एनआरएनए महासचिवमा त्रिलोकको उमेदवारी

हङकङ — गैर-आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को महासचिवमा हङकङका त्रिलोक (यमकुमार) गुरुङले उमेदवारी घोषणा गरेका छन् ।

एनआरएनए महासचिवमा त्रिलोकको उमेदवारी

बहालवाला सल्लाहकार गुरुङले कार्यकारी जिम्मेवारी लिन पाए अझ प्रभावकारी ढंगले आफूलाई संस्थाप्रति समर्पित गर्न सक्ने ठम्याइसहित महासचिवमा उमेदवारी घोषण गरेको बताएका छन् । घोषणासभामा लिखित मन्तव्य वाचन गर्दै उनले एनआरएनएले सञ्चालन गरिरहेका परियोजनालाई सफल पार्न र ‘भिजन २०२०’लाई साकार पार्न आफू नेतृत्वमा पुग्नु पर्छ भन्ने मान्यता रहेको उल्लेख गरेका थिए ।

हाल सल्लाहकार भए पनि सक्रियता र योगदानमा कुनै कार्यकारी भन्दा कम नरहेको दाबी गर्दै उनले लाप्राक नमूनाबस्ती र केन्द्रीय कार्यालय भवन निर्माणमा भौतिक रुपले सहभागी भइरहेको बताएका छन् । हालैको बाढी-पहिरो पीडितलाई राहत वितरणका लागि प्रभावित क्षेत्रमा खटेर भर्खरै आइपुगेको पनि उनले उल्लेख गरेका थिए ।

एक दशक भन्दा बढी एनआरएनएमा सक्रिय उनले पारदर्शिता, समानता र एकतालाई मूलमन्त्रको रुपमा आत्मसात् गरेको बताएका छन् । उनी हङकङ राष्ट्रिय समितिका अध्यक्ष दुई कार्यकाल र एक कार्यकाल एशिया-प्यासफिक क्षेत्रीय संयोजक रहिसकेका छन् । अघिल्लो महाधिवेशनमा उनी कोषाध्यक्षका प्रत्यासी रहेका थिए ।

दुई-दुई वर्षमा काठमाडौंमा हुने महाधिवेशन तथा विश्व सम्मेलनले नयाँ कार्यसमिति चयन गर्ने गरेको छ । आठौं महाधिवेशन अक्टुबर १४-१७ (असोज २८-३१) का दिन हुन गइरहेको छ ।

प्रकाशित : भाद्र २९, २०७४ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?