गौतमलाई फिल्मकर्मीको सहयोग

काठमाडौं — हालै भारतीय सीमा–सुरक्षा बल गोलीबाट कञ्चनपुरको आनन्दबजारमा मारिएका गोविन्द गौतमको परिवारलाई चलचित्र निर्माता संघ नेपालले सघाएको छ । संघका तर्फबाट २५ हजार ६ सय रुपैयाँ आकस्मिक सहयोग गरिएको अध्यक्ष नवल खड्काले जनाए ।

परिवारको हाल बुझ्न संघका तर्फबाट शनिबार महासचिव बिमल पौडेल, सचिव मनोज श्रेष्ठ, सदस्य वीरेन्द्र सिंह, फिल्मकर्मीहरू डा. अमित विश्वास, श्रीराम पुडासैनी, राजकुमार जोशीलगायत आनन्दबजार पुगेका थिए । 

‘आजसम्म सरकारी निकाय र उच्च स्तरीय नेताहरू कोही पनि नआएकोप्रति सहिद गौतमकी आमाले दु:ख व्यक्त गर्नुभयो,’ अध्यक्ष खड्काले भने, ‘छोराको सालिक बनाइदिनुपर्ने, गाउँको नाम गोविन्दनगर राख्नुपर्ने, सहिदकी श्रीमतीलाई जागिर दिनुपर्ने, बच्चाहरूलाई पढाइदिनुपर्नेजस्ता कार्यहरू राज्यले गरिदिए हुन्थ्यो भन्नुभयो ।’ परिवारका घर बच्चाहरूको शिक्षाको सवालमा राज्यले जिम्मा नलिए आफूहरूले सघाउने खड्काले बताए ।

नेपाली सीमामा भारतीय सुरक्षा बलले दिने पीडामाथि ‘दसगजा’ फिल्म बनाएका खड्काले यतिबेला राष्ट्रियताको सवालमा सबै जागरुक हुनुपर्ने र सिमानामा पर्खाल लगाउनुपर्ने संघको माग रहेको पनि बताए ।

 

प्रकाशित : चैत्र ६, २०७३ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?