वेम्ली एरिनामा गुन्जियो नेपाली संगीत

कान्तिपुर संवाददाता

लन्डन — सांगीतिक कार्यक्रमका लागि विश्वमै ‘आइकोनिक भेन्यू’ मानिन्छ वेम्ली एरिना । ८२ वर्ष अघि निर्मित उक्त भवनमा ओलम्पिक खेलदेखि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु म्याडोना, डेभिड बो, द हु, डोली पार्टन, स्टिभ वन्डर, प्रिन्स देखि द बिटल्स, रोलिङ स्टोन्स्, आशा भोस्ले, ए आर रहमान लगायत हजारौंले आफ्नो कला प्रस्तुत गरिसकेका छन् ।

महंगो त्यही अन्तर्राष्ट्रिय मञ्चमा शनिबार साँझ नेपाली गीत संगीत गुन्जियो । साढे १२ हजार दर्शक क्षमताको उक्त भेन्यूमा झण्डै ७ हजार नेपाली युवा ओइरिए । वेम्ली एरिना र वेम्ली स्टेडियम नेपाली युवाले ढाके ।

एकैपटक चार वटा नेपाली ब्याण्डलेआफ्नो कला प्रस्तुत गरेर नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रिय उचाईंमा पुरयाउने प्रयास गरे । युवा मनका ढुकढुकी गायक बिपुल क्षेत्री (ट्राभलिङ ब्याण्ड), अल्बाट्रोस, कुटुम्ब अनि एज ब्याण्ड गरि चारवटा सांगीतिक समूहले एउटै प्लेटफर्ममा गीत संगीत प्रस्तुत गर्दा युवा दर्शकले संगै गाएर नाचेर साथ दिए । बसेर भन्दा उठेर हेर्ने दर्शक अत्यधिक थिए ।

कार्यक्रमको शुरुमै नेपाली लोक बाजाको उत्थानमा समर्पित लोकप्रिय ब्याण्ड कुटुम्बले असारै महिनामा, रातो र चन्द्र सूर्य, सोध रामलाई लगायत गीत संगीत र धुन प्रस्तुत गरेर दर्शकलाई ‘वार्म अप’ गराएको थियो ।

कन्सर्टमा गायक विपुल क्षेत्रीको युवा क्रेज अत्यधिक देखियो । क्षेत्रीले डढेंलो लाग्यो, अल्लारे यो जोवन, सिरिरी हावा बग्यो सुस्तरी, भेट भयो आज हामी लगायत आफ्ना कयौं हिट आइटम प्रस्तुत गरे ।

एज व्याण्डको प्रयास हो मेरो, नचाहेको होइन तिमीलाई...गीत देखि अल्बाट्रोसको रक म्यूजिकमा झुम्मिने दर्शकको कमी रहेन ।

सन् २०१३ मा नेपथ्यले पहिलो पटक वेम्ली ऐरिना टेकेको थियो । नेपथ्यले रचेको इतिहास दोश्रो पटक ति व्याण्डले अनुशरण गरेका हुन् । विपुलकी फ्यान लन्डन वेम्ली निवासीअप्सरा गुरुङले प्रतिष्ठित वेम्ली एरिनामा कन्सर्ट हुनु नेपाली संगीतमा एउटा फड्को भएको बताइन् । झण्डै अढाइ घण्टा दुरी पार गरेर फोकस्टन देखि आएका तीर्थ दुरा पनि दंग देखिन्थे । उनले चार घण्टा लामो कार्यक्रममा दर्शकदीर्घाबाटै ननस्टप गाए, तस्विर लिए ।

बी फेस्ट र पर्चा प्रोडक्सनले ‘जुन फेस्टिभल’ नामक कन्सर्ट गरेका हुन् । कार्यक्रमका लागि २५ सदस्यीय कलाकारहरुको समूहबेलायत आएको छ । आयोजक पर्चा प्रोडक्सनका सिइओ समिर गुरुङले नेपाली कलाकार र गीत संगीतलाई अन्तर्राष्ट्रिय मञ्च दिनु आफूहरुको मुख्य उद्देश्य रहेको बताए ।

नेपालीले वेम्ली ऐरिनामा हत्तपत्त आँट्न नसक्ने उक्त कार्यक्रम समिर गुरुङ, दीपेन्द्र लामा, सिद्धार्थ गुरुङ, कपिल गुरुङ, प्रशासन गुरुङ लगायतको संयुक्त प्रयासमा भएको हो ।

प्रकाशित : असार ४, २०७४ १५:१५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

पाकिस्तान र भारतको फाइनल: रोमाञ्चक खेलको आशा

चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तान र भारत आईसीसी च्याम्पियन्स ट्रफिको फाइनलमा भिड्दैछन् ।
राजु घिसिङ

काठमाडौं — क्रिकेटमा भारत र पाकिस्तानको खेल सँधै सनसनीपूर्ण हुने गर्छ । यी दुई छिमेकीको प्रतिस्पर्धा खेलभन्दा पनि ठूलो हुन्छ । मैदानमा खेल चलिरहदा यी दुईको होड खेलमा हार–जितको नतिजमा मात्र सीमित हुदैन, कश्मीरको द्वन्द्व, आतंकवाददेखि लिएर एक–अर्कावीच को शक्तिशाली भन्ने पनि जोडिने गर्छ । लन्डनस्थित ओभलमा आज च्याम्पियन्स ट्रफिको फाइनल पनि यस्तै कुराले रोमाञ्चक बनाएको छ ।

