कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समाज सेवामा सुन्दरी

मधु शाही

काठमाडौं — सेफले मोडल नीति शाहलाई परिकार बनाउने तरिका सिकाउँदै थिए । मोडलिङमा लामो अनुभव संगालेकी नीतिलाई भने यो काम नौलो लाग्दै थियो ।

समाज सेवामा सुन्दरी

‘गुड कजको लागि सिक्नैपर्‍यो,’ उनी भन्दै थिइन्, ‘मेरो सानो सहयोगले अरूलाई साथ मिल्छ भने आई एम रेडी टु डु इट ।’

केही दिनअघि नीति एसिड आक्रमणपीडित संगीता मगरको सहयोगार्थ दरबारमार्गस्थित एउटा रेस्टुरेन्टमा जापानिज परिकार ‘सुसी’ बनाउँदै थिइन् । उनीसँगै संगीताले पनि रमाइलो मान्दै साथ दिइरहेकी थिइन् । संगीतालाई आर्थिक सहयोग जुटाउन नीतिले यस्तो योजना बनाएकी थिइन् । उनले आफैंले बनाएको परिकार चखाएर उठेको करिब ३१ हजार रुपैयाँ संगीतालाई त्यहीँ हस्तान्तरण गरिन् । 

त्यस्तै, संगीतालाई स्नातकसम्म शैक्षिक सहयोग उपलब्ध गराउन उनले आफू पढिरहेको जेभियर एकेडेमीमा प्रक्रिया अघि बढाएको पनि बताइन् । 

पछिल्ला दिनहरूमा समाजमा सहयोगी भावना बढोत्तरी भइरहेका थुप्रै उदाहरण पाइन्छन् । हास्यकलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको जोडीले गरेको काम अग्रपंक्तिमा छँदै छ । यति बेला नायिका श्वेता खड्का पनि समाजसेवातिर अघि बढेकी छन् । उनका अनुसार दिवंगत पति एवं अभिनेता श्रीकृष्ण श्रेष्ठले ‘समाजमा सेवा गर्ने चाहना’ राखेका थिए । ‘त्यसैलाई पूरा गर्न लागेकी हुँ,’ उनले भनिन् । केही दिनअघि मात्रै उनले पत्रकार सम्मेलन गरेर ‘श्वेताश्री फाउन्डेसन’ नै घोषणा गरिन् । उनले श्रीकृष्णकै जन्मजिल्ला सिन्धुपाल्चोकबाट समाज सेवाको नमुना काम सुरु गर्दै छिन् । 

सिन्धुपाल्चोकको माझी गाउँ पुग्दा उनले त्यहाँ भूकम्पपछिको अस्थायी टहरामा बसेका बासिन्दाहरूको बिजोग देखिन् । घामपानीसँग जुध्दै दैनिकी गुर्जानुपरेको बाध्यतामाथि केही मल्हम लगाउने योजनासहित उनी काठमाडौं फर्किन् । यति बेला उनले आफू र पतिको नामबाट खुलेको फाउन्डेसनको तर्फबाट त्यही माझी बस्तीलाई व्यवस्थित गर्न पहिलो काम सुरु गरेकी छन् । फिल्मी दुनियाँकी नायिका हुनु र वास्तविक सामाजिक नायिका बन्नुमा धेरै फरक हुने श्वेताको अनुभव छ । ‘पर्दा बाहिरकी नायिका बन्ने कोसिस गर्दै छु,’ उनले भनिन्, ‘तर, फिल्ममा पनि उत्तिकै सक्रिय हुँदै छु ।’ चम्किलो संसारभन्दा बाहिर निस्किएर सहयोग गर्दा एक प्रकारको आनन्दको अनुभूति हुने उनले बताइन् । 

समाज सेवामा जुट्ने पंक्तिमा गायिका रेखा शाह पनि छन् । उनको काम गर्ने तरिका अलि बेग्लै छ । उनी भित्रभित्रै काम गर्न चाहन्छिन् । तीन वर्षअघि रेखा शाह फाउन्डेसन खोलेर शैक्षिक क्षेत्रबाट सहयोग थालेकी थिइन् उनले । उनको विचारमा छोरी घरकी शिक्षिका हुन् । छोरी पढाए सबै शिक्षित हुन्छन् भन्ने उनको मान्यता छ । सोहीअनुसार काठमाडौको कान्ति ईश्वरी हाई स्कुल र कन्या मन्दिर उच्च माविका २० विद्यार्थीलाई रेखाले फाउन्डेसनमार्फत सहयोग गर्दै आएकी छन् । ‘गीत गाएर उठेको केही रकम समाजमै खर्चिन चाहन्छु,’ उनले सुनाइन्, ‘यो वर्ष ६० विद्यार्थीलाई सघाउने योजना छ ।’

आफ्नै नाममा फाउन्डेसन बनाएर सेवामा लाग्ने पंक्तिमा नायिका रेखा थापा चार वर्षअघि नै उभिएकी थिइन् । उनी अहिले राउटे समुदायका बालबालिका पढाइरहेकी छन् । 

रेखा थापा फाउन्डेसनमार्फत उनले मोटिभेसन र काउन्सिलिङको काम पनि गर्दै आएकी छन् । ‘अबचाहिँ दृष्टिविहीनका लागि केही गर्ने मनसाय बनाएकी छु,’ उनले भनिन्, ‘सेवाभावनाका सुन्दर मनहरू बढ्दै गए समाज सुन्दर बन्न समय लाग्दैन ।’ 

प्रकाशित : चैत्र १, २०७३ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?