कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वीरगन्जमा ‘सुन साइँली....’

शंकर आचार्य

पर्सा — चल्तीका गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटा सांगीतिक कोसेलीसहित वीरगन्जमा झुल्किए । औद्योगिक समूह निम्बसले यहाँस्थित भिष्वा होटलमा आयोजना गरेको नयाँ वर्षको शुभकामना कार्यक्रममा उनी प्रकट भएपछि सुरुमा सहभागी चकित बने । उनी आउने कसैलाई जानकारी नभएकाले पनि दर्शक उनलाई प्रत्यक्ष हेर्न र सुन्न उत्साहित थिए ।

त्यसो त करिब दुई महिनाअघि पनि उनी वीरगन्ज आएका थिए । त्यति बेला उनी ‘नेपाल आइडल’ को निर्णायकको रूपमा प्रतियोगी छनोट गर्न मात्र आएका थिए । वीरगन्जमा उनको पहिलो सांगीतिक प्रस्तुति भने सोमबार साँझ नै भयो । पछिल्लो समय सफलताको शिखर चुमिरहेका बाँस्कोटाको अनपेक्षित आगमन र दमदार प्रस्तुतिले समारोहमा सहभागीहरूलाई निक्कै ऊर्जा दिएको थियो । दुई चरणमा आफ्नो प्रस्तुति दिएका बाँस्कोटाले आफ्ना अधिकांश चर्चित गीतहरू सुनाएका थिए । सुरुमा ‘हो सररर, हो सररर...’ गाएका उनले त्यसपछि ‘सुन साइँली ....’ गाएका थिए ।

कार्यक्रममा चितवनबाट आएको नृत्य समूहले नेपाली, भोजपुरी र हिन्दी गीतमा नृत्य गरेर नृत्यको स्वाद पस्किएका थिए । दोस्रो पटक स्टेजनमा उक्लेका बाँस्कोटाले ‘लप्पन छप्पन जान्दिनँ म...’, ‘नाच न मैया नाच न...’ आदि गाएका थिए । आफ्नो सर्वाधिक चर्चित गीत ‘पारी त्यो डाँडामा हेर घाम लाग्यो...’ बाँस्कोटाले गाएपछि दर्शक उफ्रिन र कुम हल्लाउन बाध्य भएका थिए ।
सोमबार राति अबेरसम्म चलेको कार्यक्रममा कालीले एकपछि अर्को गरी आफ्ना चर्चित र कर्णप्रिय गीतहरू प्रस्तुत गरी रहे । अन्त्यतिर उनले ‘लैजाऊ घुमाउन मलाई ठमेल बजार...’, ‘निरा जैले रिसाउने...’ आदि गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए ।

प्रकाशित : वैशाख ६, २०७४ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?