कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलायतस्थित गोर्खा रेजिमेन्टभित्र दशैं

कान्तिपुर संवाददाता

लन्डन — नेपालीहरुको सांस्कृतिक पर्व दशैं गोर्खा सैनिकले पनि हर्षोल्लासका साथ मनाए । वारमिनिस्टरस्थित आर्मी ग्यारिजनको सभाहलमा गोर्खा सैनिकहरुले वडा दशैं मनाएका हुन् । बेलायतस्थित बिग्रेड अफ गोर्खाजले प्रत्येक वर्ष दशैं तिहारको उपलक्ष्यमा विशेष कार्यक्रम गर्ने परम्परा छ ।

बेलायतस्थित गोर्खा रेजिमेन्टभित्र दशैं

गोर्खा रेजिमेन्टमा कार्यरत सैनिक र तिनका सन्तानलाई आफ्नो पर्व, संस्कृतिबारे जानकारी गराउन र नेपाली कला संस्कृति एवं परम्परा जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजक रेजिमेन्टका अफिसर कमान्डिङ मेजर प्रकाश गुरुङले जानकारी दिए ।

उनले दशैं तिहार नेपालीको महान पर्वमात्र नभएर यो नेपालीको चिनारी समेत भएकाले प्रत्येक वर्ष गोर्खा रेजिमेन्टभित्र फूलपाती, कालरात्री र अन्तमा रात्रीभोजसहित सांगीतिक कार्यक्रम गर्ने चलन रहेको बताए ।

गोर्खाहरुले विजया दशमीका दिन रेजिमेन्टका गोर्खा मेजरबाट टिका, जमरासहित आशिर्वाद ग्रहण गरे ।

कार्यक्रममा प्रमुख अतिथि गणपति कर्णेल र विशेष अतिथि ग्यारिजन कमान्डर सहभागी थिए । अतिथिहरुलाई नेपाली टोपी र पुष्पगुच्छा दिंदै मेजर गुरुङले स्वागत गरेका थिए ।

उक्त अवसरमा गायक राजन लिम्बुले दशैं तिहार सम्बन्धी गीत प्रस्तुत गरे भने उत्तम थापा मगर र सुवास गुरुङले गोर्खा सैनिकभित्र चर्चित ‘खुकुरी नृत्य’ प्रस्तुत गरे । त्यसैगरी ‘मै नाचु छमछमी’ मा जीवन गुरुङ र उत्तम थापा मगरको जोडदार नृत्य रहयो ।

‘कुटुमा कुटु...’ बोलको गीतमा कन्या गुरुङ,शिला गुरुङ, वर्षा र टिना घलेले आकर्षक नृत्य प्रस्तुत गरे । कम्पनीमा कार्यरत बेलायती महिला सैनिक फ्रान्की हार्ड र उत्तम मगरले अंग्रेजी गीत ‘मि लाइक यू’ प्रस्तुत गरेर उपस्थित बेलायती नागरिकलाई भरपुर मनोरन्जन दिएका थिए ।

उक्त सांस्कृतिक कार्यक्रमवारेन्ट अफिसर टु रित गुरुङले संयोजन गरेका थिए । यसैवर्ष ब्रिगेड अफ गोर्खाजको पहिलो र दोश्रो बटालियनले संयुक्त रुपमा स्थापना गरेको ‘ट्रेनिङ सपोर्ट कम्पनी’ का कमान्डर मेजर गुरुङले दशैं शुभकामना दिंदै अन्य गोर्खा रेजिमेन्टले जस्तै हरेक वर्ष दशैं मनाउने जानकारी दिएका थिए ।

कम्पनीका सार्जन्ट मेजर वारेन्ट अफिसर चोलानाथ लिम्बुको निर्देशनमा वारेन्ट अफिसर टु गंगा गुरुङ र वसन्त राईले रात्रीभोज संयोजन गरेका हुन् ।

बेलायतका अन्य नेपालीले पनि हर्षोल्लासका साथ दशैं मनाएका छन् । आश्विन शुक्ल दशमीका दिन शनिबार यहांका नेपालीले मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर आर्शिवाद लिए । मान्यजन नहुने नेपालीले मन्दिरमा गएर पण्डितहरुबाट टिका जमरा एवं प्रसाद ग्रहण गरे ।

लन्डन प्लमस्टिडको पशुपतिनाथ मन्दिरमा बिहानै देखि सर्वसाधारण टिका जमरा थाप्न उत्साहित देखिन्थे । मन्दिरमा बिहान ९.२५ को शुभ साइतमा टिका लगाउन शुरु गरिएको थियो ।

विश्व हिन्दू मन्दिर साउथहलमा पनि धुमधामसंग दशमी मनाइयो । विश्व हिन्दू महासंघ यूकेका अध्यक्ष चिरन्जिवी ढकालले टिका प्रसाद सहित जमरा प्रदान गरे ।

पश्चिम लन्डनका ६ जना नेपाली पण्डितहरुको संयुक्त प्रयासमा यसपटक घटस्थापनाका दिन सामूहिक जमरा, नवरात्रीसम्म पूजा, भजन कीर्तन, कालरात्री पूजा, वाटफोर्ड कृष्ण मन्दिरबाट फूलपाती भित्र्याउने कार्य, नवमीका दिन ९ वर्ष मुनीका ९ जना कन्याको पूजा एवं अन्तिम दिन घट्स्थापना बिर्सजन तथा टिका कार्यक्रम गरिएको थियो ।

अल्डरसटको शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरले पनि टिका कार्यक्रम गरेको थियो ।

उता, हाल बेलायत भ्रमणमा रहेका सम्माननीय प्रधानन्यायधिश गोपाल पराजुलीले पनि लन्डनमा राजदूत दुर्गाबहादुर सुवेदीसहित सर्वसाधारणलाई टिका तथा जमरा प्रदान गरे ।

लन्डनस्थित नेपाली दूतावासमा भने यसपटक दशैं चहलपहल भएन । बेलायतका नेपालीहरुको आस्थाको केन्द्र र अभिभावक ठानिने दूतावासमा विगत वर्षहरुमा दशैंका बेला सर्वसाधारणलाई भोज अथवा टिका वितरण कार्यक्रम हुन्थ्यो । राजदूत सुवेदीले लन्डनमा त्यो परम्परा तोडेका हुन् ।

प्रकाशित : आश्विन १६, २०७४ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?