कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लन्डनवासीले मनाए पृथ्वीजयन्ती

काठमाडौं — लन्डन । लन्डनवासी नेपालीले २९५ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएका छन् । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले बुधबार लन्डनमा गरेको एक कार्यक्रमका वक्ताहरुले पृथ्वीनारायण शाहको योगदान स्मरण गरे ।

लन्डनवासीले मनाए पृथ्वीजयन्ती

उनीहरुले तत्कालीन समयमा शाहले विभिन्न भूभाग एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेको सम्झँदै उनको राष्ट्रिय एकताको सन्देश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको धारणा राखे ।

तर, वक्ताहरुले क्रिसमस र भारतीय राष्ट्रपति नेपाल आउँदा बिदा दिने सरकारले राष्ट्रिय निर्माताको जन्म जयन्तीमा भने सार्वजनिक बिदा नदिएकामा आक्रोश पोखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबिइ)ले पृथ्वीनारायण शाहको सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक दुरदर्शीताको चर्चा गर्दै उनको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको टिप्पणी गरे । धितालले देशमा राजनीतिक संक्रमण बढिरहेको उल्लेख गर्दै देश बचाउन विदेशमा बस्ने नेपालीहरु गम्भीर बन्नुपर्ने बेला आएको बताए ।

बीबीसी नेपाली सेवाका पूर्वप्रमुख खगेन्द्र नेपालीले शाहप्रति जे जस्तो अपव्याख्या गरिए पनि उनको राजनीतिक चेत, दुरदर्शीता र एकताभाव वर्तमान राजनीतिमा खाँचो रहेको धारणा राखे ।

लेखक तथा गोर्खाली बुद्धिजीवी विकलचन्द्र आचार्यले गोरखा जिल्लाको प्राचीनकालदेखिको इतिहास केलाउँदै पृथ्वीनारायण शाहको एकीकरण अभियानको विस्तृत जानकारी दिएका थिए । आचार्यले गोरखा जस्तो सानो पहाडी जिल्लाका राजाले नेपाल एकीकरणको आँट गर्दाको चुनौती, कुशल नेतृत्व र यसमा योगदान गर्ने सबै पक्षको चर्चा पनि गरेका थिए ।

संगठनका अध्यक्ष भरत रोका क्षेत्रीको सभापतित्वमा उक्त कार्यक्रम सुरु हुनुअघि मदन थापा र बसन्त रायक्षेत्रीले मंगलधुन बजाएका थिए भने सहभागीहरुले शाहको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धा सुमन अर्पण गरे ।

कार्यक्रममा एनआरएनए युरोप संयोजक कुल आचार्य, पूर्व डिएसपीहरु शिवजी श्रेष्ठ र वाचस्पति रेग्मी, समाजसेवी ध्रुव केसी, कृष्ण भट्ट, चिरञ्जीवी ढकाल, कृष्णजंग शाह, बसन्त शाह, भीम बानियाँ, प्राध्यापक रमेशचन्द्र अधिकारी लगायतले पृथ्वीनारायण शाहको योगदानबारे चर्चा गरे ।

कार्यक्रममा नृपेश उप्रेती, हेमन्त पौडेल, चेतमान केसी, हरिसिंह थापा, कृष्ण भट्ट लगायतले पृथ्वीजयन्तीमा समर्पित कविता वाचन गरेका थिए ।

गणतन्त्र स्थापनापछि नेपाल सरकारले मनाउन छाडे पनि संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले सन् २०१० देखि बेलायतमा यो जयन्ती मनाउँदै आएको छ । कार्यक्रम संयोजक तथा पृथ्वी जयन्तीका अभियन्ता नारायण अधिकारीले सुरुका दिनमा आलोचना सहेरै भए पनि दिवसलाई निरन्तरता दिइएको बताए ।

कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

 

प्रकाशित : पुस २८, २०७३ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?