कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गति लिँदै औषधि लिमिटेड

फातिमा बानु

काठमाडौँ — गत वैशाखदेखि जीवनजल उत्पादन गरेर पुनर्जन्म लिएको नेपाल औषधि लिमिटेडले अब सिटामोल बजारमा ल्याएर गति लिने भएको छ ।

गति लिँदै औषधि लिमिटेड

लामो समयदेखि आर्थिक स्रोत–साधनको अभाव र व्यवस्थापकीय कमजोरीको कारण ६ वर्षसम्म बन्द कम्पनी गत वैशाखदेखि मात्रै पुन: सञ्चालनमा आएको हो ।

कम्पनीले आउँदो माघदेखि सिटामोल उत्पादन गर्ने तयारी पूरा गरेको छ । माघबाटै सिटामोल बजारमा लैजाने तयारी भएको लिमिटेडका महाप्रबन्धक डा. रोभसकुसुम सुवेदीले बताए । ‘सम्पूर्ण तयारी पूरा भएको छ, भारतबाट दुईवटा उपकरण मगाएका छौं, उपकरण आउनेबित्तिकै औषधि उत्पादन भइहाल्छ,’ सुवेदीले भने ।

उत्पादित सिटामोललाई देशभर सस्तो मूल्यमा बेचिने कम्पनी सञ्चालक समिति सचिव टीकाराम अर्यालले बताए । ‘औषधिको मूल्य एक रुपैयाँ तोकिनेछ, औषधि सातै प्रदेशमा पुर्‍याइनेछ,’ उनले भने । पहिलो चरणमा १ लाख २० हजार टयाबलेट सिटामोल उत्पादन गरिने अर्याल बताउँछन् । ‘यसका लागि कच्चा पदार्थ, बजेट र जनशक्ति सबै तयार छ,’ उनले भने । सिटामोलका साथै कम्पनीले बजारमा धेरै खपत हुने १५ थरीका एन्टिबायोटिक औषधि उत्पादन गर्ने तयारी गरिरहेको प्रशासन प्रमुख ज्ञानीबहादुर रायमाझीले बताए ।

औषधिका लागि कम्पनीले टयाबलेट उत्पादन इकाईको पुरानो भवनसमेत पुनर्निर्माण गरिरहेको छ । पुरानो कारखाना भवन पनि रङरोगन गरिएको छ, झयालढोका मर्मतसम्भार गरी व्यवस्थित पारिएको छ । ‘पहिले काठका झयाल ढोका थिए, अब विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरूप अल्मुनियमको संरचना बन्दै छ,’ अर्यालले भने ।

कम्पनीले २८ प्रकारका अत्याधुनिक उपकरणसमेत भित्र्याएर जडान गरिसकेको छ । पुरानो प्रयोगशालाको स्वरूप परिवर्तन गरिएको छ, प्रयोगशाला कुशल सञ्चालनका लागि दक्ष जनशक्तिसमेत नियुक्त गरिएको सुवेदी बताउँछन् । अब विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरूपको संरचना र औषधिका लागि कम्पनीलाई अर्थ मन्त्रालयले १४ करोड बजेट निकासा गरेको छ । ‘पहिलो चरणमा ६ करोड ४८ लाख दिएको छ, यही बजेटबाट काम भइरहेको छ,’ रायमाझीले भने ।

विगतमा औषधिमा आत्मनिर्भर हुने उद्देश्यले कम्पनीबाट १ सय २० प्रकारका औषधि उत्पादन गरिन्थ्यो । विश्व स्वास्थ्य संगठनको औषधि उत्पादन मापदण्ड पूरा गर्न नसकेकाले २०६० सालमा औषधि उत्पादन बन्द गरिएको थियो । अब कम्पनी यसै वर्षभित्र संगठनबाट गुणस्तर प्रमाणपत्र प्राप्त गर्न लागेको सुवेदीले बताए । ‘यसका लागि गुणस्तर नियन्त्रण शाखा नै खोलेका छौं, अनुसन्धान कार्यलाई पनि तीव्र पारिनेछ,’ उनले भने ।

कम्पनीले निजीस्तरका औषधि उत्पादक उद्योगसँग प्रतिस्पर्धा गर्न सक्ने महत्त्वाकांक्षी योजना अघि सारेको छ । कम्पनीका अध्यक्ष लक्ष्मीराज पाठकले भन्छन्, ‘सरकारले नि:शुल्क रूपमा दिने ७० प्रकारका औषधिका लागि निजी उद्योगमा भर पर्नुपर्ने अवस्था छ, अब यस्ता समस्या समाधान हुनेछन् ।’

कम्पनीले गत वैशाखदेखि सुरु गरेको जीवनजलको उत्पादनलाई निरन्तरता दिइरहेको रायमाझीले जानकारी दिए । कम्पनीमा हाल एकपटकमा ४० प्याकेट जीवनजल उत्पादन गर्न सक्ने दुइटा उपकरण छन् । मागअनुसारको जीवनजल उत्पादनका लागि डेढ करोड लगानीमा कम्पनीले नयाँ उपकरणसमेत जडान गरिसकेको छ । ‘यसबाट एकपटकमा ६० प्याकेट जीवनजल उत्पादन गर्न सकिन्छ,’ रायमाझीले भने ।

प्रकाशित : पुस १४, २०७४ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?