कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

याक्थुङ हिममा छायांकन भीड

धरान — लिम्बू समुदायको सांस्कृतिक चाड 'चासोक तङ्नाम'को अवसरमा धरानस्थित चुम्लुङ हिममा निर्मित परम्परागत याक्थुङ हिम (घर) मा लिम्बू गीतको सुटिङ गर्नेहरूको दुई दिनदेखि भीड हुन थालेको छ ।

हङकङदेखि लिम्बू पालाम र गीतको छायांकन गर्न स्पट खोजी गरिरहेका हेमराज अङछङबोले याक्थुङ हिममा छायांकन गर्न पाएकोमा खुसी व्यक्त गरे, भने, 'वास्तविक याक्थुङ घरको खोजी भइरहेकेा बेला चुम्लुङ हिममा मौका पाइयो ।' याक्थुङ हिममा प्रत्येक छायाकारले पालो-पालो गीतको छायांकन गरिरहेका छन् । चुम्लुङले प्रदर्शनीका लागि निर्माण गरेको आकर्षक याक्थुङ हिममा कुशल थुलङले गाएको गीतमा संजिता सुब्बा, रविन लिम्बू लगायत कलाकारले अभिनय गरिरहेका छन् । अम्बिका सम्बाहाम्फेको रचना तथा दिलु बनेम र रणहाङ थक्लेनको स्वर रहेको 'तक्लुङ र थक्पालुङ...' बोलको गीतहरूको छायंाकन पनि यसरी नै भइरहेको छ । लोकेन सावाको निर्देशनमा पालाममा आधारित दुई लिम्बू गीतको पनि छायांकन जारी छ ।
करिब १ लाख खर्च गरेर बनाएको घरमा लिम्बू जातिले प्रयोग गर्ने अधिकांश सामगी्र राखिएका छन् । खरले छाएको ढेडतले लिम्बूघरमा ढाका कपडा तयार गर्ने थाक्थाक्मादेखि कौशीमा फर्सी, कुभिण्डो, मकैको झुत्ता, च्याबुङ, ओखल, ढिकी जाँतो, भित्तामा कोरिएको फूलबुट्टा, सिलाम साक्मा, हातले बुनेका मफलर, झोला लगायत राखिएका छन् । चुम्लुङ हिममा पाँचदिने सांस्कृतिक उत्सव चासोक तङनाम पनि भइरहेकाले पूर्व तीनजुरे च्याब्रुङ समुह, छथरे समाज र चौबिसे समाज, फागो चोङबाङ समूह लगायत कलाकारको उपस्थिति भएकाले पनि गीत छायांकन गर्न सजिलो भएको निर्देशक सावाले बताए । नेपाली संगीतपछि पूर्वमा लिम्बू भाषाको गीत र संगीतले दोस्रो स्थान लिएको छ । पछिल्लो समय डिजिटल प्रविधि आएपछि लिम्बू गीत संगीत श्रव्यदृश्यमा बढी बन्न थालेको गायक कुशल थलङले बताए, भने, 'श्रोताको माग अनुसार नेपाली सँगै अन्य भाषामा पनि गीत गाउने र छायांकन गर्ने काम हुँदै छ ।'

प्रकाशित : पुस १५, २०६९ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?