कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ड्रपआउट दाजुभाइ बने अर्बपति

दिनेश यादव

खेल्ने, पढ्ने र रमाइलो गर्ने उमेरमै आयरल्यान्डका दुई दाजुभाइ जोन र प्याट्रिक कोलिसन मनग्ये धनाअर्जन गर्न सफल भए । त्यो पनि आफ्नै सोच, प्रयास र पौरखबाट । त्यसैले ‘गरे के हुँदैन ?’ भन्ने सन्देश मात्रै यी दाजुभाइले सम्प्रेषण गरेका छैनन्, ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भन्ने नेपाली उखानलाई समेत चरितार्थ गरिदिएका छन् ।

ड्रपआउट दाजुभाइ बने अर्बपति

आयरल्यान्डस्थित एउटा सानो तालको छेउमा आमाबुबाले खोलेको होटल नजिकै यी दुईजना सँगसँगै लुडिबुडी गर्दै हुर्केका थिए । धेरैपटक दाजुभाइ एकअर्कालाई जित्ने होडबाजी गर्थे । त्यसैक्रममा तिनका कलिला हातहरूले अनेकौं शिल्पहरूको अविष्कार गरिसकेका थिए । स्थानीय सामग्रीबाट दुवैले विभिन्न खेलौनाहरू बनाउँथे । यसैक्रममा दुई बीच प्रतियोगिता नै चल्थ्यो । तर, सौहार्दता र सकारात्मकताका साथ हरेक परिस्थितिमा तिनीहरूले एकअर्कालाई स्वीकार गर्थे, अघि ब्थे । त्यही गुणकै कारणले त हो नि, विश्वका कान्छा अर्बपति बन्न सफल भएका छन् ।

जोन कोलिसन आफूलाई एकजना आइरिस उद्यमीका रूपमा स्थापित गरिसकेका छन् । तर, दाजु प्याट्रिकसँग मिलेर खोलेको ‘स्ट्रिप’ कम्पनीका सह–संस्थापक र अध्यक्षको परिचयसमेत उनीसँग थपिएको छ । यही परिचयबाट उनी विश्वमा चिनिने गरेका छन् । हाल यी दाजुभाइ प्रत्येकको सम्पत्ति हाल १ दशमलव १ अर्ब अमेरिकी डलर रहेको छ । सनफ्रान्सिस्कोमा प्रधान कार्यालय रहेको ‘स्ट्रिप’ ले गुगल प्यारेन्ट्स कम्पनी ‘अल्फाबेट’ को अंग रहेका ‘क्यापिटल जी’ बाट १ सय ५० मिलियन उठाएपछि तिनीहरूको भाग्योदय भएको बताइन्छ ।

सन् १९९० मा जन्मेका जोन सन् २००७ मा प्याट्रिकसँग मिलेर आयरल्यान्डस्थित लिमरिकमा हार्डवेयर कम्पनी ‘सुप्पा’ को स्थापना गरेका थिए । पछि उक्त कम्पनी वाई कम्बिनेटरले खोलेको ‘औक्टोमिक’ मा विलय भएको थियो । त्यसपछि कोलिसन दाजुभाइ सिलिकन भ्यालीतिर लम्किएका थिए । ‘औक्टोमिक’ एउटा सफ्टवेयर कम्पनी थियो, जसले इबे प्लेटफर्मका लागि सामग्रीहरू निर्माण गर्दथ्र्यो ।

उक्त कम्पनीलाई श्रीस सक्काको आर्थिक सहयोग पनि थियो । सन २००८ को मार्चमा ‘औक्टोमेटिक’ लाई ५ मिलियन अमेरिकी डलरको आवश्यकता परेको थियो । त्यसको सहयोगी दाजुभाइको कम्पनी बन्न पुगेको थियो । त्यसबेला जोन १७ वर्षका मात्रै थिए । बीचैमा पढाइ छाडेका थिए ।

सन् २००९ मा जोन फेरि आफ्नो सेकेन्डरी स्कुलको शिक्षा पूरा गर्न क्यास्टरट्रोय कलेजमा भर्ना भई पढ्न थाले । त्यसैक्रममा उनले ‘आइरिस लिभिङ सर्टिफिकेट’ परीक्षामा ‘८ ए १’ र ‘२ ए २’ ग्रेड प्राप्त गर्न सफल भएका थिए । त्यसपछि उनी आफ्नो पढाइलाई निरन्तरता दिने सोचका साथ विश्वकै प्रख्यात हावार्ड विश्वविद्यालयमा नामांकन गराए । तर, त्यहाँ उनी लामो समय टिकेनन् । किनभने उनको गन्तव्य नै अर्कै थियो ।

