कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अछामको रैथाने प्रविधि लोप हुँदै

मेनुका ढुंगाना

अछाम — आधुनिक प्रविधितर्फको बढ्दो आकर्षण र सुविधाभोगी प्रवृत्तिले अछामको ग्रामीण क्षेत्रको परम्परागत
रैथाने प्रविधि लोप हुँदै गएको छ ।

आधुनिक प्रविधितर्फको बढ्दो आकर्षण र सुविधाभोगी प्रवृत्तिले अछामको ग्रामीण क्षेत्रको परम्परागत रैथाने प्रविधि लोप हुँदै गएको छ ।

उखु पेलेर खुदो निकाल्ने, अमिलो पेलेर चुक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने परम्परागत घरेलु मेसिन ‘कोल’ गाउँमा लोप हुँदै गएका छन् । अघिल्लो पुस्तासम्ममा उखु, अमिलो र तोरी पेल्नका लागि गाउँमा निर्विकल्प घरेलु मेसिनका रूपमा रहेको कोल हालका वर्षमा अछामका ग्रामीण क्षेत्रबाट विस्थापित हुँदै गएको छ ।

त्यसैगरी धान कुट्नका लागि प्रयोग हुने ढिकी र ओखल पनि बिरलै देख्न पाइन्छन् । वर्षामा ओढ्ने सेउको ठाउँ अहिले प्लास्टिकले ओगटेको छ । गाउँमा जाँतो प्रयोगकर्ता कोही छैनन् । आधुनिक प्रविधिको विकास हुनुअघि यस क्षेत्रमा दैनिक जीवनयापनका लागि अति आवश्यक परम्परागत साधन तेल पेल्ने कोल, उखु पेल्ने कोल, ढिकी, जाँतो, ओखल र पानीघट्ट लोप हुँदै गइरहेका छन् । करिब तीन दशकअगाडिसम्म निकै चल्तीमा रहेका यी घरेलु मेसिनको प्रयोग बिस्तारै घट्दै गएपछि लोप हुन थालेका हुन् ।

विभिन्न आधुनिक घरेलु मेसिनको प्रयोगपछि अछाममा यी घरेलु मेसिन विस्थापनमा परेको सामाजिक अभियन्ता चन्द्रमणि भाटले बताए ।

घरेलु प्रविधिसँगै यहाँको मौलिक संस्कृति पनि धराशायी बन्दै जान थालेको छ । देउडा संस्कृतिमा ख्याति कमाएको अछामका देउडा भाका, पुतला, भैलो नाच पनि लोपोन्मुख अवस्थामा पुगेको गायिका डिक्रा गाइने बताउँछिन् ।

‘अछामका घरेलु मेसिनहरू हराइसके,’ भाटले भने, ‘हामी को हौं ? हाम्रो सभ्यता के हो ? भन्ने कुराको बोध गराउने यी चिजहरू नै हराएपछि हाम्रो मौलिक संस्कृति र सभ्यता पनि संकटमा परेको छ ।’ स्थानीय स्रोत, साधन एवं स्थानीय सीपबाटै निर्माण गरिने घरेलु प्रविधिबाट यस क्षेत्रको परम्परागत जनजीवन, कला र सामाजिक अवस्थाका विषयमा समेत अध्ययन गर्न सकिने उनले बताए ।

प्रकाशित : कार्तिक २५, २०७४ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?