वान डे इन्टरनेसनलमा विश्वका उत्कृष्ट आठ टिमको प्रतियोगिता हो च्याम्पियन्स ट्रफि । इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) को शीर्ष आठ वरीयताका टिमले यसमा प्रतिस्पर्धा गर्छ । पाकिस्तानले आठौं वरीयताको टिमको रुपमा च्याम्पियन्स ट्रफि खेल्ने अवसर पाएको हो । उसले बर्षाले प्रभावित पहिलो खेलमा भारतसँग १ सय २४ रनको ठूलो अन्तरको हार बेहोरेको थियो । त्यसपछि पुनरामगन गर्दै उसले सनसनीपूर्ण रुपमा फाइनल यात्रा तय गर्‍यो ।

दक्षिण अफ्रिका र श्रीलंकालाई हराएर अन्तिम चारको यात्रा तय गरेको पाकिस्तानले समूह चरणमा अपराजित रहेको एक्लो टिम इंग्ल्यान्डलाई सेमिफाइनलमा सजिलै पन्छाएको थियो । अनुमान गर्न नसकिने टिमको रुपमा चर्चित् पाकिस्तान च्याम्पियन्स लिगको फाइनल पुग्ने धेरैले कल्पना पनि गरेका थिएनन् । त्यसैले केही चर्चित् क्रिकेटरसमेतले उसको फाइनल यात्रालाई लिएर सट्टेबाजी र आईसीसीकै टेलिभिजन प्रसारणबाट पैसा कमाउने धन्दासँग जोडेका छन् ।

डिफेन्डिङ च्याम्पियन भारतले श्रीलंकासँग समूह चरणमा पराजित भएपनि दक्षिण अफ्रिकालाई हराएर सेमिफाइनल प्रवेश गरेको थियो । उसले सेमिफाइनलमा बंगलादेशलाई सजिलै पन्छाउँदै पाकिस्तानसँगको उपाधि होड पक्का गरेको थियो । व्यक्तिगत कौशल र पछिल्ला खेलको आधारमा भारत बलियो देखिन्छ तर उत्कृष्ट लयमा फर्किएको पाकिस्तानको गतिले उसलाई बढार्दै २५ वर्षपछि वान डेको उपाधि जित्न पनि सक्छ ।

कप्तान विराट कोहली भारतका मुख्य खेलाडी हुन् । रोहित शर्मा, शिखर धवन, हार्दिक पाण्डेय पनि राम्रो लयमा छन् । पूर्वकप्तान महेन्द्रसिंह धोनी र युवराज सिंहले पनि चाहिएको बेला खेल जिताउने गर्छन् । भुवनेश्वर कुमार, जसप्रित बुमराह,  रविचन्द्रन आश्विन, रवीन्द्र जडेजा, केदार जादवको बलिङले पनि भारतलाई उपाधि रक्षा गर्न सजिलो पार्नसक्छ ।

उपाधिको लागि फेवरेट मानिएको इंग्ल्यान्डमाथि एकतर्फी जित निकालेको पाकिस्तानका अजहर अली र फकहर जमनको प्रारम्भिक जोडी गतिलो लयमा छ । तीब्र गतिका बलर मोहम्मद आमिर फिट हुदै फाइनलमा फर्किएका छन् । उनलाई प्रतियोगितामा सर्बाधिक विकेट लिएका हसन अली र जुनैद खानले साथ दिनेछन् । २९ वर्षीय कप्तान सरफराज अहमदको पाकिस्तानी टिममा युवा खेलाडीको वर्चस्व छ ।

१ अर्बले हेर्ने अनुमान
पाकिस्तान र भारतको प्रतिस्पर्धालाई विश्व खेलकुदमै अत्याधिक दर्शक सहभागी हुने स्पर्धामा पर्दछ । च्याम्पियन्स लिगको फाइनल हेर्ने दर्शक १ अर्ब पुग्नसक्ने अनुमान गरिएको छ । यसअघि यी दुईको खेल झण्डै ५० करोडसम्मले हेरेका थिए ।
दुई साताअघि बर्मिंघममा भएको समूह चरणमा यी दुईको खेल ३२ करोड बढीले हेरेको आईसीसीेले जनाएको छ । त्यसमध्ये २० करोडले भारतमा हेरेका थिए । विश्व खेलकुदको इतिहासमा बेइजिङ ओलम्पिक २००८ को उद्घाटन समारोहमा मात्र दर्शक १ अर्ब पुगेको थियो ।

भारत र पाकिस्तान फाइनलमा पुगेपछि टेलिभिजन विज्ञापनको मूल्य पनि १० गुणा आकासिएको छ । स्टार स्पोर्ट्समा ३० सकेन्डको विज्ञापनलाई भारु.१ करोड लाग्ने बताइएको छ जबकि अरु बेला उच्चतम १० लाख थियो ।

प्रकाशित : असार ४, २०७४ १५:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT