कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एउटै हतकडीमा पल–पूजा

काठमाडौं — प्राय: प्रेमले युद्ध निम्त्याएको पाइन्छ । त्यसैगरी लडाइँ, झैझगडाले प्रेम निम्त्याउन सक्ला कि नसक्ला ? अन्यत्र नसके पनि फिल्ममा भने सक्ने सम्भावना रहन्छ । झन्डै यस्तै स्थिति आएको छ, फिल्म ‘म यस्तो गीत गाउँछु’ मा पनि ।

एउटै हतकडीमा पल–पूजा

सुदर्शन थापा निर्देशित उक्त फिल्मलाई म्युजिकल लभस्टोरी जानरामा निर्माण गरिएको छ भने प्रेमिल जोडीको रूपमा पल शाह र पूजा शर्मालाई दर्शकले देख्न पाउनेछन् । अहिले नै भने उक्त जोडी केही भिन्न शैलीमा देखिएको छ । एउटै हतकडीमा पल र पूजा बाँधिएका छन् । फिल्म युनिटले उपलब्ध गराएको फिल्मकै एक दृश्यको उक्त तस्बिरमा रिसाहा अनुहारमा देखिएका पलको हतकडीमा थकित पूजा लतारिँदै हिँडेको झैं लाग्छिन् । त्यसो त फिल्मको ट्रेलरमा पनि उक्त दृश्यको छोटो अंशले स्थान पाएको छ ।

‘केटाको चरित्रअनुसार उसले गर्दै जाने कर्मको भोगाइको प्रतिफल हतकडी लगाउनुपरेको हो,’ निर्देशक थापाले उक्त दृश्य फिल्मको रियल टाइममै आउने लामो समय घट्ने दृश्य रहेको उल्लेख गरे । त्यसो भए एउटै हतकडीमा पूजा कसरी गाँसिन पुगिन् ? फेरि थापा जवाफमा बोले, ‘त्यस्तो अवस्थामा आउनु केटीको विवशता हो । एकै दिन केही समयको फरकमा दुई जनालाई एउटै प्रहरीले समातेको कारण एउटै हतकडीले काम चलाएको हो ।’ फिल्मको पटकथामा समेत दिनेश न्यौपानेसँग सहकार्य गरेका निर्देशकले यसपटक टर्न एन्ड टवस्ट प्रशस्तै रहेकोले स्क्रिनप्लेले दर्शकलाई फिल्ममा अझै के होला भन्ने रोमाञ्चकता दिने जिकिर गरे । भने, ‘यो हतकडीको प्लट पनि फिल्ममा महत्वपूर्ण रूपमा रहेको छ । यसले काहनी मात्रै अघि बढाउने नभई दुई पात्रबीच लभस्टोरी मेकिङमा ठूलो भूमिका खेल्नेछ ।’ फिल्मको पूर्वाद्र्धमै रहेको उक्त दृश्यबारेमा निर्देशक केही खुलिदिए ।

असार ३० को रिलिज पछ्याएर पोस्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘म यस्तो गीत गाउँछु’ का गीतहरू यति बेला चल्तीमा रहेका छन् । निर्माणसमेत सुदर्शनकै रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत, प्रितम पाण्डेको सम्पादन रहेको छ । सरोज खनाल, रूपा राना, राजाराम पौडेल, मोहन निरौला, नवीन मानन्धर, विक्रम सेन, अर्जुन गुरुङलगायतको समेत फिल्ममा अभिनय रहेको छ ।

थापाले यति बेला पोस्ट प्रोडक्सनको काम सक्नेबित्तिकै प्रचारप्रसारमा जोड दिने बताउँदै थपे, ‘अहिलेसम्म विदेश प्रदर्शनका लागि कुनै देशमा सम्झौता गरिएको छैन । अब त्यताको मार्केटिङका लागि पनि ध्यान केन्द्रित गर्दै छौं ।’

प्रकाशित : असार १४, २०७४ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?