काबेली कास्केड जलविद्युत् आयोजना सम्झौता हुँदै
पाँचथर — ताप्लेजुङ र पाँचथरको सीमावर्ती कावेली खोलाबाट अर्को काबेली कस्केड जलविद्युत् आयोजना निर्माण हुने भएको छ । अरुणभ्याली हाइड्रोपावर डेभ्लपमेन्ट कम्पनीले ९ दशमलव ९ मेगावाट क्षमताको काबेली कस्केड आयोजना निर्माणको लागि नेपाल विद्युत् प्राधिकरणसित सम्झौता प्रक्रिया अघि बढाएको जनाएको छ ।
पाँचथरको याङवरक गाउँपालिका–४ थर्पुस्थित पिपले र ताप्लेजुङको सिदिङवा गाउँपालिका–१ थेचम्बोको सिमाना काबेली खोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको काबेली बी–१ जलविद्युत् आयोजना पूरा भएपछि सहायक आयोजनाको रूपमा अर्को आयोजना निर्माण गर्न लागेको प्रवद्र्धक अरुण काबेली पावर लिमिटेडका कार्यकारी निर्देशक कुवेरमणि नेपालले बताए ।
काबेली खोलावाट निर्माण हुने यो चौथो आयोजना हो । काबेली करिडोरमा नेपाल विद्युत् प्राधिकरणमार्फत बुटवल पावर कम्पनीको सहायक काबेली इनर्जी लिमिटेडको प्रवद्र्धन विश्व बैंकको दस अर्ब रुपैयाँ लगानीमा ३७ दशमलव ६ मेगावाट क्षमताको काबेली ए जलविद्युत् आयोजना र एक अर्ब ६० करोड रुपैयाँ लगानीमा ९ दशमलव ९ मेगावाटको इलाखोला जलविद्युत् आयोजना निर्माणाधीन छन् ।
अरुण काबेली पावर लिमिटेडको चार अर्ब ३० करोड लगानीमा निर्माणाधीन काबेली बी–१ जलविद्युत् आयोजना आउँदो माघमा राष्ट्रिय प्रसारण लाइनमा जोडिने गरी निर्माण कार्य भइरहेको छ । इवाखोला जलविद्युत् आयोजना २०७५ जेठ र काबेली ए जलविद्युत् आयोजना २०७६ असोजमा १३२ केभी काबेली करिडोर राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछन् । यी चारवटा आयोजनाले काबेली खोलबाट ८१ मेगावाट विद्युत् उत्पादन हुने रैराङ हाइड्रोपावर कम्पनीका निर्देशक कुवेरमणि नेपालले बताए ।
प्रस्तावित काबेली कस्केड आयोजना काबेली बी–१ को विद्युत्गृहदेखि फालिएको पानी याङवरक गाउँपालिका–५ पिपलेमा बाँध बाँधेर हिलिहाङ गाउँपालिका–१ अमरपुरस्थित धुसेनीसम्म २१ सय मिटर सुरुङमार्गबाट विद्यृत्गृहमा पानी खसालेर विद्युत् उत्पादन गरिने काबेली बी–१ का मुख्य इन्जिनियर व्यवस्थापक हस्तमान राईले बताए ।
प्रकाशित : मंसिर १९, २०७४ ०८:४३