काठमाडौं — वित्तीय सुधारको मर्म विपरीत व्यवस्थापनले कर्मचारी विनियमावली परिमार्जन गरेर ३० वर्षे सेवा अवधि हटाउन लागेपछि नेपाल राष्ट्र बैंकभित्रै कर्मचारीहरूबीच किचलो बढेको छ ।
३० वर्ष काम गरिसकेको उच्च पदस्थ कर्मचारी अवकाश नीतिलाई परिमार्जन गरी पदावधि लम्ब्याउने ध्याउन्नमा रहेका बेला नयाँ कर्मचारीहरू ३० वर्ष हटाउन नहुने भन्दै विरोधमा उत्रिएपछि किचलो बढेको हो । यसबाट राष्ट्र बैंकको दैनिक कामकाज पनि प्रभावित भएको छ । ‘सबै कर्मचारीहरू आ–आफ्नो स्वार्थअनुसार लागिरहेका छन्,’ एक निर्देशकले भने, ‘कार्यालयमा काम गर्ने वातावरण नै छैन ।’
गभर्नर चिरञ्जीवी नेपाल, डेपुटी गभर्नरद्वय चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठलगायत अधिकांश सञ्चालक जसरी भए पनि ३० वर्षे सेवा अवधि हटाउने भन्दै हिँडेपछि बहुसंख्यक कर्मचारीहरू असन्तुष्ट बनेका हुन् । राष्ट्र बैंकका सक्रिय कर्मचारी युनियनहरूले ज्ञापनपत्रमार्फत व्यवस्थापनको विरोध गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । तर, व्यवस्थापन भने ३० वर्षे सेवा अवधि हटाउने गृहकार्यमा छ ।
युनियनहरूले चर्को विरोध गरेपछि गभर्नर नेपालले सोमबार प्रभाव अध्ययन गर्न एक समिति गठन गरेका छन् । सोमबार सुरुमा डेपुटी गभर्नर सिवाकोटीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय सुनाउँदै गभर्नर नेपालले वार्तामा आउन युनियनहरूलाई आह्वान गरेका थिए । उक्त समिति गठन प्रक्रिया तथा जिम्मेवारीको विषयमा स्पष्ट पार्नुपर्ने भन्दै युनियनहरूले अमान्य हुने जनाएका थिए । त्यसपछि पुन: सिवाकोटीकै संयोजकत्वमा युनियनका अधिकारीहरू सम्मिलित ‘वृत्ति विकासका उपाय पहिचान र सिफारिस समिति’ गठन गरिएको छ । समितिको सदस्यमा अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठ, तीन कर्मचारी युनियनहरूबाट एक–एकजना प्रतिनिधि छन् । सदस्य सचिवमा नियमन विभाग प्रमुख एवं प्रवक्ता नारायणप्रसाद पौडेल रहेका छन् ।
समितिलाई अवकाशसम्बन्धी ३० वर्षे सेवा अवधि हटाउँदा कर्मचारीहरूको बढुवालगायत वृत्ति विकासमा पर्ने असरको पहिचान गर्नुपर्ने कार्यादेश दिइएको छ । त्यसबाट पर्ने असर न्यूनीकरण गरी बढुवासम्बन्धी प्रवाहलाई कसरी साविककै सरह सुचारु तुल्याउन सकिन्छ भन्ने सम्बन्धमा उपाय पहिचान गर्ने जिम्मेवारी दिइएको प्रवक्ता तथा समितिका सदस्य सचिव पौडेलले बताए । ‘समितिले दुई साताभित्र अध्ययन प्रतिवेदन बुझाउनेछ,’ उनले भने, ‘त्यसपछि ३० वर्षे हटाउने वा नहटाउने निर्णय बोर्डले गर्नेछ ।’
राष्ट्र बैंकको प्रचलनअनुसार यस्ता समितिहरू सञ्चालक समितिको बैठकबाट गठन गरिन्छन् । तर, यो समिति भने गभर्नरले स्वविवेकले गठन गरेका हुन् । वित्तीय समावेशीकरणसम्बन्धी एक कार्यक्रममा सहभागी हुन गभर्नर नेपाल सोमबार नै इजिप्ट जानुपर्ने भएकाले हतारहतार नयाँ समिति गठन गरी कर्मचारीहरूको विरोधलाई थम्थमाउन खोजेको स्रोतले बताएको छ । इजिप्टको केन्द्रीय बैंक र एलायन्स फर फाइनान्सियल इन्किुलुजनको संयुक्त आयोजनामा यही भदौ २८ देखि ३० गते हुने पोलिसी फोरममा सहभागी हुन गभर्नर नेपाल इजिप्ट गएका हुन् । गभर्नर नेपाल असोज १ गते नेपाल फर्कनेछन् ।
