कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिधा यातायातले उपभोग्य वस्तु भाउ घट्यो, काममा सहज

डम्बरसिं राई

खोटाङ — सहरसँग सिधा यातायात सुरु भएपछि जिल्लामा उपभोग्य वस्तु तथा निर्माण सामग्रीको भाउ घटेको छ ।
मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने जयरामघाटस्थित दूधकोसी नदीमा पुल सञ्चालनमा आएपछि सिधा यातायातले उपभोग्य वस्तुको मूल्य घटेको हो ।

सहरसँग सिधा यातायात सुरु भएपछि जिल्लामा उपभोग्य वस्तु तथा निर्माण सामग्रीको भाउ घटेको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने जयरामघाटस्थित दूधकोसी नदीमा पुल सञ्चालनमा आएपछि सिधा यातायातले उपभोग्य वस्तुको मूल्य घटेको हो । खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लयालुका अनुसार जयरामघाटस्थित दूधकोसी पुल नहुँदा त्यहाँको झोलङ्गे पुलमा सामान लोडअनलोड र भरिया खर्च गर्न नपर्ने हुँदा उपभोग्य वस्तुमा प्रतिकिलो करिब पाँचदेखि दस रुपैयाँसम्म मूल्य घटेको छ । लयालुले थपे–‘यसले गाउँ–गाउँमा समेत उपभोग्य वस्तुको भाउ घटेको छ ।’

व्यवसायी राजन आचार्यका अनुसार पहिलेकै सामान स्टक रहे पनि सिधा यातायातको प्रभावले मूल्य घटेको सुनाए । उनका अनुसार चिनी प्रतिकिलो ९५ रुपैयाँबाट ९०, नुन ३० बाट २५, तोरीको तेल प्रतिलिटर एक सय ४० बाट एक सय ३५, चामल प्रतिबोरा दुई सय, ग्यास प्रतिसिलिन्डर दुई सय ५० रुपैयाँ घटेको छ । यसबाहेक डिलरसिपबाट वितरण हुने ड्युलगायत सामग्रीमा समेत मूल्य घटेको छ । सिधा यातायात हुँदा कम्पनीहरुले नै ढुवानी गर्ने भएकाले मूल्य घटेको आचार्यले जनाए । यद्यपि (एमआरपी) अधिकतम खुद्रा मूल्यमा भने बिक्री हुन सकेको छैन । यसलाई मध्यनजर गरेर उपभोक्ताले सामान खरिद नगरेकाले उपभोक्ता थप मारमा परेको खोटाङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष खुसनारायण सैंजूले बताए ।

त्यसो त, निर्माण सामग्रीमा समेत मूल्य घटेको छ । निर्माण सामग्री बिक्रेता नवराज जोशीका अनुसार सिमेन्टमा प्रतिबोरा दुई सय, रड प्रतिक्वीन्टल पाँच सय रुपैयाँले घटेको छ । सिधा यातायात सञ्चालनले निर्माणका काममा समेत सहज भएको छ । निर्माणमा करिब २५ प्रतिशतले मूल्यमा सहज आउने निर्माण व्यवसायी संघका सचिव कृष्ण घिमिरेले बताए । घिमिरेले थपे–‘यसले सम्पूर्ण निर्माणसम्बन्धी कामले द्रूतगति लिने छ ।’

सिधा यातायातपछि जिल्लामा उत्पादित अलैंची, सुन्तला, अदुवालगायत कृषिजन्य सामग्री समेत सहर जान सहज भएको छ । यद्यपि कति निकासी भयो भन्ने विवरण भने आउन बाँकी रहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख श्यामप्रसाद घिमिरेले बताए । यातायातमा भने भाडा निर्धारण नहुँदा यात्रुले मार खेपिरहेका छन् । यसबारेमा तत्काल भाडा निर्धारण गर्ने सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले बताए ।

प्रकाशित : मंसिर २०, २०७४ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?