कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सातामा १२ अर्ब निक्षेप थपियो

कान्तिपुर संवाददाता

काठमाडौं — गत साता वाणिज्य बैंकहरूमा १२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । कात्तिक ६ गते २१ खर्ब ४९ अर्ब रुपैयाँ रहेको निक्षेप सोमबार (कात्तिक १३ गते) २१ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको हो ।

गत साता बैंकहरूमा थपिएको निक्षेप धेरै ठूलो नभए पनि अघिल्ला साताहरूको तुलानामा बढी हो । भदौयता निक्षेपको तुलनामा ऋण प्रवाह वृद्धिदर उच्च रहँदै आएको थियो । गत साता त्यस्तो प्रवृत्ति बदलिएको हो । चुनावका कारण बजारमा पैसा जाने क्रम बढ्न थालेपछि निक्षेप बढेको बैंकरहरूको भनाइ छ ।

गएको साता बैंकहरूबाट ५ अर्ब रुपैयाँ थप कर्जा विस्तार भएको राष्ट्र बैंकको तथ्यांक छ । सोमबारसम्म वाणिज्य बैंकहरूको ऋण प्रवाह १८ खर्ब १२ अर्ब रुपैयाँ छ । अघिल्लो साता मात्रै वाणिज्य बैंकहरूले थप २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । त्यतिबेला निक्षेप संकलनको तुलनामा ऋण प्रवाह करिब ३ गुणा बढी थियो । पर्याप्त तरलता (लगानीयोग्य रकम) का कारण बैंक तथा वित्तीय संस्थाले आक्रामक रुपमा ऋण प्रवाह गर्न थालेपछि कर्जा वृद्धिदर उच्च भएको थियो । त्यो क्रम गत साता तोडिएको छ ।

गत साउनमा निक्षेपको वृद्धिदर कर्जाको भन्दा बढी थियो । भदौदेखि कर्जाको वृद्धिले निक्षेपलाई उछिन्न थालेको हो । पछिल्ला साताहरूमा निक्षेप र कर्जा वृद्धिको अन्तर तीव्र रूपमा फराकिलो बन्दै गएको छ । यही क्रम जारी रहे निक्षेप र कर्जाबीचको सन्तुलन बिग्रने भएकाले वित्तीय क्षेत्र असन्तुलित बन्ने विज्ञहरूको तर्क छ । निक्षेपभन्दा कर्जा विस्तार बढी भएकै कारण करिब डेढ वर्षअघि कर्जा र निक्षेप तथा पुँजीको अनुपात (सीसीडी) तोकिएको सीमामा पुगेपछि बैंक तथा वित्तीय संस्थाले थप ऋण रोक्नुपरेको थियो ।

पछिल्ला महिनाहरूमा निक्षेपभन्दा कर्जा प्रवाह वृद्धिदर बढ्दै गएकाले भविष्यमा तरलता अभाव हुन सक्ने पूर्वबैंकर अनील ज्ञवालीको भनाइ छ । ‘रेमिटयान्स वृद्धिदर घटदो छ, आयात बढ्दो छ, शोधनान्तर दोस्रो महिना पनि ऋणात्मक छ,’ उनले भने, ‘यस्तो अवस्थामा बैंकमा कहाँबाट पैसा आउला ?’ कुन स्तरको तरलता अभाव हुन्छ भन्न नसकिए पनि संकटको सम्भावना नटरेको उनको भनाइ छ । ‘मुलुकको बाहय अवस्थामा सुधार नभएसम्म तरलता अभाव हुँदैन भनेर आश्वस्त हुने अवस्था छैन,’ ज्ञवालीले भने ।

गत साता ऋण प्रवाहभन्दा निक्षेप संकलन धेरै भए पनि चालु आर्थिक वर्षका अधिकांश साताहरूमा ऋण प्रवाहदर धेरै रहेको बैंकर्स संघका कार्यकारी सदस्य भुवन दाहालले बताए । ‘अहिले बैंकहरू सहज अवस्थामा छन्, यसकारण सबै क्षेत्रमा ऋण प्रवाह सुरु गरेका छन्,’ दाहालले भने । निक्षेपभन्दा कर्जा विस्तारदर बढी भए पनि निक्षेप तथा पुँजी र कर्जा अनुपात (सीसीडी) मा दबाब नपरेको उनले बताए ।

तरलता अवस्था सहज भए पनि बैंक तथा वित्तीय संस्थाले ऋणको ब्याज अपेक्षित रूपमा घटाएका छैनन् । सुरुमा मुद्दति निक्षेपमा बढी ब्याज दिनुपरेकाले धेरै ब्याज घटाउन नसकिएको तर्क दिएका बैंकहरूले अहिले आधार ब्याजदर (बेस रेट) नघटेको बताउँदै आएका छन् । नयाँ कर्जाका दरहरू भने घट्न थालेका छन् । ३/४ महिनामा नयाँ ऋणको ब्याजदर २ प्रतिशत विन्दुसम्मले घटेको बैंकरहरू बताउँछन् । ‘केही महिनाअघि १४ देखि १५ प्रतिशत रहेका कर्जादर हाल १२ देखि १३ प्रतिशतमा झरेका छन्,’ एक बैंकरले भने, ‘हाल बैंकहरूले सबै क्षेत्रमा ऋण प्रवाह गर्दै आएका छन् ।’

प्रकाशित : कार्तिक १६, २०७४ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?