कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डकुमेन्ट्रीमा डोरबहादुर

कान्तिपुर संवाददाता

काठमाडौं — विसं २०५२ मा जुम्लाबाट बर्दिया हिँडेका मानवशास्त्री डोरबहादुर विष्ट त्यसपश्चात् हराए । उनी कहाँ गए, के भए अझै अत्तोपत्तो छैन । उनी हराउनुका अनेक कारण र तर्क सुन्नमा आएका छन् । केहीले उनलाई भारतमा प्रत्यक्ष भेटेको दाबीसमेत गर्दै आएका छन् ।

 डकुमेन्ट्रीमा डोरबहादुर

उनै विष्टमाथि बनाएको ‘म अलप हुन चाहन्छु’ डकुमेन्ट्रीमा निर्देशकद्वय सचिन घिमिरे र गौरव केसीले उनी आफ्नै मर्जीले अलप भएको तर्क दिएका छन् । सांस्कृतिक संस्थान (नाचघर) मा बिहीबार डकुमेन्ट्रीलाई प्रदर्शन गरियो । त्यसमा विष्टले परिवारलाई ‘आफ्नो मृत्युमा धार्मिक कर्मकाण्ड गर्न दिने वातावरण बनाउन दिन्नँ’ भनेका कुरा समेटिएका छन् ।
‘हामीकहाँ संन्यासी पाल्ने चलन थियो,’ विष्टका छोरा केशरले भनेका छन्, ‘संन्यासीझैं अलप हौँला भन्नुहुन्थ्यो । घरमा धेरै महत्त्वपूर्ण घटना भइसके तर उहाँ फर्किनुभएन ।’ विष्टको पारिवारिक र सामाजिक जीवनलाई प्रस्तुत गरेको भन्दै मानवशास्त्री सुरेश ढकालले निर्देशकद्वयलाई बधाइ दिए ।
विष्टलाई नेपाली मानवशास्त्रका पिता मानिन्छ । जुम्लावासी, डोरबहादुरका स्वदेशी/विदेशी मानवशास्त्री साथीभाइ र आफन्तका विचारहरू डकुमेन्ट्रीमा राखिएको छ । तिनले विष्टको व्यक्तिगत जीवन र मानवशास्त्रीय कामबारे बोलेका छन् ।
विश्व मानवशास्त्र दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रीय विभागले डकुमेन्ट्री प्रदर्शनी गरेको हो । यसअघि धरानमा आयोजित इन्टरनेसनल फिल्म फेस्टिभल अफ नेपालमा यसले सर्वोत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको थियो । लामो समयदेखि खोज–अनुसन्धानमा जुट्नुपरेकाले डकुमेन्ट्री अझै पूर्ण रूपमा तयार भइनसकेको निर्देशक घिमिरेले बताए । मानवशास्त्रका प्राध्यापक र विद्यार्थीहरू उपस्थित कार्यक्रममा विष्टकी नातिनी हिमाले डकुमेन्ट्री निष्पक्ष भएको प्रतिक्रिया दिइन् ।

प्रकाशित : फाल्गुन ६, २०७३ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?