कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अझै पुगेन बैंक सेवा

कान्तिपुर संवाददाता

रुकुम — जिल्लाको ६ स्थानीय तहमा बैंक नहुँदा कारोबारमा समस्या भइरहेको छ । बैंकिङ कारोबारका लागि स्थानीय तहका कर्मचारीले ३ दिनसम्म खर्चनुपर्ने बाध्यता रहेको छ ।

रुकुम पश्चिमका आठबिसकोट नगरपालिका, बाँफिकोट, सानीभेरी र त्रिवेणी गाउँपालिकामा बैंक छैनन् । त्यसैगरी रुकुम पूर्वका पुथाउत्तरगंगा र भूमे गाउँपालिकामा पनि बंैंक सञ्चालनमा आएका छैनन् । मुसीकोट र चौरजहारी नगरपालिका तथा सिस्ने गाउँपालिकामा मात्रै बैंक छ ।
बैंक नहुँदा स्थानीय नगर तथा गाउँपालिका, व्यापारी तथा सर्वसाधारणलाई समस्या भइरहेको छ । बैंकको कामका लागि स्थानीय तहका कर्मचारीले ३ दिन समय खर्चनुपर्ने बाध्यता रहेको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका तथा रुकुम पूर्वको भूमे र पुथाउत्तरगंगा गाउँपालिकाबाट बैंक भएको ठाउँमा पुग्न १ दिन, काम गर्न अर्को दिन र कार्यालय फर्किन थप अर्को दिन गरी ३ दिनमा बैंकको काम गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । यी सबै स्थानीय तहको बैंकिङ कारोबार रुकुम पश्चिमको सदरमुकाम खलंगामा रहेको नेपाल बैंकमा हुने गरेको छ । बाँफिकोट, सानीभेरी र त्रिवेणी गाउँपालिकाले एक दिनमा बैंकको काम गर्न सक्छन् तर त्यसका लागि उनीहरू रुकुम पश्चिमको सदरमुकाम खलंगा पुग्नैपर्ने बाध्यता छ ।
बैंक नहुँदा कामकाजमा समस्या भइरहेको आठबिसकोटका कार्यकारी अधिकृत रामबहादुर केसीले बताए । अन्य सबै कामकाज नगरपालिकामै भए पनि बैंकिङ कारोवारका लागि समस्या भइरहेको उनको भनाइ छ । बैंक टाढा हुँदा एकै दिनमा गर्नुपर्ने कामहरू धेरै दिन खर्चनुपर्दा त्यसबाट नगरपालिकाले घाटा बेहोर्नुपरिरहेको कार्यकारी अधिकृत केसीले बताए । ‘स्थानीय बनेको तथा जनप्रतिनिधि निर्वाचित भएको पनि लामो समय भइसक्यो,’ केसीले भने, ‘हालसम्म पनि बैंक स्थापना हुन सकेको छैन यसबाट नगरपालिका, व्यवसायी र सर्वसाधारणले समेत दु:ख पाइरहेका छन् ।’ बैंकमार्फत वितरण गर्नुपर्ने सामाजिक सुरक्षा र जनप्रतिनिधिको भत्ता वितरण, योजना तथा आयोजनाको भुक्तानी क्रियालगायतका काममा झन्झटिलो भइरहेको छ ।
स्थानीय तहमा आउने भनिएका बैंकहरू पनि लामो समयदेखि आएका छैनन् । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा सेन्च्युरी कमर्सियल, सानीभेरी गाउँपालिकामा सनराइज, त्रिवेणी गाउँपालिकामा सिभिल र बाँफिकोट गाउँपालिकामा नेपाल इन्भेस्टमेन्ट वा एभरेस्टमध्ये एउटा बैंक आउने भए पनि हालसम्म त्यसको कुनै प्रक्रिया सुरु भएको छैन ।

प्रकाशित : आश्विन २६, २०७४ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?