के छ ब्यालेट बक्सभित्र ?

लेखक–कलाकारको व्यंग्यवाण
कान्तिपुर संवाददाता

काठमाडौं — स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । सामाजिक सञ्जालमा धेरैले यसको ढिलासुस्तीमाथि प्रश्न उठाइरहेका छन् ।


हास्य कलाकार जितु नेपालले मंगलबार ‘पहिलेपहिले भोट जान महिनौं लाग्थ्यो रे, अहिले भोट गन्न महिनौं लाग्ने भयो’ भन्दै व्यंग्य कसे ।
अभिनेत्री ऋचा शर्माले ‘दस घण्टामा २१० भोट गनेछन्, २१ भोटबराबर १ घण्टा, २ लाख भोटबराबर ९ हजार ५ सय, २३ घण्टाबराबर ३ सय, ९६ दिनबराबर १ वर्ष ३१ दिन’ लेख्दै काठमाडौं महानगरपालिकाको मतगणना सुस्ततामाथि झटारो हानिन् ।
धेरैले ढिलाइमाथि नै प्रहार गरिरहेको बेला कवि विप्लव ढकाल फरक देखिए । उनले चुनावी माहोल छोपेर ‘ब्यालेट बक्सभित्र के छ ?’ भन्दै कविता लेखे– 
ब्यालेट बक्सभित्र 
जे पनि हुन सक्छ ! 
कुनै डरलाग्दो 
अजिंगर हुन सक्छ ! 
जसले डस्न सक्छ 
राष्ट्रको भविष्य ! 
कुनै खतरनाक 
नरसिंह हुन सक्छ !
जसले भत्काउन सक्छ 
अहंकारको छाती ! 

मुलुकको भविष्य, सपना र परिकल्पना कतातिर जान्छ भन्ने अब ब्यालेट बक्सले नै निर्धारण गर्छ भन्ने विचारलाई सशक्त बनाउँदै लेखिएको यो कवितालाई दर्जनभन्दा बढीले सेयर गरेका छन् भने थुप्रैले कमेन्ट ।
कविताको सुरुआतमा ढकालले अहिले पार्टीका कार्यकर्ता र उम्मेदवारहरू कस्तो मनोदशाबाट गुज्रिरहेका छन् भन्ने सटिक चित्रण गरेका छन् । 
शिशिरको बूढो रूखझैं 
लगलग काँपिरहेका छन्– 
उम्मेदवारहरू ! 
पार्टीका कार्यकर्ताहरू 
समर्थक र मतदाताहरू ? 
ब्यालेक्ट बक्सभित्र के छ ?
 

लोकतन्त्रमा निर्वाचन एउटा प्रक्रिया हो । जीवनमा जस्तै राजनीतिमा पनि हार्ने र जित्ने प्रक्रिया चलिहरन्छ । जित्नेहरू खुसीले गदगद हुँदै फूलमाला र अबिर लाएका तस्बिरहरू सामाजिक सञ्जालमा अपलोड गरिरहेका छन् । हार्ने उम्मेदवार मात्रै हैन, तिनका शुभचिन्तकहरूसमेत सामाजिक सञ्जालबाट बेखबर बन्दै छन् ।
कवि उषा शेरचनले दिनभरिको भोटिङ नतिजा हेर्दै हार्ने र जित्नेहरूको मनोदशामाथि मुक्तक लेखिन् र फेसबुकमा राखिन्– 
मैले जितेँ, तैंले हारिस् भनेर घमन्ड गर्नुको अर्थ के ?
धन–मान–प्रतिष्ठा कमाउँदैमा घमन्ड गर्नुको अर्थ के ?
जब जीवनका रंगमञ्चमा
अन्तिम पर्दा खस्छ तब 
सकिन्छ यावत् कुरा, अनि
घमन्ड गर्नुको अर्थ के ?

