कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साउदी अरवले १९ थरी पेशामा विदेशी कामदार नलिने, नेपालीको पनि रोजगारी गुम्ने

विदेशी कामदारलाई लेबरमा सिमित बनाउने योजना
होम कार्की

काठमाडौं — साउदी अरवले आफ्नो नागरिकको रोजगारलाई सुनिश्चित गर्न १९ थरीे रोजगारीमा नेपालीसहित विदेशी कामदार नलिने नीति लिएको छ । यो नियम आउँदो जनवरीदेखि लागु हुनेछ । साउदीको श्रम तथा सामाजिक बिकास मन्त्रालयले १९ वटा पेशामा काम गर्ने आप्रवासीको इकमा (परिचयपत्र) समेत नविकरण नगर्ने जनाएको छ । इकमा नविकरण नभएका कामदारले साउदी छोड्नु पर्छ ।

 साउदी अरवले १९ थरी पेशामा विदेशी कामदार नलिने, नेपालीको पनि रोजगारी गुम्ने


स्थानीय सञ्चार माध्यमहरुका अनुसार साउदीले एकाउन्टेन्ट, सेक्रेटरी, सेल्सम्यान, एडमिनिस्ट्रेटर, सेल्स म्यानेजर, सेल्स सुपरभाइजर, फाइनन्स म्यानेजर, चिफ एकाउन्टेन्ट, सिनियर एकाउन्टेन्ट, अफिस म्यानेजर, सेल्स एसिस्टेन्ट, एड्मिनिस्ट्रेसन म्यानेजर, अफिस ब्वाई, ड्राइभर, रिसेप्सनिस्ट, वेरहाउस म्यानेजर, फोरकिल्प म्यानेजर, लजिस्टिक सुपरभाइजर र ह्युमान रिसोर्स म्यानेजरको पदमा विदेशीलाई काममा लगाउन नपाउने नीति ल्याएको हो ।


साउदीको यो निर्णयबाट नेपालीको समेत रोजगार खोसिने भएको छ । यी पद मध्ये नेपालीहरु एकाउन्टेन्ट, सेल्सम्यान, सेल्स सुपरभाइजर, म्यानेजर, अफिस ब्वाई र ड्राइभरमा कार्यरत छन् । आफ्नो अर्थतन्त्र कमजोर हुँदै गएको र विरोजगारको संख्या बढिरहेकोले साउदीले यस्तो निर्णय गरेको हो । ‘साउदी सरकारको लेवरमा मात्रै विदेशी कामदार ल्याउने योजना देखिन्छ,’ इन्जिनियर धरम केसीले भने, ‘यो निर्णयले विदेशी कामदारको माथिल्लो तहमा हुने रोजगारीको अवसर कटौती हुने देखिन्छ ।’
झन्डै दुई दशकदेखि साउदीमा कार्यरत केसीले आप्रबासी घटाउँदै र साउदी बढाउँदै साउदीको भिजन २०३० अन्तर्गत साउदी अरबलाई आप्रबासी कामदार बिहीन मुलुक बनाउने लक्ष्य अनुरूप तिब्र गतिमा त्यसतर्फ साउदी अगाडि बढेको देखिएको वताए ।


साउदी अरबमा ८५ लाख आप्रबासी कामदारहरू रहेकोमा सन् २०१७ को सेप्टेम्वरसम्म ३ लाख दुई हजार ४ सय ७३ जना घटेर ८२ लाख कायम भएको छ । साउदीले बिशेष गरी साउदी महिलालाई काम गर्न प्रोत्साहन गरेको छ । हालै मात्रै उनीहरुले गाडी चलाउन पाउने नियम ल्याएको थियो । यो बर्षमात्रै ९ लाख २३ हजार साउदी युवा श्रम बजारमा आएका छन् ।


आप्रवासी कामदारको बिमा गर्ने सरकारी निकाय गोसोका अनुसार हरेक दिन ३ हजार एक जनाको रोजगार कटौती भइरहेको छ । जसमा एक हजार एकसय २० जना विदेशी र १८ सय ८१ जना साउदी नागरीक पर्छन् ।



प्रकाशित : कार्तिक २८, २०७४ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?