कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुवेतमा म्यानपावरले थुनेर राखेकाे हाेस्टेलबाट भाग्न खोज्दा नेपाली महिलाको मृत्यु

महिना दिनयता ४ महिलाको मृत्यु
होम कार्की

काठमाडौं — घरेलु कामदार आपूर्ति गर्ने म्यानपावरले कुवेतमा थुनेर राखेको घरबाट भाग्न खोज्दा काठमाडौंकी अनिता शाक्यको मृत्यु भएको छ । उनलाई कुवेतको हवालीस्थित एक भवनमा राखिएको थियो । मानव तस्करले भारतीय बाटो हुँदै १६ अक्टोबरमा शाक्यलाई कुवेत पुर्‍याएको थियो । कुवेत पुगेको १४ दिनमै उनी झ्यालबाट हाम्फालेर भाग्न खोजेकी थिइन् ।

कुवेतमा म्यानपावरले थुनेर राखेकाे हाेस्टेलबाट भाग्न खोज्दा नेपाली महिलाको मृत्यु

‘प्रहरीले अनिताको मृत्युलाई आत्महत्या भनेको छ,’ कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले कान्तिपुरसँग भने, ‘शव नेपाल पठाउन दूतावासले एजेन्सीसँग पहल गरिरहेको छ ।’

कुवेत जान नेपालले प्रतिबन्ध लगाए पनि तस्करहरूले घुमाउरो बाटो प्रयोग गर्दै आएका छन् । कुवेतको कानुनले घरेलु कामदार आपूर्तिलाई वैध मान्ने भएकाले दूतावासले शाक्यलाई आपूर्ति गर्ने म्यानपावरविरुद्ध कारबाहीको पहल गर्न सकेको छैन । राजदूत हमालका अनुसार झन्डै एक महिनामै चार जना घरेलु कामदार (हाउसमेड) को मृत्यु भइसकेको छ । ‘दूतावासले चाहेर मात्रै कामदारको मृत्यु रोक्न नसकिँदोरहेछ,’ उनले भने, ‘कामदारको बढदो मृत्युदरले हामीलाई चिन्तित बनाएको छ ।’

महिना दिन अवधिमा मृत्यु हुनेमा सुनसरीकी वसन्ती उराव, झापाका अम्बावरी राजवंशी र बहा मर्मुकी छन् । उनीहरूको हृदयाघातले मृत्यु भएको जनाइएको छ । शिवसताषी नगरपालिका, झापाकी २९ वर्षीया बहा मुर्मुको समयमा उपचार नपाएर मृत्यु भएको हो । चार वर्षअघि कुवेत पुगेकी उनी घरबाट भागेर अन्यत्र काम गर्दै आएकी थिइन् । उनी कमजोर अवस्थामा उद्धार निम्ति दूतावास पुगेकी थिइन् ।

दूतावासले उपचारका लागि फर्वानिया अस्पताल भर्ना गरेको थियो । उनको उपचार र घरफिर्तीका लागि गैरआवासीय नेपाली संघ, कुवेतले सहयोग संकलनसमेत गरेको थियो । उपचार क्रममै मृत्यु भएपछि शव नेपाल पठाउन एनआरएनएले आर्थिक सहयोग गर्ने अभियानकी संयोजक सुस्मिता लिम्बूले बताइन् ।

राजदूत हमालका अनुसार सेल्टरमा २८ जना घरेलु कामदार छन् । उनीहरूलाई स्वेदश पठाउने प्रक्रिया चलिरहेको उनले जानकारी दिए । कुवेतमा झन्डै २३ हजार महिला हाउसमेडका रूपमा कार्यरत छन् ।

प्रकाशित : कार्तिक २२, २०७४ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?