कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदर्शनी तयारीमा तारेभीर

प्रदीप मेन्याङबो

धरान — रंगमञ्च र फिल्ममा साढे तीन दशक अरूको निर्देशनमा अभिनय गर्दै आएका कलाकार प्रेम सुब्बा आफ्नो पहिलो डेब्यु निर्देशन रहेको नारीप्रधान एक्सन फिल्म ‘तारेभीर’ का लागि मुलुकभरका हल ‘बुक’ गर्न व्यस्त छन् ।

प्रदर्शनी तयारीमा तारेभीर

सार्वजनिक प्रदर्शनका लागि फागुन २७ मा रिलिज गर्ने तयारी भए पनि एकैपटक धेरै नेपाली फिल्म प्रदर्शनी हुने भएपछि समय सारेर जेठ १९ तोकिएको थियो । निर्देशक सुब्बाले भने, ‘तर सोही समयमा रातो घर, जालो, जोनी : द जेन्टलमेन र लालपुर्जा एकसाथ प्रदर्शनीमा आउने भएपछि फेरि प्रदर्शन समय सारेर असार २ गते फिक्स गर्न बाध्य भएँ ।’

रिलिज हुने फिल्म धेरै, सिनेमा हल थोरै भएपछि एकैसाथ जुध्दा लगानी पनि डुब्ने अवस्था आउँछ भन्ने जान्दाजान्दै साथीहरूले बुझ्न नसकेको ठानेर आफूले प्रदर्शनी मिति सारेको निर्देशक सुब्बाले बताए । तीन/तीनपटक फिल्म प्रदर्शनीको मिति ताकेर पनि समय सार्दासार्दा हैरान भएका उनले भने, ‘असार दुई गतेका लागि नेपाली फिल्म इन्डस्ट्रिजका फिल्म मेकर, वितरक, हल मालिक सबैसँग फिक्स गरिसकेकाले अबचाहिँ जुनसुकै फिल्म उक्त दिन रिलिज भए पनि नसार्ने अवस्थामा पुगेको छु ।’

उक्त साता कुनै पनि नेपाली फिल्म प्रदर्शनीमा छैनन् । सलमान खानको हिन्दी फिल्म टयुबलाइट इदको बेला मात्र प्रदर्शन हुने भएकाले तारेभीर टिम ढुक्क भएको उनले बताए । वास्तविक कथामा आधारित नारी एक्सनप्रधान फिल्म तारेभीरमा दुई छोरी मात्र भएको परिवारले भोग्नुपरेको सामाजिक कथालाई उधिन्ने प्रयास गरिएको छ । फिल्म नायिकाप्रधान भएकाले कलाकारहरू कथाभित्रका दिदीबहिनी विष्णु चेम्जोङ र रेखा फागोको वरिपरि घुम्छ ।

लिम्बू भाषा र संस्कृतिमा आधारित चेसुङ (कोसेली) र लाजेरेन थोक्ला (भूमिको चिनो), नेपाली भाषाका निसानीमा देखिएकी नेपाल स्टार गायिका विष्णु चेम्जोङलाई तारेभीरमा भने दर्शकले एक्सन ओरिन्टेड प्रहरी निरीक्षकको अलग भूमिका देख्नेछन् । मिस लिम्बू सौन्दर्य प्रतियोगितामा २०१२ मा बेस्ट स्किन टाइटल जितेर म्युजिक भिडियो र अन्य ब्युटी प्याजेन्टमा अनुभव लिएकी रेखा फागोले तारेभीरबाट डेब्यु गरेकी छन् । फिल्ममा उनको भूमिका एक्सनप्रधान, चञ्चले कलेज गर्लको रूपमा रहेको छ ।

फिल्म नारी एक्सनप्रधान भएकाले उनले आफुले फिल्मकै लागि डेढ वर्ष मार्सल आर्ट, अभिनय र नृत्यको पनि प्रशिक्षण लिएको उल्लेख गर्दै उनले भनिन्, ‘धरान, दमक र इलाममा भएका च्यारिटी प्रदर्शनीमा दर्शकहरूले फिल्मलाई रुचाएको प्रतिक्रिया पाएअनुसार आफ्नो मिहिनेत खेर नगएको मैले बुझेको छु ।’

दुई साताअघि मात्र राजधानीमा फिल्मको ट्रेलरसँगै फिल्ममा समावेश तीन गीत पनि प्रदर्शन गरिएको थियो । नवीन कार्की, रमेश सिंह, प्रेम सुब्बा, मञ्जु श्रेष्ठलगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ । डीके देवानको ब्यानरमा निर्मित ‘तारेभीर’ युवराज राईले खिचेका हुन् । जनक गुरुङको द्वन्द्व निर्देशन रहेको फिल्मको पटकथा कृष्ण आचार्य र प्रेम सुब्बाले लेखेका हुन् । प्रकाश गुरुङ, सनुप पौडेल र ब्रविन शेर्माको संगीत रहेको फिल्म देशभरका ६० भन्दा बढी हलमा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

प्रकाशित : जेष्ठ २४, २०७४ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?