सन् २०१० मा कोलिसन ‘स्ट्रिप’ कम्पनीको सह–संस्थापक बनेका थिए । यसमा पिटर थिएल, इलोन मस्क, म्याक्स लेभचिन र सेक्युआ क्यापिटरबाट उनले सहयोग पाएका थिए । सन् २०१० कै नोभेम्बरमा कोलिसन दाजुभाइ १ दशमलव १ अर्ब अमेरिकी डलरसहित संसारकै सबैभन्दा कान्छा सेल्फ–मेड अर्बपति बनिसकेका थिए । उनको कम्पनी ‘स्ट्रिप’ ले व्यापार र व्यक्तिहरूका लागि इन्टरनेटमार्फत भुक्तानी गर्ने गर्छ । उनको कम्पनी हाल २५ विभिन्न मुलुकमा अर्बौं डलरको कारोबार हरेक वर्ष गर्ने गर्छ । डेढ सय मिलियन अमेरिकी डलरबाट व्यापार थालेका दाजुभाइको व्यापार ९ दशमलव २ अर्ब अमेरिकी डलर पुगेको छ ।

कम्पनी खोल्नेबारेमा एउटा रोचक प्रसंगसमेत दाजुभाइसँग जोडिएर आउँछ । त्यो के हो भने जोन र प्याट्र्रिक बिदा मनाउन दक्षिण अफ्रिका गएको बेला व्यापार थाल्ने निर्णय गरेका रहेछन् । त्यहीँ दुवै ‘स्ट्रिप’ कम्पनी खोल्ने निष्कर्षमा पुुगेको अमेरिकी अखबार फोब्र्सले जनाएको छ । उक्त कम्पनी सञ्चालनमा आएको बेलासम्म जोन हावार्डमा भौतिकशास्त्रका विद्यार्थी रहेका थिए ।

युवा उमेरमै दुवैले थालेको कम्पनीको सञ्चालन र त्यसपछिको सफलता पहिलो भने थिएन । त्यसअघि ती दुवैले ‘औक्टोमेटिक’ को सफलतापूर्वक नेतृत्व गर्दै सञ्चालनमा ल्याएका थिए । उक्त कम्पनीले अमेजन र इबेजस्ता अनलाइन बिक्रेताहरूका लागि कारोबारमा सहयोग गथ्र्यो । सन् २००८ मा दाजुभाइले आफ्नो व्यापार क्यानेडाली कम्पनी ‘लाइभ करेन्ट मेडिया’ लाई ५ अर्ब अमेरिकी डलरमा बेचेका थिए । यसले किशोरावस्थामै यी दुईलाई धनाढ्यहरूको सूचीमा प्रवेश गराइदियो, दुवैलाई अर्बपति बनाइदियो ।

आयरल्यान्डका नागरिक २७ वर्षीय जोन कोलिन हाल अमेरिकी राज्य क्यालिफोर्नियामा बसोबास गर्छन् । ‘फोब्र्स’ का अनुसार यो वर्षको विश्वका अर्बपतिहरूको सूचीमा १ हजार ७ सय ९५ औं र आयरल्यान्डमा ७ औं स्थानमा परेका छन् । हावार्डका ड्रपआउट उनी अमेरिकाको ४० वर्षमुनिका सर्वाधिक धनाढ्य उद्यमीको सूचीमा अघिल्लो वर्ष १५औं स्थानमा थिए ।

यसैगरी सन् १९८८ को सेप्टेम्बरमा जन्मेका प्याट्रिक हाल ‘स्ट्रिपका सह–संस्थापक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । सन् २००५ मा मात्र १६ वर्षको उमेरमा ‘४१ औं योङ साइन्टिस्ट एन्ड टेक्नोलजी एक्जिबिसन’ को पुुरस्कार हात पार्न सफल भएका थिए । प्याट्रिक आठ वर्षको छँदै पहिलोपटक युनिभर्सिटी अफ लिमरिकबाट कम्प्युटरको शिक्षा हासिल गरेका थिए । उनी १० वर्ष उमेरमा कम्प्युटर प्रोग्रामिङको सिकाइ थालेका थिए । कलिलै उमेरमा आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम वृद्धि) मा आफ्नो परियोजना तयार पारी विश्वलाई चकित पार्न सफल भएका थिए ।

उनले तयार पारेको यो परियोजनाले उनलाई तीन हजार युरो पुरस्कार र वाटरफोर्ड क्रिस्टर ट्रफी प्राप्त गर्ने हैसियतमा पुुर्‍यायो । उनी पनि म्यासाच्युसेटस इन्टिच्युट अफ टेक्नोलजी (एमआईटी) का ड्रप आउट विद्यार्थी हुन् । सन् २००७ मा भाइ जोनसँग मिलेर सफ्टवेर कम्पनी ‘सुप्पा’ खोलेर चर्चित भएका हुन् । सन २००८ मार्चको गुड फ्राइडेका दिन प्याट्रिक १९ वर्षका र उनका भाइ जोन १७ वर्ष उमेरमै आफूले सञ्चालन गर्दै आएको कम्पनी क्यानेडाली लाइभ करेन्ट मेडियालाई बेचेर रातारात अर्बपति बनेको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । त्यसै वर्षको मेमा भ्यानकुोभरस्थिति एउटा कम्पनीमा इन्जिनियरिङको निर्देशकसमेत बनेका थिए प्याट्रिक । हाल २९ वर्षीय उनी अविवाहित छन् र भाइसँगै आफ्नो व्यापार र उद्यमशीलतालाई अघि बढाउन चाहन्छन् ।
(एजेन्सीहरू)

प्रकाशित : आश्विन २८, २०७४ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?