कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्र बैंकले रोक्यो हायर पर्चेज कर्जाको अनुमति

काठमाडौँ — हायर पर्चेज कर्जा दिने कम्पनीहरूको नयाँ अनुमति राष्ट्र बैंकले स्थगित गरेको छ । हायर पर्चेजसम्बन्धी नीतिगत व्यवस्था पुनरावलोकन हुन लागेकाले केही समयका लागि पुरानो व्यवस्था स्थगित गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले रोक्यो हायर पर्चेज कर्जाको अनुमति

राष्ट्र बैंकले केही दिनअघि सूचनामार्फत यस्तो जानकारी दिएको हो । ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था ०७० सम्बन्धी नीतिगत व्यवस्था पुनरावलोकन नभएसम्मका लागि थप निवेदन लिने कार्य स्थगित गरिएको छ,’ राष्ट्र बैंकद्वारा सार्वजनिक सूचनामा उल्लेख छ ।

राष्ट्र बैंकले यसअघि तोकिएको मापदण्ड पुगेका कम्पनीहरूलाई हायर पर्चेज कर्जाका लागि अनुमति दिँदै आएको थियो । हाल राष्ट्र बैंकबाट अनुमति लिएर ८ वटा कम्पनीले ग्राहकलाई हायर पर्चेज कर्जा प्रदान गर्दै आएका छन् ।

नयाँ अनुमतिका लागि त्यत्ति नै संख्यामा आवेदन दर्ता भएको राष्ट्र बैंकले जनाएको छ । ‘अर्को व्यवस्था नभएसम्मका लागि नयाँ अनुमति स्थगित गरेका छौं,’ राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले भने, ‘प्रक्रियामा रहेका कम्पनीहरूका लागि के गर्ने भन्ने सम्बन्धमा छलफल भइरहेको छ ।’

कृषि, औद्योगिक वा व्यावसायिक प्रयोजनका लागि कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई सवारी साधन, मेसिनरी औजार, उपकरण खरिद गर्नका लागि किस्तामा फिर्ता गर्दै सम्पूर्ण भुक्तानी फिर्ता भइसकेपछि स्वामित्व हस्तान्तरण हुने गरी प्रदान गरिने कर्जालाई हायर पर्चेज भनिन्छ । विद्यमान कानुनी व्यवस्थाअनुसार यस्ता कम्पनीको न्यूनतम चुक्ता पुँजी १० करोड रुपैयाँ हुनुपर्नेछ । यस्ता कम्पनीहरूले व्यवसाय सञ्चालनका लागि कम्तीमा पनि १० करोड रुपैयाँ बराबरको खुद सम्पत्ति कायम गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।

प्रकाशित : पुस ११, २०७४ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?