कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसरी ठगिन्छन् दिल्लीमा नेपाली

कमलदेव भट्टराई

नयाँ दिल्ली — वैदेशिक रोजगारी तथा विद्यार्थी भिसामा पढ्न पठाउने आश्वासन दिँदै नेपाली युवायुवतीलाई ठगी गर्ने घटना पछिल्ला दिनमा बढ्दै गएका छन् । केही महिनायता आफूहरू ठगिएको भन्दै दिल्लीस्थित नेपाली दूतावासमा उजुरी गर्नेको संख्या बढेको छ । दिनहुँजसो दूतावासमा ठगिएका उजुरी आइरहेका छन् ।

 यसरी ठगिन्छन् दिल्लीमा नेपाली

दिल्लीबाट तेस्रो मुलुक जाने विषयमा बुझ्न या पैसा बुझाउनुअघि परामर्श लिन दूतावास आउनेको संख्या भने शून्यप्राय: छ । अधिकारीहरूका अनुसार पहिल्यै परामर्श गर्न आए ठगिने सम्भावना कम हुन्छ । दिल्लीबाट भिसा लगाई तेस्रो मुलुक पठाउने प्रलोभन देखाएर ल्याउने र पैसा असुलेपछि फरार हुने घटना बढिरहेका छन् । यस्ता ठगीका घटनामा भने प्राय: नेपाली नै संलग्न हुने गरेका छन् । विशेषत: नेपाल र भारतमा ठगी गर्ने गिरोहको सञ्जाल नै सक्रिय छ । पहिले नेपालमा रहेका दलालले दिल्लीबाट अन्य मुलुक लैजाने भन्दै दिल्ली पठाउने र यहाँ अर्काे दलाल संलग्न हुने गरेको पाइएको छ ।

यस्ता घटनामा धेरैजसो १५ देखि ५० वर्षका व्यक्ति फसिरहेका छन् । दलालले नेपाली युवतीलाई रोजगारीका लागि मध्यपूर्वी देश पठाउने भन्दै दिल्ली ल्याउने गरेको पाइएको छ भने युवाहरूलाई अस्ट्रेलियालगायत देश पठाउने आश्वासन दिएर ठग्ने गरिएको छ । यसबाहेक दिल्लीमै बेच्न नेपालबाट चेलीबेटी ल्याउने अर्काे विकराल समस्या आफ्नो ठाउँमा छँदै छ । नेपालमा दुई वर्षअघि गएको महाभूकम्पपछि मानव बेचबिखन बढेको सरकारी तथ्यांकले देखाइरहेका छन् । 

यस्ता घटनाबारे आम सञ्चारमाध्यममा बारम्बार समाचार प्रकाशित भए पनि घटनामा कमी नआएको, उल्टै बढेको अधिकारीहरूले बताउने गरेका छन् । ‘ठगीका घटना बारम्बार आउने गर्छन् र हामीले सकेसम्म उनीहरूलाई सहयोग गरिरहेका छौं,’ दिल्लीस्थित नेपाली दूतावासमा काउन्सिलर ओम जोशीले भने ।

करिब तीन साताअघि जोशी नेतृत्वको टोलीले दिल्लीको एक घरमा बन्धक बनाएर राखिएका करिब दुई दर्जन युवतीको उद्धार गरेको थियो । उनीहरूलाई कतार, कुवेतलगायत मुलुक पठाउने भनी केही समयदेखि एउटा घरमा राखिएको थियो । यस्तै, तीन दिनअघि मात्रै ४ युवाले आफुहरूलाई बेल्जियम पठाउने भन्दै २० लाखभन्दा बढी रकम लिएको र त्यो मान्छे बेपत्ता भएको भनी दूतावासमा उजुरी दिएका छन् । घर तथा समाजमा आलोचना हुने डरले उनीहरू आफ्नो नाम भने सार्वजनिक गर्न चाहँदैनन् । 

४–४ लाख भारु बुझाएका ती युवालाई आफूले पैसा बुझाएको मान्छेको बारेमा राम्रो जानकारी छैन । उनीहरूका अनुसार भाइबरका माध्यमले मात्र ती व्यक्तिसँग विरलै सम्पर्क भइरहेको छ । केही महिनाअघि मात्र नाम बताउन नचाहने दुई युवती अस्ट्रेलिया पठाउने बहानामा आफूहरू ठगिएको भन्दै दूतावासमा आएका थिए । उनीहरूले झन्डै २० लाखभन्दा बढी भारु दलाललाई बुझाइसकेका थिए । पैसा असुल्न नक्कली भिसा लगाइएका घटनासमेत देखिएको दिल्लीस्थित नेपाली दूतावासका अधिकारीले बताए ।

केही महिनायता फेसबुकमा नक्कली आईडी बनाएर युवतीहरूलाई माया तथा बिहे गर्ने प्रलोभन देखाएर ठगी गर्ने क्रमसमेत निकै बढेको छ । फेसबुकमा साथी बनाएर गिफ्ट पठाएको र गिफ्ट भन्सारमा रोकिएकाले त्यसलाई छुटाउन पैसा पठाउनू भनी ठगी गर्ने गिरोहसमेत सक्रिय थियो ।

केही महिनायता दूतावासले दिल्लीबाट भिजिट भिसामा तेस्रो मुलुकमा जानेका लागि दिने ‘नो अब्जेक्सन’ सर्टिफिकेटमा निकै कडाइ गर्न थालेको छ । तर पनि दिल्लीबाट उडाइदिने बहानामा रोकिने क्रम घटेको छैन । यद्यपि, यो नियमबाट तेस्रो मुलुक जान पाउने केही सही व्यक्तिसमेत पीडित हुन थालेका छन् ।

 दिल्लीमा दलालले अलपत्र पारेपछि कतिपयले खाने तथा बस्ने समस्यासमेत भोग्नुपरेको छ । विशेषत: मानव बेचबिखनको प्रलोभनले दिल्लीमा ल्याएर अलपत्र परेकाहरूलाई उद्धार गरी नेपाल पठाउने जिम्मेवारी दूतावासको भए पनि दूतावासले स्रोत र साधनको अभाव देखाउँदै आएको छ ।

सोही प्रयोजनका लागि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले केही रकम दिन तयार रहेका बताउँदै आएको छ । तर दूतावास आफैंले यसमा पहल लिएको छैन । 

केही वर्षअगाडि दूतावासलाई उपलब्ध गराइएको रकम खर्च गर्न नसक्दा अघिल्लो वर्ष रोकिएको केही समय अगाडि मन्त्रालयकै अधिकारीहरूले बताएका थिए । एकातिर मन्त्रालयमा यस प्रयोजनका लागि बजेट छ भने अर्काेतर्फ दूतावासले त्यो खर्च गर्न सकेको छैन ।

प्रकाशित : जेष्ठ २९, २०७४ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?