कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घोडेपानीमा खचाखच पर्यटक

घनश्याम खडका

म्याग्दी — अन्नपूर्ण पदमार्गको उत्कृष्ट गन्तव्यमध्येको एक मानिने पुनहिलका सबै होटल र गेस्टहाउसहरू पर्यटकले खचाखच छन् । घोडेपानीबाट पुनहिलसम्म पुग्ने बाटो र भ्यु प्वाइन्टमा आराम कुर्सी राख्नेसमेतका पूर्वाधारहरू थप गरिएपछि पर्यटक थप आकर्षित भएका हुन् ।

घोडेपानीमा खचाखच पर्यटक

पर्यटन व्यवसायीका अनुसार घोडेपानीमा सानाठूला गरी ३० वटा होटलमा चार सय बेड क्षमताले थेग्न नसकेपछि आँगनमा टेन्ट राखेर पनि पर्यटकलाई बास दिइएको छ । इलाका प्रहरी कार्यालय घोडेपानीको तथ्यांकअनुसार दसैंयता पुनहिलमा दैनिक ४ सय ५० देखि पाँच सयसम्म पर्यटकहरू पुग्ने गरेका छन् । पदयात्राका लागि विश्वकै १० उत्कृष्ट क्षेत्रमध्येको मानिएको पुनहिल म्याग्दी जिल्लाको घारस्थित घोडेपानीमा पर्छ ।

‘यति धेरै आएका छन् कि होटलमा बेड पुर्‍याउन नसक्दा एक्लै आउनेलाई टेन्ट टाँगेर पनि बास दिएका छौं,’ घोडेपानीकी होटल व्यवसायी तारा पुनले भनिन्, ‘विदेशी मात्रै होइन नेपाली नै धेरै आउन थाले । त्यही भएर खान र बस्नको व्यवस्था गर्न हामीलाई अप्ठयारै भइसक्यो ।’
 
घोडेपानी पर्यटन व्यवसायी समितिको नेतृत्वमा करिब २० लाख रुपैयाँ खर्चेर घोडेपानीबाट माथि पुनहिलसम्म पुग्ने बाटोमा ढुंगा बिच्छाउने, भ्यु प्वाइन्ट व्यवस्थापन, उकालो बाटो मर्मत, आराम गर्ने बेन्चहरू राख्ने र कफी हाउसजस्ता पूर्वाधारहरू थप भएका छन् । ३ हजार २ सय १० मिटर उचाइमा अवस्थित पुनहिल डाँडा धौलागिरि र अन्नपूर्ण हिमालको घेरो र सूर्योदय तथा सूर्यास्त हेर्नलाई परिचित छ । 

‘यो वर्ष अघिल्ला वर्षहरूभन्दा बढी टुरिस्ट आएकाले अहिले हाम्रा सबै होटलहरू भरिएका छन्,’ घोडेपानीका पर्यटन व्यवसायी समितिका अध्यक्ष टेकसर बुद्धुजा मगरले भने, ‘योपटकबाट नेपाली टुरिस्ट धेरै भएका छन् । खर्च पनि मनग्ये गर्छन् ।’ 

प्रकाशित : कार्तिक ३, २०७४ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?