कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वी पहाडको ढोका खुल्यो

दूधकोसी पुल सञ्चालनमा

जयरामघाट — खोटाङ र ओखलढुंगा जोड्ने जयरामघाटस्थित दूधकोसी नदीको पक्की पुल शुक्रबार बिहानदेखि सञ्चालनमा आएको छ । ठेक्का लागेको ८ वर्षपछि निर्माण पूरा भई पुल सञ्चालनमा आएको हो ।

पूर्वी पहाडको ढोका खुल्यो

चुनावको मुखमा पुल सञ्चालन गर्नुपर्ने भएकाले अनौपचारिक रूपमा पुलको उद्घाटन गरिएको हर्कपुर सडक डिभिजन कार्यालय प्रमुख ईश्वर रिजालले बताए । पुल सञ्चालनमा आएसँगै सर्वसाधारणले खुसी मनाएका छन् ।

‘खोटाङका लागि पुल नै भौतिक विकासको बाधा बनेको थियो,’ बुइपाका सर्वधन राईले भने, ‘ढिलै भए पनि सञ्चालनमा आएको छ । यसले सबै खुसी भएका छन् ।’ पुल सञ्चालनमा आएसँगै खोटाङ, भोजपुर पनि राजधानी काठमाडौंसँग सीधा यातायातमार्फत जोडिएका छन् । यसले प्रसिद्ध तीर्थस्थल हलेसी जान पनि सहज भएको छ ।

पुल निर्माणमा हुँदासम्म ११ करोड खर्च भएको कार्यालयले जनाएको छ । ‘बाँकी केही संरचनाका काम बाँकी छन्,’ रिजालले भने, ‘ती पनि चाँडै सम्पन्न हुनेछन् ।’ सिंगल लेनको पुलको लम्बाइ १ सय २० मिटर र चौडाइ ४.२५ मिटर छ । इन्जिनियर उद्धव रानाका अनुसार डिजाइनका हिसाबले यसलाई सस्पेन्सन मोटरेबल पुल भनिन्छ । ठेकेदार कम्पनीको विभिन्न बहाना देखाई लामो समयदेखि पुल निर्माण नहुँदा स्थानीय बासिन्दाले बेलाबेलामा आन्दोलनसमेत गर्दै आएका थिए ।

यो पुल खोटाङ र ओखलढुंगाका नेताहरूको यसअघिको चुनावी मुद्दा बन्ने गरेको थियो । २ वर्षअघि मात्रै यही रुटमा पर्ने सुनकोसीमा १४ वर्षपछि पुल बने पनि दूधकोसीको पुल नबन्दा अपूरो भएको थियो । खोटाङतर्फ जानका लागि हिउँदमा बेलिब्रिज सञ्चालन गरे पनि बर्खामा झोलुंगे पुल तरेर जानुपर्ने बाध्यता थियो ।
पुल बनेसँगै खोटाङको समृद्धिको ढोका खुलेको स्थानीय बताउँछन् । पुल अभावमा यहाँको जनजीवन कष्टकर बनेको थियो । पुल नहुँदा जयरामस्थित दूधकोसी नदीको झोलुंगे पुलमा सामान लोड/अनलोडले उपभोग्य वस्तुमा प्रतिकेजी १० रुपैयाँका दरले मूल्य बढ्ने गरेको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लयालूले बताए । 

पुल बनेसँगै विकासले समेत गति लिने निर्माण व्यवसायी संघका सचिव कृष्ण घिमिरे बताउँछन् । ‘सीधा यातायात नहुँदा निर्माण सामग्रीमा २५ प्रतिशतले मूल्यवृद्धि भएको थियो,’ उनले भने, ‘सीधा यातायात सञ्चालनसँगै निर्माणसम्बन्धी कामले पनि गति लिने निश्चित छ ।’

 

प्रकाशित : मंसिर ९, २०७४ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?