍याउनुपर्ने चामल ठेक्का लिएको पृथ्वीतारा ढुवानी सेवाले भाडा बढेको भन्दै ढुवानी नगरेकाले थन्किएको हो ।


खाद्य संस्थाका अनुसार वीरगन्ज गोदाममा २ हजार क्विन्टल चामल एक वर्षअघिदेखि रहेको छ । संस्थान वीरगन्ज शाखा प्रमुख पवित्र गौतमका अनुसार ढुवानी ठेक्का लिएको राजधानीस्थित पृथ्वीतारा ढुवानी सेवाले भाडा बढेकाले घाटा लाग्ने भन्दै ढुवानी गर्न नमानेको हो । ‘हामीले ठेकेदारलाई पटकपटक पत्राचार गर्‍यौं,’ उनले भने, ‘ढुवानी भाडा बढेकाले घाटा लाग्ने भन्दै चामल लैजान मानेको छैन ।’ संस्थान केन्द्रीय कार्यालयको टेन्डर सकारेको ठेकेदारले गत वर्ष प्रतिक्विन्टल २ सय ५९ रुपैयाँमा ढुवानी गरेको थियो । ‘ठेक्का सकार गर्दा ठेकेदारले त्यति नै दररेटमा ढुवानी गर्न मानेको थियो,’ गौतम भने, ‘हाल नाफा छैन भनी पन्छिन खोज्नु राम्रो होइन ।’ उनले ठेकेदारको धरौटी जफत हुने बताए ।
विगतमा वीरगन्जबाट राजधानी पठाइएको जिरा मसिनो चामल त्यहाँका उपभोक्ताले अत्यधिक मन पराएको गौतम बताउँछन् । उनले राजधानी पुग्ने बित्तिकै बिक्री हुने बताए । चामल बिक्रिने अवस्था नभए पनि गोदाममा थन्किँदा समस्या हुने कर्मचारी बताउँछन् । उनीहरू नयाँ चामल भण्डारण गर्न ठाउँको अभाव हुने बताउँछन् ।

प्रकाशित : असार ६, २०७४ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?