कवि स्वप्निल स्मृतिदेखि बाबु त्रिपाठीसम्मले फेसबुकलाई निर्वाचन र त्यसको परिणाममाथि काव्यिक बहस गर्ने थलो बनाएका छन् ।
कवि स्मृतिले भने अलि रमाइलो पाराले एमाले, कांग्रेस र माओवादी पार्टीलाई मतगणना प्रक्रियासँग जोडेर व्यंग्य गरेका छन्, ‘चुनावी छटपटी’ शीर्षकमा । संवाद आधारित उनको रचनालाई पनि रमाइलो मान्दै धेरैले कमेन्ट गरेका छन् ।
त्रिपाठीले ‘भोट’ शीर्षक कवितात्मक पंक्ति फेसबुकमा अपलोड गरेका छन् । उनले स्वार्थका लागि आश्वासनको जस्तोसुकै खेती गर्ने राजनीतिक प्रवृत्तिमाथि झटारो हानेका छन्– 
ऊ यति बेला 
भोट माग्न आर्यघाट आइपुगेको छ
र, चितामा सुतिरहेको मुर्दालाई भनिरहेछ
नमस्कार हजुर ! 
म सित्तैँमा दाउरा ल्याइदिन्छु
के म हजुरको एक भोट पाउन सक्छु ?

प्राय: पेचिला रचना कोर्न मन पराउने त्रिपाठीले भोट माग्ने नेताले कुनै कसर नछोडेको यथार्थलाई व्यंग्यमार्फत घोचपेच गरेका छन् ।

प्रकाशित : जेष्ठ ३, २०७४ १२:०५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

फेरिँदै मिथिला कला

मधु शाही

काठमाडौं — सुनैना ठाकुरलाई घुम्टोभित्र लुकेर भात पकाएका क्षण अचेल सपनाझंै लाग्छन् । कुनै बेला आफूले देखेका र भोगेका तिनै परम्परामाथि उनी मिथिला चित्र कोर्ने गर्थिन् । उनका चित्र हेरेर ‘आहा’ भन्नेहरू पनि उत्तिकै हुन्थे ।


अचेल उनको क्यानभासले रंग फेर्दै छ । चुल्होमा पिरोलिँदै गरेकी महिलाले आमसभामा माइक समाएर भाषण ठोकेको दृश्य उनका चित्रकलाका आकृतिहरू बन्ने गरेका छन् । ‘यो सबै समयको माग हो,’ उनी भन्छिन्, ‘समाज परिवर्तन हुँदै छ भने कलामा पुरानैपन किन जारी राख्ने ?’

त्यसो त मिथिला कला परम्परा र मौलिकताको उपज मानिन्छ । मिथिला क्षेत्रमा खास गरी महिलाले आफ्ना कथा, व्यथा, धर्म र संस्कृतिको नालीबेली चित्रमार्फत देखाउने क्रममा यसको परम्परा सुरु भयो । घरका भित्ता र आँगनमा उत्सवको रूपमा मिथिला चित्र कोर्ने गरिन्थ्यो । झन्डै एक दशकयता भने मिथिला चित्रकलामा आमुल परिवर्तन देखा पर्न थालेको चित्रकार एससी सुमन बताउँछन् । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसमेत रहेका सुमनसँग झन्डै दुई दशक मिथिला चित्रकलाको अनुभव छ । उनले पनि धेरैपछि मिथिलामा आधुनिकपन ल्याउनुपर्छ भन्ने मान्यता राखेका हुन् ।

समाज आधुनिकतातिर लम्किँदै छ र परम्परागत धारको मर्म मर्न नदिएर प्रस्तुतिमा केही नौलोपन ल्याउनुपर्ने सुमनको ठम्याइ छ । ‘विषयवस्तुको उठानमा मिथिला कला फेरिँदै छ,’ उनी भन्छन्, ‘सेल्फ क्रिएसन देखाउन चेन्ज ल्याउनै पर्छ ।’ प्रतिष्ठानका लोक कला विभाग प्रमुखसमेत रहेका सुमनले अहिलेसम्म ५० हजार रुपैयाँदेखि अढाइ लाख रुपैयाँसम्मका मिथिला चित्रकला बिक्री गरेका छन् । विचार, प्रस्तुति र सिर्जना देखाउन सक्नेले मिथिला कलामा मनग्य आय आर्जन गर्न सकिने उनको दाबी छ ।

