कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किसानले सिके प्लास्टिक पोखरी र थोपा सिँचाइ विधि

‘दुई छाक खान नपाएर बसाइँ सर्ने अवस्थामा थियो । वर्षातको पानी संकलन गरेर थोपा सिँचाइमा लगाएपछि गाउँमै सुन फलाउन सकेका छौं’
प्रकाश बराल

तनहुँ — वर्षायामको पानी प्लास्टिक पोखरीमा जम्मा पारी थोपा सिँचाइबाट बोडीलाई स्याहार गर्न थालेका रानीपोखरी–९ का जगन्नाथ गैरेले राम्रै फाइदा लिन थालेका छन् ।


सुक्खा टारको रूपमा चिनिएको रिसिङपाटनमा गैरेजस्ता ३५ जना किसानले थोपा सिँचाइ विधिको सहयोगमा तरकारी फलाएका छन् । यसबाट उनीहरूको आर्थिकस्तर सुध्रन मद्दत पुगेको छ । लुम्ले कृषि अनुसन्धान केन्द्रले परीक्षण गरेर सिफारिस गरेको ‘मालेपाटन’ जातको बोडी यहाँ राम्रो उत्पादन हुन्छ ।

व्यावसायिक रूपमा लगाएको बोडी बेचेर किसानले हरेक घरमा एक सिजनमा २ देखि १० लाखसम्म आम्दानी भित्र्याउन सफल भएको बताएका छन् । ‘दुई छाक खान नपाएर बसाइँ सर्ने अवस्थामा थियौं,’ गैरेले भने, ‘वर्षातको पानी संकलन गरेर थोपा सिँचाइमा लगाएपछि गाउँमै सुन फलाउन सकेका छौं ।’ जिल्ला कृषि विकास कार्यालयको अभियानलाई सिँचाइ डिभिजन कार्यालयले पनि सहयोग गरेको उनले बताए ।

जिल्ला कृषिको तथ्यांकअनुसार एकै सिजनमा ५० लाख रुपैयाँ हाराहारीको बोडी फलेको छ । किसानले भीमाद, शुक्लागण्डकी र नारायणगढ बजारसम्म पनि तरकारी बिक्री गरेको वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले बताए । ‘सुक्खा टारको रूपमा रहेको ३० हेक्टरमा तरकारी फलाउन सकिएको छ,’ उनले भने, ‘पानी संकलन, त्यसको प्रयोग र प्रविधि सिकाएपछि किसान हौसिएका छन् ।’ साना सिँचाइको अभियानलाई सिँचाइ डिभिजन कार्यालयले पनि साथ दिएको उनले बताए । बजारमा रिसिङको बोडीले प्रतिकेजी ५० देखि सय रुपैयाँसम्म मूल्य पाएको छ । डिभिजनले सोलार प्यान जडान गरेर पानी संकलन ट्यांकीमा जम्मा गर्ने व्यवस्था मिलाइदिएको हो । राम्रो उत्पादन र मूल्य पाएपछि किसानले धान र मकैसमेत नलगाई बोडी लगाउन थालेका हुन् ।

भानु ४ खातीथोकमा पनि सिँचाइ सुविधा अभावमा किसानले पेसाबाट पलायन हुनै लाग्दा प्लास्टिक पोखरी निर्माण गरेर व्यावसायिक उत्पादन सुरु भएको छ । सिँचाइ सुविधा पाएपछि प्लास्टिक टनेलमा गोलभेंडा फलाएर किसानले लाखौं कमाउन पाएको ४५ वर्षीय सानुमाया थापाले बताइन् । सिँचाइको व्यवस्था भएपछि विदेश हिँडेका श्रीमान्लाई फर्काएर गोलभेंडा र अन्य तरकारी उत्पादनमा लगाएर वार्षिक ५ लाख कमाउन सकेका छन् । सिँचाइ डिभिजन कार्यालय सोलार प्यानल जडान गरेर खोल्साको पानी सिँचाइका लागि ल्याउने व्यवस्थाका लागि पनि सहयोग गरेको छ ।

नेपाली सेनाको जागिरबाट सेवानिवृत्त जितबहादुर थापाले सेक्युरिटी गार्डका लागि खाडी राष्ट्र जाने योजना त्यागेर प्लास्टिक टनेलमा गोलभेंडा लगाएको बताए ।

प्रकाशित : श्रावण १, २०७४ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?