कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँस्तोला सिकिस्त, थप उपचारका लागि दिल्ली

काँकडभिट्टा — मस्तिष्कघातबाट पीडित कांग्रेस नेता चक्रप्रसाद बाँस्तोलाको अवस्था झन् गम्भीर भएपछि थप उपचारका लागि सोमबार राति एयर एम्बुलेन्सबाट भारतको दिल्ली लगिएको छ ।

तीन दिनदेखि कोमामा रहेका उनको अवस्थामा सुधार नआएपछि राति ९ बजे बागडुग्रा विमानस्थलबाट दिल्लीको मेदान्त अस्पताल लगिएको बाँस्तोलाकी भान्जी सरिता प्रसाईंले जानकारी दिइन् । बाँस्तोलाका साथमा ज्वाइँ मणि चौलागाईं छन् । एयर एम्बुलेन्समा बिरामीसहित दुईजनाका लागि मात्रै यात्राको प्रावधान भएका कारण परिवारका अन्य सदस्य मंगलबार मात्रै त्यसतर्फ जाने जनाइएको छ । प्रसाईंका अनुसार बाँस्तोलालाई साँझ ६ बजे नै लैजाने तयारी भए पनि एयर एम्बुलेन्स आउन ढिलाइ भएपछि उडान समय सरेको थियो । 'करिब अढाइ घन्टा विमान कुरेर बस्नुपर्‍यो', प्रसाईंले भनिन्, 'त्यही कारण तीन घन्टा ढिलो उडान भएको हो ।' बाँस्तोलाको भारतको सिलिगुडीस्थित उत्तर बंगाल जुपिटर एमआरआई एन्ड डाइगोनोस्टिक सेन्टरमा उपचार भइरहेको थियो । उनी अझै बेहोस छन् । उनको स्वास्थ्य स्थितिमा अलिकता पनि सुधार नभएका कारण उपचारमा संलग्न डा. सिद्धिराज शर्माले नै थप उपचारका लागि दिल्ली लैजाने सल्लाह दिएका थिए । बाँस्तोलाको स्वास्थ्य अवस्था बुझ्न सोमबार कांग्रेस महामन्त्री कृष्ण सिटौला, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, मनमोहन भट्टराईलगायत नेता सिलिगुडीस्थित अस्पताल पुगेका थिए । शनिबार बिहान मोरङमा बोल्दाबोल्दै अचानक ढलेका उनलाई मस्तिष्कघात भएको थियो । ६ वर्षअघि पनि बाँस्तोलालाई पहिलोपटक मस्तिष्कघात भएको थियो ।
 

प्रकाशित : पुस १७, २०६९ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?