सप्तरीकी सुनैना भने कलामा महिला सशक्तीकरणका विषयमा बढी जोड दिने गर्छिन् । उनले यसो गरिरहँदा पहिले र अहिलेका महिलाको अवस्था चित्रमा झल्किने बताइन् । अबको अवस्था घुम्टोमा हराउने छैन । त्यसैले उनले समाज बुझेपछि कलाको विषय छनोटमा रूपान्तरण ल्याउनुपरेको बताउँछिन् । मिथिला कलामा महिला सशक्तीकरणका आकृति कोरेको भएर उनलाई अन्तर्राष्ट्रिय स्तरबाट अमेरिकामा ‘कमन ग्राउन्ड अवार्ड द फेस अफ पिस २०१६’ ले पुरस्कृत पनि गरिएको थियो ।

मिथिला कलाको महत्त्व फराकिलो बनाउन र अन्तर्राष्ट्रिय आँखामा पुर्‍याउन आधुनिकीकरण गर्नैपर्ने मिथिला चित्रकारहरू बताउँछन् । तर, उनीहरू परिवर्तनको नाममा मिथिलाको मूलधार भने मार्न नहुने पक्षमा देखिन्छन् । चित्रकार श्यामसुन्दर यादवको काम बेग्लै छ । उनी हरेक पटक मिथिला कलामा नयाँ अभ्यास गर्ने प्रयास गर्छन् । कार्टुन शैलीको आकारमा उनले मिथिला आकृति बढी कोर्छन् ।

अहिले भने उनी ब्ल्याक एन्ड हाइट रंगमा मिथिला कलाको स्वरूप देखाउने जर्मको गर्दै छन् । चम्किला र रंगीचंगी शैलीमा मिथिला कला कोर्ने परम्पराभन्दा भिन्न लाग्छ उनको कलाकृति । ‘ब्ल्याक एन्ड हाइटमा मिथिला चित्र अझै सुन्दर देखिने’ श्यामको धारणा छ ।
अजितकुमार साहले मिथिला कलाको माध्यममै आधुनिक शैली भित्र्याएका छन् । उनी प्राय: जापानबाट ल्याइएको कालो पृष्ठभूमि भएको कागजमा मिथिला कला कोर्ने गर्छन् । विषयवस्तुको नजरमा पनि उनी अरूभन्दा भिन्न देखिन्छन् । घर, समाज र संस्कृतिका कुराभन्दा पनि जीवन दर्शनसँग सम्बन्धित गहकिला विचार उनले मिथिला शैलीकै चित्रमार्फत प्रस्तुत गर्दै आएका छन् ।

मिथकमा मात्रै मिथिला कला केन्द्रित हुन्छ भन्ने परम्परागत धारणालाई अजितका चित्रले फेरिदएको छ । उनी यिनै रूपान्तरित कला प्रदर्शन गर्ने क्रममा थुप्रै देश घुमिसकेका पनि छन् ।

समयसापेक्ष कलाको शैली बदल्नुपर्छ भन्ने मान्यतामा चित्रकार पुनम दास पनि लागिपरेकी छन् । ‘ग्राहकले नयाँ स्वाद चाहन्छन्,’ उनी भन्छिन्, ‘कला र कलाकार बाँचिरहन रूपान्तरण आवश्यक छ ।’ मिथिला कलाको स्वरूप बदल्न थालेपछि चित्र पनि महँगोमा बिक्री हुन थालेको उनको अनुभव छ ।

‘बजारमा ५ सयको चित्र पनि पाइन्छ,’ उनी भन्छिन्, ‘मचाहिँ कामअनुसारको दाम लिन्छु । मिथिला कलाबाटै जीवन धानेकी छु ।’

प्रकाशित : जेष्ठ ३, २०७४ १२:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT