कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खरेलले ल्याए ‘लै बरी लै’

काठमाडौं — नेपाली संस्कृति, परम्परा, रीतिरिवाज, बाजा लोप हुँदै गएकामा वरिष्ठ गीतकार/फिल्मकर्मी यादव खरेल चिन्तित थिए । यही चिन्ताकै कारण उनले केही गीत पनि लेखे । २०५८ मै ती गीत समेटेर एल्बम निकाल्न म्युजिक नेपालसँग करारसमेत भयो । तर नेपाली सांगीतिक क्षेत्रमा भएको डिजिटलाइज्डले ल्याएको उतारचढावको मारमा खरेलका गीतहरू परे ।

खरेलले ल्याए ‘लै बरी लै’

झन्डै डेढ दशकपछि खरेलका तिनै गीतहरू ‘लै बरि लै’ एल्बममा समेटिएर आएका छन् । उनकै एकल शब्द रहेको एल्बमको राजधानीमा बुधबार संस्कृतिविद् सत्यमोहन जोशीले लोकार्पण गरे । 

एल्बममा समेटिएका लोकगीतहरूबाट टिपिकल नेपाली समाजको जीवनशैली, जीवनदर्शन, परम्पराबारे जानकारी पाइने जोशीले बताए । ‘समाजमा हुने विवाह, तीज, दसैं, तिहारलगायतका चाडपर्वका साथै विभिन्न बाजागाजाको जानकारी यसमा पाइन्छ,’ उनले भने, ‘एल्बमबाट नेपाली महिलाको त्याग, संकल्प, स्वतन्त्रता पनि उजागर भएको छ ।’ पुराना संस्कृति र संगीतले नै समाजमा सहअस्तित्व र सामञ्जस्य कायम गर्न सक्ने भएकोले लोक संस्कृतिहरूको जर्गेना गर्न उनले सुझाए ।

लोप हुँदै गएका नेपाली लोकसंस्कृतिहरूको संरक्षण होस् भनेर गीतमा उतारेको खरेलले सुनाए । उनले भने, ‘समाजमा भएको परिवर्तनले २० र ३० को दशकमा हामीले देखेको सांस्कृतिक वातावरण अहिलेकाले देख्न पाएका छैनन् । अहिले श्रव्यदृश्यका माध्यमबाट त्यो संरक्षण गर्न सहज भएको छ ।’ कार्यक्रममा म्युजिक नेपालका सञ्चालक एवं अध्यक्ष सन्तोष शर्मा र गीतकार नगेन्द्र थापाले पनि बोलेका थिए । 

एल्बममा ‘वैशाख मास लगन जुर्‍यो...’, ‘दिन बित्यो जसोतसो...’, ‘अच्छ्युँ खायौँ बच्छ्यु खायौँ...’, ‘गाई त्योहारो भैलो...’ र ‘वर्ष र दिनमा नि तीज है आयो...’ गरी छ गीत समावेश छन् । शिलाबहादुर मोक्तान, शम्भुजित बाँस्कोटा, मदन दिपबिम र गणेश परियारले संगीतबद्ध गरेका ती गीतहरू तुलसी पराजुली, धर्मेन्द्र सेवान, जुजुकाजी रञ्जित, कर्म ग्याल्छेन, भानु ओली, माण्डवी त्रिपाठी, अञ्जना गुरुङ, रिमा गुरुङ होडा, इन्दिरा गुरुङ, लोचन भट्टराई, नूतन प्रधान, जुना प्रसाईं, आभा मुकारुङले गाएका छन् । 

प्रकाशित : वैशाख ७, २०७४ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?