कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली संगीतमा फेशन बढी छ : राज सिग्देल

नारायण खड्का

अस्ट्रेलिया — व्यावसायिक रुपमा सांगीतिक क्षेत्रमा आउनुअघि उनले ९ वर्षसम्म संगीतको अध्ययन गरे । अहिले गजल र आधुनिक गायकको परिचय समेत बनाइसकेका छन् । तर उनलाई लाग्छ, पछिल्लो समयमा नेपाली संगीतमा फेशन बढेको भने व्यावसायिकता र स्तर दैनिक खस्कँदै छ । अहिलेसम्म ४ वटा सोलो एल्बम र ३ दर्जन बढी सामूहिक एल्बम सार्वजनिक गरिसकेका राज सिग्देल आफू पूर्णत: व्यावसायिक गायक भएको गर्वका साथ सुनाउँछन् । 

नेपाली संगीतमा फेशन बढी छ : राज सिग्देल

हुनत्, ‘ऊ जितेर गई वा हारेर गई’नामक गजल नआएको भए उनको परिचय अहिले फरक पनि हुनसक्थ्यो । जब ५ वर्षअघि उक्त गजल सार्वजनिक गरे त्यसदेखि नेपाली सांगीतिक क्षेत्रबाट पछाडि फर्केर हेनुपरेको छैन । यसले उनलाई संगीत क्षेत्रमा हिंड्न प्रेरणा मात्र दिएन बाटो समेत प्रशस्त गरिदियो । ‘नेपाली संगीतको व्यावसायिकताको कुरा गर्नुहुन्छ भने अहिले करिब २० जना गायकहरु मात्र यसैबाट बाँचेका होलान्’ कार्यक्रमको सिलसिलामा अस्ट्रेलिया आइपुगेका गायक सिग्देलले कान्तिपुरसँग भने । उनी त विदेशमा रहेका नेपालीहरुले नेपाली कलाकार र संगीतलाई प्राण भरिदिएको दाबी समेत गर्छन् ।


नेपालको सांगीतिक क्षेत्रको अवस्था हेरेर उनी साह्रै आशावादी छैनन् । उनी नेपालको संगीतमा लहड र फेशनका रुपमा आउने गायकहरुको बाहुल्यता रहेको देख्छन् भने संगीतमा हुनुपर्ने व्यावसायिकता, लगन र स्तर भने दैनिकजसो कम हुँदै गएको अनुभव सुनाउँछन् । ‘अहिले १०० जना राम्रा गायकहरु निस्किए भने जम्मा १० जना मुस्किलले व्यावसायिक रुपमा बाँच्ने सम्भावना छ भने यसलाई के व्यावसायिकता भन्ने ?’उनको प्रश्न छ ।


हङकङ र जापानमा कार्यक्रम गरिसकेका उनलाई विदेशमा काम गर्न मजा लाग्ने मुख्य कुरा नै नेपालीहरुको कलाकार र संगीतप्रतिको माया हो रे ? ‘विदेशमा तपाईले नसोचेको माया पाउनुहुन्छ’ उनी अनुभव सुनाउँछन्, 'अर्कोतिर आफ्नै घरको सदस्य जस्तो दिइने मायाप्रेम र सत्कार समेत अविश्मरणीय हुने गरेको छ ।' तर, विदेशमा कार्यक्रम गर्दा अलि प्रोफेसनल गरिदिए हुन्थ्यो जस्तो पनि लाग्छ उनलाई ।


उनी गायक मात्र नभएर पछिल्लो समयमा अभिनयमा समेत लागिपरेका छन् । उनले ४ वटा भिडियोमा अभिनय गरिसकेका छन भने हालै ‘तस्बिर’नामक एकल एल्बम सार्वजनिक गरेका छन् । ‘म गायनसँगै अभिनयमा समेत परिचय बनाउन चाहन्छु’ उनी आफ्नो योजना सुनाउँछन् । साथै अस्ट्रेलियाबाट नेपाल फर्किएलगत्तै ‘च्यानाकुट्टी झ्याइँ’बोलको गीत समेत सार्वजनिक गर्ने तयारी रहेको उनले बताए ।

पहिलोपटक अस्ट्रेलिया आएका सिग्देल यसलगत्तै कोरिया जाने र केही महिना भित्रैमा युरोपका ८ वटा देश र युके सांगीतिक टुरको लागि जाने तयारीमा छन् ।

प्रकाशित : पुस १३, २०७४ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?