१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

बिनाटेन्डर सस्तोबजार क्षेत्र भाडामा दिन दबाब

लालप्रसाद शर्मा

पोखरा — नयाँबजारस्थित सस्तोबजारका व्यवसायीले उक्त बजार बिनाटेन्डर आफूहरूलाई व्यवसाय गर्न दिनु पर्ने दबाब दिएका छन् । पटक–पटक ताकेता गरे पनि व्यवसायी नहटेको भन्दै उक्त बजारको मूलगेटमा नेपाल वायुसेवा निगमले गत डेढ साताअघि ताला लगाएको थियो ।

उक्त तालाबन्दीपछि व्यवसायी गेटमै धर्ना दिएर बसेका छन् । कानुनी प्रक्रिया पुर्‍याएर जग्गा भाडामा दिएपनि बस्दै आएका व्यवसायीले नछाडेपछि निगमले आफ्नो स्वामित्वको उक्त जग्गाको बजारमा ताला लगाएको हो । मूल गेटमा ताला लगाएपछि व्यवसायी भित्र पस्न पाएका छैनन् । निगम केन्द्रबाट आएको सुरक्षा इन्चार्ज उद्धव भारती नेतृत्वको टोलीले ताला लगाएको थियो ।

प्रक्रिया अनुसार टेन्डर गरी २६ सय ३२ वर्गमिटर क्षेत्रफलको जग्गा भाडामा दिइएकोमा २०७२ चैतमा म्याद सकिने भएपछि निगमले २०७२ माघ १७ मा नयाँ बोलपत्र आहान गरेको थियो । त्यसमा ३१ फर्मले टेन्डर हालेकोमा चार सस्तो बजारभित्रकै व्यवसायीको थियो । टेन्डरमा २४ लाख रुपैयाँदेखि न्युनतम ४ लाख मासिक भाडा तोकिएको थियो । ७ वटा फर्मले छाडेपछि आठौं नम्बरको सूर्यदील ग्रुप इन्भेस्टमेन्टले हालेको टेन्डर अनुसार मासिक ११ लाख रुपैयाँ बुझाउने गरी ग्रुप र निगमबीच २०७३ कात्तिक पहिलो दिन सम्झौता भएको थियो ।

सूर्यदिलका तर्फबाट राजेन्द्रबहादुर गोर्खाली र निगमको पोखरा कार्यालयका प्रमुख विजय बस्नेतले पाँच वर्षका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सुर्यदीलले फेवा एग्रिकल्चर प्रालिका सञ्चालक युवराज खतिवडालाई सस्तो बजार सञ्चालनको लागि टेन्डर प्रक्रियादेखि नै अख्तियारी दिएको थियो ।

अख्तियारी अनुसार खतिवडाले उक्त जग्गा खाली गरिदिन भन्दा झडप भएको थियो । केही समय अघिमात्रै पनि उनीमाथि मरणासन्न हुनेगरी कुटपिट गरिएको थियो । निगमले म्याद सकिएयताको भाडा पाएको छैन । खतिवडाले भाडास्वरुप ६६ लाख रुपैयाँ निगमलाई बुझाइसकेका छन् । निगमको जग्गामा २ सय १७ सर्टर रहेका र एकापसमा किनबेच पनि हुन्छ । उक्त जग्गामा झन्डै ५ वर्षअघि केही फुटपाथ व्यापारीलाई लगेर राखिएको थियो ।

व्यवसायीले भने निगमलाई सीधै मासिक भाडा बुझाउने तर ‘बिचौलिया’ मार्फत नदिने बताएका छन् । ‘हामी साना व्यवसायी हौं, सडकबाट यहाँ ल्याइएको हो,’ सस्तो बजार संचालक समितिका अध्यक्ष केशव भुजेलले भने, ‘टेन्डर प्रक्रियामा नगई सीधै निगमलाई भाडा बुझाउने व्यवस्था हुनुपर्छ ।’ उनले आफुहरूलाई जबर्जस्ती हटाउन खोजिए आन्दोलनमा उत्रिने बताए ।

निगम प्रवक्ता रवीन्द्र श्रेष्ठले पटकपटक सूचना दिएर खाली गराउन भने पनि नगरेपछि बाध्य भएर ताला लगाउनु परेको बताए । ‘टेन्डर प्रक्रियामा गएर सम्झौतासमेत भइसकेकाले हामीले उसैलाई जग्गा दिनुपर्छ,’ उनले भने, ‘तर व्यवसायीले नछाडेकाले प्रहरी प्रशासनको सहयोगमा ताला लगाइएको हो ।’

प्रकाशित : असार २९, २०७४ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?