कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेप्सेमा १४ अंकको वृद्धि

कान्तिपुर संवाददाता

काठमाडौं — अघिल्लो दिनजस्तै सोमबार पनि सेयर बजारको कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । अघिल्लो दिन साढे १६ अंकले बढेको नेप्से सोमबार १३.७४ अंकको वृद्धिसहित १ हजार ४ सय ९०.८८ विन्दुमा उक्लेको हो ।

कारोबारमा आएकामध्ये होटल र विकास बैंकबाहेक सबै समूहको परिसूचक बढेपछि नेप्से परिसूचक करिब १४ अंकले बढेको हो । करिब २ सातापछि आइतबार नेप्से दोहोरो अंकले बढदा लगानीकर्ताको मनोबल बढेको थियो । यही कारण सोमबार पनि बजार दोहोरो अंकले बढेको विज्ञहरूको सुझाव छ ।

परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । सोमबार ७१ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा यो करिब ८० प्रतिशतको वृद्धि हो । यसैगरी बजार पुँजीकरण पनि बढेर ९३ खर्ब ३० अर्ब रुपैयाँ कायम भएको छ । दिनभरको कारोबारमा बजारमा निकै उतारचढाव देखियो । बजार खुलेदेखि नै उकालो लागेको नेप्से पहिलो ३० मिनेटभित्र १ हजार ४ सय ९० नजिक पुगेको थियो । त्यसपछि उच्च दरले ओरालो लागेको नेप्से १ हजार ४ सय ७७ विन्दुसम्म ओर्लियो । यस्तो उतारचढाव दिनभर नै चलिरहयो । अन्त्यमा १ हजार ४ सय ९० मा पुगेर रोकियो ।

करिब ५ हजार ७ सय करोबारबाट १ सय ५८ कम्पनीका १७ लाख ३० हजार ५ सय ७२ कित्ता सेयर खरिदबिक्री भए । कारोबारमा आएकामध्ये ९८ कम्पनीको सेयर मूल्य बढयो, ४५ कम्पनीको सेयर मूल्य घटयो र बाँकी १५ कम्पनीको सेयर मूल्य स्थिर छ ।

सोमबार जलविद्युत् कम्पनीको परिसूचक ४.१५, ‘अन्य’ को २.२७, वित्त कम्पनीको १.३२, बैंकिङको ०.८६, बिमाको ०.१८, उत्पादन तथा प्रशोधन ०.५३ र लघुवित्त समूहको परिसूचक ०.६३ अंकले बढे । होटल समूहको परिसूचक ०.५५ र विकास बैंकको ०.१३ प्रतिशतले ऋणात्मक रहे ।

प्रकाशित : कार्तिक २८, २०७४ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?