कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेप्से तीन महिना यताकै न्यून 

काठमाडौँ — लगातार घटिरहेको नेप्से मंगलबार तीन महिनायताकै न्यून विन्दुमा झरेको छ । प्रतिनिधि र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनपछि एक दिनबाहेक सबै दिन घटेको नेप्से मंगलबार १ हजार ४ सय ४७.०४ विन्दुमा ओर्लेको हो । यो पछिल्ला तीन महिनायताकै न्यून हो ।

नेप्से तीन महिना यताकै न्यून 

यसअघि कात्तिक २३ गते नेप्से १ हजार ४ सय ६०.७३ विन्दुमा झरेको थियो । चुनावपछि (मसिंर २४ गते देखि) को कारोबारमा अधिकांश दिन नेप्से घटे पनि मंगलबारको गिरावट ‘इन्ट्रा डे’ मा कात्तिक १९ यताकै उच्च हो । मंगलबार नेप्से परिसूचक २०.६४ अंकले घटेको छ ।

नयाँ सरकार गठनमा देखिएको अन्योलका कारण लगानीकर्ताको मनोबल बढ्न नसकेकाले नेप्से लगातार घटेको जानकारहरू बताउँछन् । ‘नयाँ सरकारको अन्योल छँदै थियो, फेरि बैंकहरूले ब्याज बढाउन थाले, यसकारण मंगलबार नेप्सेको घट्ने दर बढेको हो,’ एक धितोपत्र ब्रोकरले भने । बजारमा लगानीकर्ताको उत्साहमा निकै कमी आएकाले त्यो बढाउन राज्यस्तरबाट कुनै सकारात्मक सन्देश आवश्यक रहेको उनको भनाइ छ । ‘ऋणको ब्याज तिर्ने समय नजिकिँदै छ,’ एक ब्रोकरले भने, ‘सेयर बेचेर ब्याज तिर्नेहरूका कारण बिक्रीतर्फ चाप बढी छ । यसले पनि बजार घटाइरहेको छ ।’

सार्वजनिक बिदाका कारण सोमबार बन्द भएको नेप्से मंगलबार सुरुदेखि नै उच्च दरले ओरालो लागेको थियो । कारोबार सुरु भएको आधा घण्टापछि बजार केही सम्हालिए पनि अन्त्यमा करिब साढे २० अंकले घटेर बन्द भयो । उक्त दिन ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक १.३५ र कारोबारमा रहेका सबै कम्पनीको कारोबार मापक फ्लोट परिसूचक १.६३ प्रतिशतले घटे ।

कारोबारमा आएकामध्ये ‘अन्य’ बाहेक बाँकी समूहको परिसूचक घटेपछि समग्र नेप्से उच्च अंकले ओरालो लागेको हो । करिब ६ हजार २ सय कारोबारबाट १ सय ५९ कम्पनीका १० लाख ३८ हजार २ सय ९८ कित्ता सेयर किनबेच भए । ती कारोबारबाट ५४ करोड रुपैयाँ परिचालन भयो । कारोबारमा आएकामध्ये १३ कम्पनीको सेयर मूल्य बढेको छ । १ सय २६ कम्पनीको सेयर मूल्य घटयो र बाँकी २० कम्पनीको सेयर मूल्य स्थिर छ ।

मंगलबार ‘अन्य’ समूहको परिसूचक ०.८२ प्रतिशतले सकारात्मक रहयो । तर, व्यापार समूहको परिसूचक २.४१, विकास बैंकको २.२१, वित्त कम्पनीको २.१६, जलविद्युतको र लघुवित्तको समान दर (१.८४) प्रतिशत), बिमा समूहको परिसूचक १.८३, बैंकिङको १.४५, उत्पादन तथा प्रशोधनको १.२१ र होटलको १.११ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

प्रकाशित : पुस ११, २०७४ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?