कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलायत मेरो दोश्रो घर : प्रियंका

कान्तिपुर संवाददाता

लन्डन — व्यस्त नायिका प्रियंका कार्की यसपटक दुई दिनका लागिमात्र बेलायत टेकिन् । आफ्नो ‘लिड रोल’ रहेको चलचित्र ‘हयाप्पी डेज’ को रेड कार्पेट प्रिमियर शो भ्याउन उनी हतार हतार बेलायत आएकी थिइन् ।

बेलायत मेरो दोश्रो घर : प्रियंका

‘बेलायत अहिले मेरो दोश्रो घर जस्तै भएको छ,' प्रियंकाले भनिन्, ‘फिल्म छायांकन र बेलायतका दर्शक एवं आम नेपालीको माया सद्भावले यूके आवतजावत गर्न प्रेरित गर्दो रहेछ ।’

नेपालका केही प्रोजेक्ट सकेर उनी फेरि छिट्टै यूके आउंदैछिन् ‘लिली बिली’ चलचित्रका लागि । हयाप्पी डेजकै निर्देशक मिलन चाम्सले निर्देशन गर्ने ‘लिली बिली’ छायांकनका लागि फिल्म युनिट अहिले स्कटल्याण्डमा छ ।

आइतबार अल्डरसटस्थित प्रिन्सेस हलमा आयोजित हयाप्पी डेजको रेड कार्पेट प्रिमियर शोमा प्रियंकाले दर्शकप्रति आभार व्यक्त गरिन् । नेपाल बाहिर फिल्म निर्माण आफैंमा चुनौतिपूर्ण भएको बताउंदै उनले सबैको साथ भए नेपाली चलचित्र विश्वव्यापी पुग्ने विश्वास व्यक्त गरिन् । प्रियंकाले फिल्म छायांकनका क्रममा करिब डेढ महिना भोग्नुपरेको बेलायतको चिसो, लोकेशनको बिकटता, यातायात र अन्य व्यवस्थापनका अप्ठेरो स्मरण गर्दै अन्तत: फिल्म रिलिज भएकामा खुशी व्यक्त गरेकी थिइन् ।

बेलायतका नेपाली व्यवसायीले निर्माण गरेकोचलचित्र हयाप्पी डेज को शो शुरु हुनु अघि कलाकारहरु प्रियंका कार्की, धिरेन शाक्य, प्रदीप खड्का र दीया पुन लिमोजिनबाट उत्रंदा दर्शकहरुले न्यानो स्वागत गरेका थिए । उक्त अवसरमा पाइपर धुन बजाइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले चलचित्र युनिटलाई बधाइ तथा शुभकामना दिए । उनले हयाप्पी डेजबाट मनोरन्जन र सन्देश लिन आग्रह गर्दै नेपाली चलचित्र र कलाकारहरुलाई माया र सम्मान गर्न अनुरोध गरे । नेपाली कलालाई इज्जत र स्नेह, नेपाली संस्कृति, सभ्यता र परम्परा अनि नेपाल र नेपालीलाई माया गरौं भन्दै राजदूतले शो शुभारम्भ गरेका थिए ।

एनआरएनए केन्द्रिय उपाध्यक्ष कुल आचार्यले बेलायतका नेपाली व्यवसायले निर्माण गरेको फिल्मको सफलताको शुभकामना दिंदै गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली चलचित्रको विकास तथा प्रवर्धनमा सधैं साथ दिने प्रतिवद्धता व्यक्त गरे ।

उक्त फिल्मका निर्देशक मिलन चाम्सले सहयोगी सबैप्रति आभार व्यक्त गरे ।

प्रस्तुतकर्ता वी पी खनालले स्कटल्याण्ड, वेल्स र इंग्ल्याण्डका रमणीय दृश्यहरु समेटेर ९५ प्रतिशत छायांकन बेलायतमै गरिएको जनाए । उक्त चलचित्रको लगानी अढाइ करोड रुपैयां पुगेको दावी निर्माण पक्षको छ ।

प्रियंका, दयाहाङ राई, सन्जय गुप्ता, विक्की जोशी, मोनिका गुरुङ आदि कलाकारले अभिनय गरेको उक्त चलचित्रले आम नेपालीको बेलायत टेक्ने सपना, यहां आइसकेपछि रातो पासपोर्टको महत्वकांक्षा, आप्रवासीले भोग्नुपर्ने अप्ठेरो जस्ता सामाजिक विषयवस्तुलाई उजागर गरेको छ ।

प्रिमियरमा फिल्मका प्रस्तोता तथा निर्माता वी पी खनाल र अन्य निर्माताहरु हिरल जोशी, भवानी शर्मा, मिलन चाम्स, डा. अशोक बन्साल लगायत सयौं दर्शक सहभागी थिए ।

‘हयाप्पी डेज’ नेपालमा आगामी माघ १२ देखि प्रदर्शन हुनेछ ।

तस्बिरहरु : मिलन तमु

प्रकाशित : कार्तिक २८, २०७४ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?