कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लोकप्रिय बन्दै युटयुब च्यानल

कुम्भराज राई

ओखलढुंगा — ‘रेडियो अडियो’ ले श्रोताहरूका माझमा लामो समयदेखि हास्य विधामार्फत मनोरञ्जन दिइरहेको थियो । इन्टरनेटको पहुँच बढदै जाँदा रेडियोकै केही कार्यक्रम भिडियो खिचेर युटयुबमा अपलोड गरियो । त्यस्ता भिडियो लोकप्रिय हुँदै गए ।

लोकप्रिय बन्दै युटयुब च्यानल

‘खासमा हामीले झुक्किएर यो काम सुरु गर्‍यौँ,’ रेडियोका प्रबन्ध निर्देशक दीपेन्द्र खनियाँले भन्छन्, ‘भिडियो अत्यन्तै मन पराउन थालिएपछि हामीले युटयुब च्यानलै चलाएको भने एक वर्ष मात्रै भयो ।’ अहिले ‘फर सी नेटवर्क, हेर्नकै लागि’ नामबाट उक्त च्यानलमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हेर्न सकिन्छ ।

अर्जुन केआर हाल अमेरिकामा छन् । उनले तीन वर्षअघि सुरुमा ‘कमेडी बेस’ को कार्यक्रम अपलोड गरेर ‘मज्जाको टीभी’ सुरु गरेका थिए । तर हाल आएर कलाकारहरूको मनोरञ्जनात्मक अन्तर्वार्ताका लागि यो कार्यक्रम लोकप्रिय भयो । हाल सात जनाको टिम ‘मज्जाको टीभी’ मा आबद्ध छ ।

‘अन्तर्वार्ता भन्नेबित्तिकै औपचारिक लिनुपर्छ भन्ने चलन पहिले थियो,’ मज्जाको टीभीका प्रस्तोता उत्सव रसाइली भन्छन्, ‘तर हामीले त्यो ट्रेन्डको अन्त्य गरेका छौँ । हाँसेर, खुलेर, रमाइलोसँग आफूले चिनेजानेका कलाकारहरूसँग मज्जाले गफ गरेको भिडियो युटयुबमा लोकप्रिय भएको छ ।’

त्यसै गरी, एउटै च्यानलमार्फत ‘भेराइटी’ मनोरञ्जन पस्किरहेको छ, ‘एनके (नेपालकला) टीभी’ ले । दिमाग खराब, टाकेन्द्र निवास, कमेडी होस्टल जस्ता कार्यक्रम लोकप्रिय छन् । युटयुबमै हिट भएपछि ‘कमेडी होस्टल’ नेपाल टेलिभिजनमा समेत प्रसारण हुन थालेको छ । चार वर्षअघि सुरु भएको एनके टीभीमा हाल १० जना आबद्ध छन् ।

‘सुरुमा खाडी मुलुकमा बस्ने नेपालीलाई मनोरञ्जन दिने उद्देश्यले यो च्यानल सुरु भएको थियो ।’ टाकेन्द्र निवास कार्यक्रमका संयोजक घनश्याम गौतम सुनाउँछन्, ‘अहिले आएर यसले नेपालमै पनि लोकप्रियता पाएको छ ।’

यी केही लोकप्रिय युटयुब च्यानल मात्र हुन् । नेपाली मनोरञ्जनको क्षेत्रमा प्रविधिको विकाससँगै अहिले आएर युटयुब च्यानलको प्रयोग बढेको छ । क्यानाडानेपाल डटनेट, ओएसनेपाल, विशाल चौतारी डटकम जस्ता दर्जनौँ युटयुब च्यानल नितान्त मनोरञ्जन लागिपरेका छन् । अब नयाँ भिडियो हेर्नका लागि टेलिभिजनै कुर्नुपर्ने चलनको अन्त्य भएको छ ।

कसरी चलेका छन् युटयुब च्यानल ?
युटयुबमा नेपालीहरूले चलाइरहेका च्यानलहरू अहिले एक हिसाबले व्यावसायिक भइसकेका छन् । आधिकारिक रूपमा गुगलमा च्यानल दर्ता भइसकेपछि भ्युअर्स (दर्शक) संख्याको आधारमा पैसा पाइन्छ । ‘हामीले महिनामा ४(५ लाख रुपैयाँ पैसा कमाइरहेका छौँ,’ एनके टीभीका घनश्याम गौतम भन्छन्, ‘अहिले राम्रो मिहिनेत गर्न सके आम्दानी गर्न गाह्रो छैन ।’ एनके टीभी ४० लाखभन्दा बढी लगानी गरेर छिट्टै ठूलो स्टुडियो निर्माण गर्ने तयारीमा छ ।

टीभी र फिल्मका लागि आवश्यक सबै किसिमका काम गर्न सकिने स्टुडियो निर्माण गर्ने आँट बढेको गौतम बताउँछन् । सुरुमा ४(५ लाखबाट सुरु गरेको एनके टीभीको ‘लगानी हाल २५ लाख नाघिसकेको छ’ ।

मज्जाको टीभीको आम्दानी पनि सन्तोषजनक नै भएको प्रस्तोता उत्सव रसाइली बताउँछन् । उनका अनुसार यही जेठभित्रै मज्जाको टीभीले राम्रै लगानीमा ‘रमाइलो छ’ कार्यक्रम निर्माण गर्न लागेको छ । उक्त कार्यक्रम विदेशी रियालिटी सोजस्तै हुने उत्सव दाबी गर्छन् । ‘नक्कलै गर्न लागेका चाहिँ होइनौँ,’ उत्सव भन्छन् ।

युटयुबमा ‘कपीराइट’ को नियम कडा भएकाले आम्दानीको लागि राम्रो भएको फर सी नेटवर्कका सञ्चालक दीपेन्द्र खनियाँ बताउँछन् । उनीहरूको च्यानलमा अभिनेत्री गौरी मल्लले एउटा गीत गुनगुनाएको कार्यक्रममा समेत कपीराइट लाग्यो । म्युजिक नेपालले कपी राइट लगाएपछि त्यसबापत पाइने सबै पैसा उनीहरूलाई दिने सर्तमा प्रतिबन्ध फुकुवा भयो । यसरी हेर्ने हो भने युटयुब च्यानलको गुणस्तर वृद्धि गरी लोकप्रिय बनाउन सकेमा व्यावसायिक हिसाबले पनि सन्तोषजनक हुनेमा सबै ढुक्क छन् । नेपाली फिल्म, एल्बम, पुस्तक प्रमोसनको लागि समेत यस्तो च्यानलको प्रयोग बढेको छ । रिलिज हुनुअघि ‘ट्रेलर’ मात्र सार्वजनिक गर्ने फिल्मका निर्माता, निर्देशक र कलाकारसमेत अहिले युटयुब च्यानलमार्फत प्रचार गर्न लालायित हुन थालेका छन् ।

प्रकाशित : जेष्ठ ४, २०७४ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?