३० वर्षे सेवा अवधि सम्बन्धमा राष्ट्र बैंकले करिब एक दर्जन समिति गठन गरी अध्ययन गरिसकेको छ । यही कामका लागि मात्र २५ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । तीमध्ये अधिकांश प्रतिवेदन सार्वजनिक भएका छैनन् । प्रतिवेदन आफू अनुकूल नभएपछि सार्वजनिक नै नभएका हुन् । राष्ट्र बैंकले दीर्घकालीन संस्थागत हित हुने गरी कर्मचारी विनियमावली परिमार्जन गर्नुपर्ने पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको सुझाव छ । ‘व्यवस्थापनले व्यक्ति नहेरी संस्थागत हित हेर्नुपर्छ,’ उनले भने । ३० वर्षे सेवा अवधि यथावत् राख्दा केही समयका लागि केही असजिलो देखिए पनि दीर्घकालमा राष्ट्र बैंक हितमा हुने उनको भनाइ छ । दीर्घकालमा संस्थागत हितका लागि उक्त प्रावधान हटाइएको हो भन्ने कुरा राष्ट्र बैंकले पुष्टि गर्नुपर्ने उनको सुझाव छ । क्षेत्रीले भने, ‘यो विषयमा राष्ट्र बैंकमा संस्थागतभन्दा पनि व्यक्तिगत हितलाई हेरिएको देखिन्छ, जुन संस्थाका लागि हानिकारक छ ।’
विगतमा वित्तीय क्षेत्र सुधार कार्यक्रमले राष्ट्र बैंकमा ३० वर्ष सेवा अवधि लागू गरी अनुत्पादक कर्मचारीलाई संस्थाबाट बिदाइ गर्ने गरी विद्यमान अवकाश नीति ल्याएको थियो । वित्तीय क्षेत्र सुधार कार्यक्रमको प्रमुख उद्देश्य नै कर्मचारी व्यवस्थापन र राष्ट्र बैंकको कर्मचारी संख्या ३ अंकमा झार्ने थियो । तत्कालीन समयमा वित्तीय सुधारका लागि राष्ट्रको करिब ७ अर्ब रुपैयाँ खर्च भएको थियो । हाल राष्ट्र बैंक व्यवस्थापनले वित्तीय क्षेत्र सुधार कार्यक्रमको सम्पूर्ण उद्देश्य पूरा भएको भन्दै ३० वर्षे सेवा अवधि हटाएर ५८ वर्ष बनाउन लागिपरेको छ ।
दुई वर्षअघि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा गरिएको सर्वेक्षणले राष्ट्र बैंकमा विभिन्न तहमा गरी करिब २ सयभन्दा बढी कर्मचारी बढी रहेको देखाएको छ । अवकाश नीति सम्बन्धमा उक्त प्रतिवेदनले यसअघि दिइएका सुझावहरू स्वैच्छिक अवकाश नीति ल्याउने, सहायक गभर्नरको व्यवस्था हुनुपर्ने, अधिकृत द्वितीय र प्रथमसमेत खुला प्रतिस्पर्धाबाट ल्याउनुपर्ने, तीनजना डेपुटी गभर्नरको व्यवस्था गर्नुपर्ने आदि । व्यवस्था कार्यान्वयन गरेपछि मात्र विद्यमान ३० वर्षे सेवा अवधि परिमार्जन गर्ने सुझाव दिएको थियो । उता व्यवस्थापन भने एकैपटक ठूलो संख्यामा कर्मचारी बाहिरिन लागेकाले कर्मचारी अभाव हुने भन्दै ३० वर्षे हटाउनुपरेको बताउँदै आएको छ । धेरै कर्मचारीलाई एकैपटक अवकाश दिँदा संस्थालाई पेन्सनलगायतको ठूलो आर्थिक भार पर्ने व्यवस्थापनको भनाइ छ ।
प्रकाशित : भाद्र २८, २०७४ ०८:२१