कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

योजना नबन्दै ट्यांकी जीर्ण

विकास निर्माण
खगेन्द्र अवस्थी

बैतडी — खानेपानी योजना निर्माण पुरा नहुदै लाखौं रुपैयाँ खर्चेर बनाएको ट्यांकी जीर्ण भएको छ ।

   
डिभिजन खानेपानी कार्यालयले झन्डै १ करोड ८२ लाखमा निर्माण गर्न लागेको सिद्धेश्वरका चारवटा खानेपानी आयोजना पूरा नहुँदा ट्यांकी जीर्ण बनेको हो । योजनाको ट्यांकी भने सुरुमै निर्माण गरी सकिएको थियो ।
 खोड्पे बजार क्षेत्रका लागि ५० लाख लगानीमा ३ वर्षअघि निर्माण सुरु गरेको खोड्पे खानेपानी योजनाको ट्यांकीमा पानी पुग्न नसक्दा ट्यांकीसमेत जीर्ण बन्दै गएको छ ।     
१ हजार २ सय मिटर तल खोड्पे खोलाको पानी पम्पिङ प्रणालीबाट तानेर बन्ने आयोजना बजेट अभाव र स्थानीयबीचको विवादले पूरा हुन नसकेको खानेपानी कार्यालयको दाबी छ । गत असारमा खानेपानी कार्यालयले पानी तान्ने मेसिन जडान गर्न खोजे पनि प्राविधिक त्रुटीका कारण पानी नआएको स्थानीयको आरोप छ । 'मेसिन कमजोर क्षमताको भएर पानी नै आएन' स्थानीय प्रेम भाटले भने, '१० दिनभित्र अर्को मेसिन जडान गर्छौं भनेको सात महिना बित्दासमेत फर्केका छैनन् ।'
निर्माण सुरु भएको ४ वर्ष बित्दासमेत खानेपानी योजना पूरा नहुँदा ३ जिल्ला प्रवेश मार्गको मुख्य नाका सिद्धेश्वर गाविसस्थित खोड्पे बजारमा खानेपानीको चर्को समस्या भएको छ । बझाङ, बैतडी र दार्चुलाका दैनिक सयौं गाडी र हजारौं यात्रु आवतजावत हुने मुख्य प्रवेशद्वारामा खानेपानी समस्याले स्थानीय व्यवसायी र सर्वसाधारण सास्ती खेप्दै आएका छन् । 'ट्यांकी बनाएको चार वर्षभन्दा बढी भइसक्यो ।' बजार समितिका सदस्य मोहनसिंह ऐरले भने, 'खानेपानी आउने आसमा वर्षौं बितिसक्यो, बनेका संरचना पनि जीर्ण भएका छन् ।'  
सरकारी बेवास्ताले लाखौंको आयोजना अधुरै रहेपछि स्थानीय चर्को मूल्य तिरेर गाडी र भरियाबाट पानी बोक्न बाध्य छन् । व्यवसायी र सर्वसाधारणले बजारबाट झन्डै दुई किलोमिटर टाढाको भट्टीखोलाबाट बोकेर ल्याएको पानी प्रतिलिटर तीन रुपैयाँका दरले पानी किन्ने गरेका छन् ।
खोड्पेका ६० होटल व्यवसायी र १ सय ५० भन्दा बढी घरधुरीको एकमात्र ढुंगेधारामा समेत वर्षेनी पानीको सहत घट्दै गएको छ । मुहान संरक्षणमा ध्यान नदिंदा पुराना ढुंगेधारामा पानीको सतह घटेको स्थानीय बताउँछन् । पानीको चर्को मूल्य तिरेर व्यवसाय सञ्चालनमा कठिनाइ भएको होटल व्यवसायी बताउँछन् । 'खानेपानीका लागि समेत लाइन बस्नुपर्छ' स्थानीय होटल व्यवसायी इन्द्रसिंह बोहराले भने, 'पानीकै समस्याले विस्थापित हुने अवस्था छ ।'      
पानी अभावमा यात्रुले पनि उत्तिकै सास्ती खेप्दै आएका छन् । पिउनसम्म पानी अभाव हुन थालेपछि होटल व्यवसायीले ग्राहक राख्न छाडेका छन् । पानी नहुँदा होटल सञ्चालकले शौचालय उपयोग गर्न नपाएको गुनासो गरेका छन् । ग्राहकले सडक छेउमा जथाभावी दिसापिसाब गर्दा बजार आसपासको क्षेत्र दुर्गन्धित बन्दै गएको स्थानीय बताउँछन् ।
स्थानीयबीच भएको विवादले योजना निर्माणमा ढिलाइ भएको खानेपानी कार्यालयको दाबी छ । उपभोक्ताबीच सहमति नबन्दा गत वर्षको पाँच लाख रुपैयाँ पि|mज गएको खानेपानी कार्यालयका इन्जिनियर अतुलेशकुमार कर्णले बताए ।
'बजेट अभाव त छ नै उपभोक्ताबीचमै विवाद हुने गरेको छ ।' कर्णले भने, 'यो वर्षभित्र काम सक्ने लक्ष्य लिएका छौं ।'

प्रकाशित : पुस १७, २०६९ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?