कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिड्नीमा पहिलो नेपाली खाना महोत्सव, विदेशीको उल्लेख्य सहभागिता

नारायण खड्का

अस्ट्रेलिया — नेपाली खानालाई विदेशमा चिनाउने र नेपाली खानाको माध्यमबाट ‘फुड टुरिजम’को विकास गर्ने उद्देश्यले अस्ट्रेलियाको सिड्नीमा पहिलो नेपाली खाना महोत्सव सम्पन्न भएको छ । महोत्सवमा उल्लेख्य रुपमा विदेशी अवलोकनकर्ताहरुले समेत सहभागिता जनाएका थिए ।

सिड्नीमा पहिलो नेपाली खाना महोत्सव, विदेशीको उल्लेख्य सहभागिता

सिड्नीमा रहेका युवाहरुको संस्था टु टेबल्सले पहिलोपटक नेपाली खानाको महोत्सव आयोजना गरेको थियो । सिड्नीमा रहेका अधिकांश नेपाली खाना व्यवसायीहरुको सहभागिता रहेको महोत्सवमा सबै नेपाली खानाहरु राखिएको थियो । एक दर्जन बढी स्टलहरु राखिएको खाना महोत्सवमा नेपालबाट आएको बाजेको सेकुवा प्रमुख आकर्षण रहेको थियो भने नेपाली परम्परागत खानाहरु मम, समयबजी, छोयला, सेकुवा मात्र नभएर अचारहरुको समेत अवलोकनकर्ताहरुले स्वाद लिन पाएका थिए ।

‘विश्वमा फुड टुरिजमको विकास भइरहेको सन्दर्भमा हामीले पनि नेपाली खानाको माध्यमबाट पनि पर्यटन क्षेत्रमा योगदान पुर्‍याउन सकिन्छ भन्ने सोचले महोत्सव आयोजना गरेका हौं’ आयोजक संस्थाका मनोज अधिकारीले भने । उनका अनुसार महोत्सवमा १५ हजार बढी अवलोकनकर्ताहरुले महोत्सवमा सहभागीता जनाएका थिए भने सहभागीमध्ये ४० प्रतिशतभन्दा धेरै विदेशीहरुले महोत्सवको अवलोकन गरेका थिए । ‘हामीले नेपाली परम्परागत खानालाई विदेशमा समेत महोत्सवकै रुपमा आयोजना गरेर चिनाउने प्रयास गरेका थियौं जुन सफल भएको छ’ सेफ समेत रहेका आयोजक संस्थाका सुरज प्रधानले दाबी गरे ।

सिड्नीको व्यस्तमध्येको सेन्ट्रलको बेलमोर पार्कमा आयोजना गरिएको महोत्सवमा विदेशीहरुका साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरुका साथै व्यवसायी तथा स्थानीयवासीहरुले उत्साहका साथ सहभागिता जनाएका थिए । नेपाली खानासम्बन्धी व्यवहारिक ज्ञान दिने उद्देश्यले आधा दर्जन खाना बनाउने प्रविधिको बारेमा जानकारीमूलक प्रदर्शनी राखिएको थियो । जसमा विदेशीहरुले उत्साहका साथ सहभागिता जनाएका थिए ।

आयोजकले पहिलोपटक आयोजना गरिएको कार्यक्रमले होटल रेस्टुरेन्टभित्र मात्र नभएर खुल्ला आकाशमा आयोजना गरिएको कार्यक्रममार्फत नेपाली खानालाई प्रत्यक्ष स्वाद लिन र अनुभव गर्न पाएको बतायो । आयोजकले भने पहिलोपटक आयोजना गरिएका कारण केही कमीकमजोरी भए पनि कार्यक्रम सोचेभन्दा सफल भएको दाबी गरे । उनीहरुले प्रत्येक वर्ष खाना महोत्सवको आयोजना गरिने जानकारी समेत दिए ।

प्रकाशित : चैत्र २७, २०७३ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?