कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुलेखानीको म्याद सातौंपटक थपियो

-१३ प्रतिशत काम बाँकी
-लागत २ अर्ब र समय दोब्बर बढ्यो
प्रताप विष्ट

हेटौंडा — मकवानपुरको भैंसेस्थित सानुटारमा निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण कम्पनीको म्याद सातौंपटक ६ महिनाका लागि थप गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको आइतबार बसेको बैठकले सिभिल वर्कको ठेक्का लिएको सिनो हाइड्रो कम्पनीलाई निर्माण कार्य सम्पन्न गर्न म्याद थप गरेको हो ।

‘साउन महिनासम्म आयोजनाको निर्माण कार्य सम्पन्न गर्न म्याद थप गरिएको थियो,’ कुलेखानी–३ का आयोजना प्रमुख शुभाषकुमार मिश्रले भने, ‘छैठांंैपटक म्याद थप गरेको समयमा पनि आयोजनाको काम सम्पन्न नभएकाले आगामी जनवरी १८ तारिखसम्म काम सम्पन्न गरेर विद्युत् उत्पादन गर्न सातौंपटक म्याद थपिएको हो ।’ विद्युत् प्राधिकरणले यो अन्तिम म्याद हो भनेर निर्माण कम्पनीलाई चेतावनीसमेत दिएको छ । 

विद्युतगृहको निर्माणको ठेक्का लिएको जेजियाङ जिल्लुन चिनियाँ कम्पनीको ढिलासुस्तीका कारण आयोजनाको निर्माण कार्य समयमा नै सम्पन्न नभएको हो । अब ६ महिनाभित्रमा विद्युत् उत्पादन गर्ने योजनाको साथ सिभिल वर्कको काम पाएको चिनियाँ कम्पनी सिनो हाइड्रोको ६ महिना म्याद थप गरिएको आयोजनाले जनाएको छ । ‘सिभिल वर्कको ठेक्का लिएको सिनो हाइड्रोकोमात्र म्याद थप गरिएको छ,’ आयोजना प्रमुख मिश्रले भने, ‘इलेक्ट्रोमेकानिकलको ठेक्का लिएको कम्पनीलाई हर्जाना तिराएकाले कानुनी रूपमा म्याद थप्न मिल्दैन ।’ 

उक्त निर्माण कम्पनीले निर्माण कार्य ढिला गरेकाले आयोजनाले हर्जाना रकम तिराएकाले म्याद थप्न नपर्ने र सकेसम्म छिटो काम गराउनेमात्र हो आयोजनाका एक इन्जिनियरले भने । इलेक्ट्रोमेकानिकलको ठेक्का चीनको जेजियाङ कम्पनीले लिएको छ । 

 चीनबाट आयात गर्नुपर्ने अधिकांश सामानहरू आइसकेका छन् । इलेक्ट्रोमेकानिकलको ठेक्का लिएको जिजयाङ कम्पनीले प्राविधिकहरू राखेर तीव्र गतिमा काम गरिरहेको छ । उक्त कम्पनीले विद्युतगृहमा स्वीचयार्डको निर्माण गरिरहेको छ भने जेनेटर र टाइन जडान कार्य पनि भइरहेको छ । विद्युत् प्रसारण लाइनका तीनवटा टावर निर्माण गर्नुपर्नेमा २ वटा टावरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अर्को टावरको जग खन्ने काम सुरु गरिससकेको छ, कम्पनीका एक इन्जिनियरले भने, ‘काम तीव्र गतिमा भइरहेको छ, जनवरीको १८ तारेखसम्ममा विद्युत् उत्पादन हुन्छ ।’ ५/६ स्थानमा निर्माण गर्नुपर्ने ढोकाको काम पनि भइरहेको छ । सिभिल वर्कको ठेक्का पाएको सिनो हाइड्रोले विद्युत् गृहभित्रको पहँुचमार्ग र टेलेरेसको निर्माण कार्य अन्तिम चरणमा पुर्‍याएको छ ।

कुलेखानी–३ का आयोजना प्रमखु मिश्रका अनुसार इलेक्ट्रिमेकानिकलको काम ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ भने सिभिल वर्कको काम साढे ९८ प्रतिशत सम्पन्न भइसकेको छ । इलेक्ट्रोमेकानिकलको कामको ढिलासुस्तीका कारण सिभिल वर्कको काममा पनि ढिलाइ हुन गएको हो भन्दै विद्युत् प्राधिकरणसँग सिनो हाइड्रो कम्पनीले थप रकम माग गरेको छ । कम्पनीका कारणले ढिलासुस्ती नभएकाले प्राधिकरणसँग क्षतिपूर्तिस्वरूप रकम उपलब्ध गराउनुपर्ने माग गर्दै आएको छ ।

स्वदेशी लगानीमा निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण कार्य आयोजनाको करिब ८७ प्रतिशत काम सकिएको छ । निर्माण कार्य ढिला भएकाले आयोजनाको लगानी पनि बढ्दै गएको छ । करिब ५ अर्बभन्दा बढी रकम खर्च हुने अनुमान गरिएको छ । २०६४ चैतदेखि काम सुरु गरिएको उक्त आयोजना २०६८ सालमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो ।

पटकपटकको म्याद थपसँगै लागत पनि झन्डै २ अर्ब बढने अनुमान गरिएको छ । कुलेखानी ३ को सुरु निर्माण लागत २ अर्ब ४३ करोड अर्थात् प्रतिमेगावाट १७ करोड ३६ लाख रुपैयाँ थियो । अहिले यसको लागत बढेर ४ अर्ब ६३ करोड अर्थात् प्रतिमेगावाट ३१ करोड रुपैयाँ पुगेको छ । अझ यो लागत बढ्ने छ । ४४ महिनामा काम सम्पन्न गर्ने लक्ष्य लिएर सुरु गरिएको आयोजना ९० महिना बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । कुलेखानी तेस्रो १४ मेगावाट जलाशय बनाउन नपर्ने ‘क्यास्केड प्रोजेक्ट’ हो । तोकिएको समयमा निर्माण कार्य सम्पन्न नभएकाले आयोजनाको लागत बढेको हो । वार्षिक सरदर ४० दशमलव ६५ गिगावाट आवर विद्युुत् उत्पादन गर्ने क्षमता छ । 

प्रकाशित : आश्विन २७, २०७४ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?