कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँ राडारको निगरानीमा जहाज

सुरज कुँवर

काठमाडौं — नेपाली आकाशभित्र उड्ने विमान अबदेखि नयाँ पुस्ताको सुरक्षित र अत्याधुनिक राडारको निगरानीमा रहने भएका छन् । यो राडारको जडानले हवाई सुरक्षा र व्यवस्थापन अहिलेको तुलनामा चुस्त हुनेछ ।

नयाँ राडारको निगरानीमा जहाज

नागरिक उड्डयन प्राधिकरणले १८ वर्षअघि जापान सरकारको सहयोगमा जडान गरेको ८० किलोमिटर वृत्त (रेडियस) मात्रै क्षमता भएको राडारलाई विस्थापित गरिएको हो । जडान गरिएको नयाँ राडारको क्षमता ४ सय ५० किलोमिटर रेडियस छ । नयाँ राडारको क्यालिब्रेसन (हवाई निरीक्षण) सोमबार सकिएको छ । जडित प्रविधिको अमेरिकी नागरिक उड्डयन संस्था (एफएए) बाट आएको विशेष जेट विमानको सहायताले सोमबार क्यालिब्रेसन क्षमता निरीक्षणको कार्य सम्पन्न गरेको हो । झन्डै ९४ करोड रुपैयाँ जापानी अनुदान तथा प्राधिकरणको १५ करोडमा नयाँ राडार जोडिएको प्राधिकरणका अधिकारीले जानकारी दिए । ‘हामीले जडान गरेको उच्च प्रविधियुक्त मोनोप्लस सेकेन्डरी सर्भिलेन्स राडार मोड एसको क्यालिब्रेसन सकियो, मंगलबार जहाज अमेरिका फर्किइसक्यो,’ प्राधिकरणका उपमहानिर्देशक नरेन्द्रबहादुर थापाले कान्तिपुरसँग भने । जापानी सहयोग नियोग (जाइका) को सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भट्टेडाँडामा गरी दुइटा नयाँँ पुस्ताका राडार उपकरण राखिएका छन् । भट्टेडाँडामा राखिएको राडारले २ सय ५० नटिकलमाइल (४ सय ५० किलोमिटर) दूरीसम्मको रेडियसमा उडिरहेको विमानको गति, उचाइ र आईडी (परिचय) थाहा पाउँछ भने काठमाडौं विमानस्थलमा जडान गरिएको राडारले २ सय नटिकलमाइल (३ सय ६० किमि) सम्मको रेडियसमा उडिरहेको विमानको विस्तृत विवरण टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलरले देखाउँछ । यसअघिको राडारले काठमाडौं विमानस्थलबाट ८० किलोमिटर हाराहारीको रेडिसयभित्र उडिरहेका विमानलाई निगरानी गथ्र्यो । पुरानो प्रविधिले जहाजलाई मात्रै देख्थ्यो ।
प्राधिकरणको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधुनिकीकरण आयोजनाका प्रमुख इन्जिनियर सञ्जीवसिंह कठायतका अनुसार अमेरिकाबाट आयरल्यान्ड, जोर्डन, यूएई हुँदै मंसिर १ गते काठमाडौंमा अवतरण गरेको क्यालिब्रेसन निरीक्षण गर्ने विमानले शनिबार, आइतबार र सोमबार देशभरका विभिन्न भागमा करिब २० घण्टा उडान गरेको थियो । यसक्रममा उसले यो राडारको सर्भिलेन्स पूर्वी नाकासम्म र पश्चिममा सुर्खेतसम्म रहेको प्रमाणित गरिदिएको छ । अब यो राडारको मद्दतले काठमाडौंमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले नेपालको तराईमा भारतीय भूमिबाट आइरहेका विमानलाई पहिल्यै देख्न सक्नेछ । यसअघिको पुरानो राडारको सहयोगमा काठमाडौंमा रहेका एटीसीले पूर्वमा रामेछाप जिरी आसपास र पश्चिममा भरतपुरसम्मको आकाशमा उडिरहेका विमान मात्रै देख्थ्यो । ‘अहिले जडान गरिएको राडारले अकाशमा उडिरहेका जडाजहरूको पोजिसनको अब एकदम सही जानकारी दिलाउनेछ,’ कठायतले भने ।
त्यसैगरी खोज तथा उद्धारमा पनि यो प्रविधिले सघाउनेछ । ‘पहिलेपहिले जहाज हराएपछि स्थान पत्ता लगाउनै कठिन हुन्थ्यो तर यो प्रविधिले खोज तथा उद्धारमा पनि मद्दत मिल्नेछ,’ कठायतले भने । त्यस्तै नेभिगेसन उपकरण बिफल भएर बाटो बिराउने विमानलाई एटीसीले दिशाबोध गराउँदै यसै राडारको सहयोगले अब उद्धार गर्न सक्नेछन् । २५ वर्षअघि ३ सय हाराहारी यात्रुको ज्यान जाने गरी भएका थाई र पाकिस्तानी ध्वजाबाहक विमानको दुर्घटनापछि नेपाल सरकारले पहिलोपटक राडार प्रणाली भित्र्याएको थियो ।

प्रकाशित : मंसिर ६, २०७४ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?