कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिँचाइ अभावमा धानबाली सुक्यो, सय हेक्टरको खेती प्रभावित

वीरेन्द्र केसी

अर्घाखाँची — सिँचाइ कुलो खोलाले बगाएपछि सय हेक्टरको धान खेती सुक्दै गएको छ । वर्षाको बाढीले कुलोको बाँध भत्काएपछि खेतमा सिँचाइ ठप्प छ । धानका बाला लागेका छन् । तर, पानी नभएपछि बोटै सुक्न थालेको छ । धान भित्र्याउन नपाउने भएपछि शीतगंगा नगरपालिका १४, विक्रमसोताका दुई सय हाराहारी कृषक चिन्तित छन् ।

 सिँचाइ अभावमा धानबाली सुक्यो, सय हेक्टरको खेती प्रभावित


फाँटमा सिँचाइका लागि वाणगंगा नदीबाट कुलो लगिएको थियो । बाढीले ५ सय मिटर कुलो बगाएको छ । ‘अहिलेसम्म कुलो बगाएको थिएन,’ कृषक दीपक कार्कीले भने, ‘ठूलो बाढी आयो । बाँधदेखि ५सय मिटरसम्मको कुलो बगाएर लग्यो । खेतका सिँचाइ ठप्प छ । धानका बोट पहेंला भएका छन । बाल चाउरी परिसके ।’ खेतभन्दा नदी धेरै गहिराइमा छ । यहाँका बासिन्दाको खेत मात्रै छ । ‘सधंै माना रोपेर मुरी भित्र्याउँथें तर अहिले बीउसमेत नफर्किन भो,’ उनले भने, ‘धानको बोटको जरामा र डाक्लोमा किरा लागेको छ । पानी नभएर खेत फुटेर चिरा परेको छ ।’
विक्रमसोताका भीमबहादुर रानाले १ बिघा खेतमा ४५ मुरी धान उत्पादन गर्थे । तर, यसपालि एक मुरी पनि उब्जनी हुने आशामा उनी छैनन् । ‘एउटै कुलोले एक हेक्टर खेतलाई सिँचाइ पुगेको थियो,’ उनले भने, ‘बाढीले लगाएपछि अन्यत्रबाट सिँचाइका लागि पानी ल्याउने वैकल्पिक उपाय नै छैन । वर्षे धान, त्यसपछि गहुँ र मकै उत्पादन हुन्छ ।’ उब्जनी राम्रो हुने भएकाले विक्रमसोताका कृषक खेतकै भर छ । कुलो भत्केपछि हिउँदमा गहुँ र मकै खेती पनि गर्न मुस्किल रहेको उनले बताए । तरकारी पनि उस्तै खेती हुन्छ । जिल्लाकै दुर्गम क्षेत्रमा पर्ने विक्रमसोता बस्ती चारैतिरबाट जंगलले घेरेको छ । वाणगंगा नदीको किनारा माथि बस्ती बसोबास छ । खेतमा मात्रै खेती हुन्छ । जंगल भएकाले बारी छैनन् । खोलाको बाँधदेखि खेतसम्म सिमेन्ट कुलो थियो ।
यहाँ जिल्ला र बाहिरबाट बसाइँसराइ गरेर आएका धेरै छन् । स्थानीय नारायण परियारको सात कठ्ठा खेतबाट चार जनाको परिवारलाई खान पुग्थ्यो । वर्षमा तीन खेती उब्जनी हुने भएकाले उनलाई खेतकै भर छ । तर, खेतमा सिँचाइ ठप्प भएपछि उनी चिन्तित छन् । खेत सबै सुक्खा छ । हिउँदमा पनि बाँझै रहन्छ, धानका बोट मर्न थालेपछि परिवार कसरी पाल्ने चिन्ता भयो, उनले भने । आकाशबाट पानी पर्न छाडेपछि बोट मर्न थालेको उनले बताए । ‘सिँचाइ कुलो नभएपछि बस्ती नै विस्थापित हुने सम्भावना छ,’ कृषक ज्ञानबहादुर राष्कोटीले भने, ‘बस्ती नै सुक्खा छ । उब्जनी नभएपछि परिवार कसरी पाल्ने ।’ साउनमा ठूलो बाढीले कुलो भत्कायो । बर्सेनि साविकको जिविसले ढुंगा निकाल्ने टेन्डर खुलाउँछ । ठेकेदारले कुलोको आडमा रहेका ढुंगा निकालिदिएपछि बाढीले सजिलै बगाएको उनले दाबी गरे । खोलाको बीचमा ढुंगा सकिएपछि ठेकेदारले कुलोको बाँधमा बिच्छाइएका ढुंगा निकालेको उनले बताए ।

प्रकाशित : आश्विन २४, २०७४ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?