बेलायती विश्वविद्यालय पढ्ने विद्यार्थी घटे

कान्तिपुर संवाददाता

लन्डन — बेलायती विश्वविद्यालयमा अध्ययनका लागि आवेदन दिने विद्यार्थी संख्या घटेको छ । गत वर्षको तुलनामा यसपटक २५ हजार आवेदन (४ प्रतिशत) घटेको भर्ना लिने एउटा निकाय यूकासको तथ्यांकले देखाएको हो ।

बेलायतमा नर्सिङ पढ्न आउने विद्यार्थीको दर १९ प्रतिशतले घटेको छ । इंग्ल्याण्डमा सन् २०१२ मा विश्वविद्यालयको शुल्क बढाइएपछि पहिलोपटक यसरी विद्यार्थीका आवेदन घटेको बीबीसीले जनाएको छ । यसैवर्षदेखि इंग्ल्याण्डमा शूल्क बढाएर वार्षिक ९ हजार २ सय ५० पाउण्ड पुरयाइंदैछ भने आउँदो अटम सिजनबाट विद्यार्थीले लिएका ऋणको ब्याज ४ दशमलव ६ प्रतिशतबाट ६ दशमलव १ प्रतिशत वृद्धि गर्ने तयारी छ । युरोपेली युनियन (ईयू) देशबाट अध्ययनका लागि आउने विद्यार्थी पनि ५ प्रतिशतले घटेका छन् । 

यूकासको तथ्यांकमा बेलायतका चार राज्यमध्ये इंग्ल्याण्डमा गत वर्षको तुलनामा ५ प्रतिशत कम (४ लाख ३७ हजार ८६० आवेदन), स्कटल्याण्डमा १ प्रतिशत थोरै (४८ हजार ९४०), वेल्समा ५ प्रतिशत कम (२२ हजार ५३०) र उत्तरी आयरल्याण्डमा ४ प्रतिशत न्यून (२० हजार २९० आवेदन) परेको छ । यद्यपि, युरोपेली युनियन देशबाहेकका ओभरसिज विद्यार्थीको संख्या भने दुई प्रतिशतले बढेको देखिएको छ । 

विश्वविद्यालय विज्ञहरुले आवेदन घट्नुका पछाडि केही कारण औंल्याएका छन् । उनीहरुका भनाइमा बेलायत युरोपियन युनियन (ईयू) बाट छुट्टिने प्रक्रियामा रहनु, शूल्क वृद्धि र ट्रेनी नर्स अनि मिडवाइफहरुको फण्डिङमा परिवर्तन गरिनु आदि प्रमुख कारक हुन् । यही अगष्ट १ बाट नर्सिङ, मिडवाइफ्री र स्वास्थ्य विषयका नयाँ विद्यार्थीले एनएचएस ग्रान्ट नपाउने भएका छन् । बरु उनीहरुले अन्य विद्यार्थी जस्तै ऋण लिन भने सक्ने बताइएको छ । 

यूनिभर्सिटीज् यूकेकी अध्यक्ष डेमी जुलिया गुडफेलोले विश्वविद्यालयहरुले यसमा सम्वोधन गर्नुपर्ने विषय पहिचान गरेको बताइन् । उनले युरोपेली विद्यार्थीलाई स्वागत गर्दै बेलायती शिक्षा प्रणालीको महत्व बुझाउन जरुरी रहेको समेत बताइन् ।  

२४ वटा बेलायती विश्वविद्यालयलाई प्रतिनिधित्व गर्ने रसेल ग्रुपको हेड अफ पोलिसी सारा स्टेभेन्सका भनाइमा ब्रेक्जिट (बेलायत ईयूबाट बहिर्गमन) को अन्योलका कारण विद्यार्थी घटेका हुन् भने त्यो चासोको विषय छ । यद्यपि, अन्तर्राष्ट्रिय विद्यार्थी संख्या थोरै भएपनि बढ्नु उनका दृष्टिकोणमा सकारात्मक पक्ष हो । ‘अन्तर्राष्ट्रिय विद्यार्थीले हाम्रा कलेजहरुमा सामाजिक तथा सांस्कृतिक विविधता ल्याएका छन् र यसबाट सबै विद्यार्थी लाभान्वित छन्’, साराले भनिन्, ‘ति विद्यार्थीले बेलायतको अर्थतन्त्रमा समेत २५ दशमलव ८ बिलियन पाउण्ड योगदान गरेका छन् ।’

मिलियन प्लसका प्रमुख कार्यकारी पाम टयाटलोले नयाँ तथ्यांक सु:खद संकेत नभएको बताए । उनले ब्रेक्जिटमा बेलायत सरकारको भूमिकाले बर्बादी र बेलायती विश्वविद्यालय तथा युरोपियन विद्यार्थी दुबैमा अन्योल थपेको दावी गरे ।

प्रकाशित : असार ३०, २०७४ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्

प्लास्टिकको चामल नभएको पुष्टि

अब गोदामको सिल हटाइदिन्छौं : काठमाडौं प्रहरी प्रमुख
कान्तिपुर संवाददाता

काठमाडौं — काठमाडौंको सीतापाइलास्थित शेरचन ब्रदर्स प्राइभेट लिमिटेडको गोदाममा प्लाष्टिकको चामल नभएको पुष्टि भएको छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परीक्षणमा प्लाष्टिकको चामल नभेटिएको पुष्टि भएको छ ।

काठमाडौंको सीतापाइलास्थित शेरचन ब्रदर्स प्राइभेट लिमिटेडको गोदाममा प्लाष्टिकको चामल नभएको पुष्टि भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परीक्षणमा प्लाष्टिकको चामल नभेटिएको पुष्टि भएको छ । काठमाडौं प्रहरी परिसरले सक्कली चामलमा प्लास्टिकको चामल मिसाएर बेचेको आरोपमा सीतापाइलाबाट टंकप्रसाद शेरचनलाई पक्राउ गरेको थियो । चामलमा मिसावट भएको सूचनाका आधारमा प्रहरीले टंकको शेरचन ब्रदर्स प्राइभेट लिमिटेडको गोदाममा छापा मारेको थियो । आरटीसी ब्रान्डको चामलको आधिकारिक बिक्रेता रहेका शेरचनको गोदाममा २० केजी तौलको लङ ग्रेन चामल पाँच सय बोरा थिए ।

प्रहरी प्रधान कार्यालय नक्सालभित्र रहेको एक नम्बर प्रहरी गणमा खानका लागि भन्दै शेरचनको गोदामबाट चामल ल्याइएको थियो । तर पकाएर खाने क्रममा चिसो भएको भात भुइँमा झर्दा रबरझै उफ्रिएको भन्दै उनीहरूले यसबारे बुझ्न काठमाडौं प्रहरी परिसरमा खबर गरेका थिए । काठमाडौं प्रहरी परिसरले प्लास्टिकको भनिएको चामलको गुणस्तर परीक्षण गर्न बुधबार नै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाएको थियो ।

परिसरका प्रमुख एसएसपी छविलाल जोशीले परीक्षणमा चामलमा प्लाष्टिक नभेटिएको पुष्टि भएपछि गोदाममा गरिएको सील खोलिदिने बताए ।

प्रकाशित : असार ३०, २०७४ १६:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्