‘नीरफूल’ ल्याउँदै फूलमान

कान्तिपुर संवाददाता

काठमाडौं — संचारकर्मी, कवि एवं कथाकार फूलमान वलले फिल्म निर्देशनमा हात हालेका छन् । उनी निर्देशित फिल्म ‘नीरफूल’ यतिबेला धमाधम छायांकन भइरहेको छ । फिल्म युनिटले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर ‘नीरफूल’को ७० प्रतिसत छायांकन पुरा भएको जनायो ।

भुकम्पले छिन्नभिन्न परिवारले पुर्नमिलनको लागि गर्ने संघर्षमा आधारित फिल्म गणेश हिमाल मुनिको रुबी भ्याली र काठमाडौंमा छायांकन भइरहेको छ । मुख्य भुमिका गरेका नायक दयाहाङ राईले पटकथा मनपरेर आफूले फिल्म खेलेको जनाए । ‘अचेल म स्क्रिप्ट पारिश्रमिक हेरेर मात्रै काम गरिरहेको छु’ उनले भने, ‘यो फिल्मको कथाबस्तु निकै बलियो र मनछुने छ र यसमा मैले निकै फरक र चुनौतीपुर्ण भुमिका गरेको छु ।’

फिल्ममा विशेष भुमिकामा देखिन लागेकी नायिका रेखा थापाले पनि यसको कथाले नै आफूलाई तानेको बताइन् । फिल्ममा दयाहाङको जोडीको रुपमा नव नायिका शान्ती वाइबा देखिंदै छिन् । उनले यसअघि एउटा फिल्मको सानो रोलमा दयाहाङकै पत्नी भएको खेलेको सुनाउँदै ‘नीरफूल’मा भने आफूले मन फुकाएर काम गर्न पाएको बताइन् । उनले रुबी भ्यालीको गोठमा आगो ताप्दै भेंडीको दुध खाएको रोचक अनुभव सुनाइन् । बाल गायिका जिग्मे छ्योइकी घिसिङ फिल्मको मुख्य भुमिकामध्ये एकमा छिन् ।

फिल्मको कथा, पटकथा र गीत निर्देशक वल स्वयंले नै लेखेका छन् । पटकथामा उनलाई एशोसिएट निर्देशक सचिन घिमिरेले पनि साथ दिएका छन् । निर्देशक वलले दुईबर्षअघिको महाभूकम्पपछि दिमागमा कथा क्लिक भएको बताउँदै फिल्ममा राज्य प्रणालीको भष्टता पनि उठाउन खोजिएको बताए । ‘यो धादिङ रुबी भ्यालीको एउटा परिवारको कथा हो’ उनले भने, ‘यो ठाउँको भूगोल, प्रकृति र संस्कृतिबारे अहिलेसम्म बाहिर आएको छैन । यस हिसाबले यो फिल्मले रुबी भ्यालीलाई पनि चिनाउने छ ।’

फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको उनले जनाए । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिल र अमेरिकास्थित ग्रीनतारा इन्टरटेनमेन्टको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरिरहेको फिल्मको कार्यकारी निर्माता भने डोमा सोनाम हुन् । व्यवसायको सिलसिलामा दुबई रहेकीले पत्रकार सम्मेलनमा डोमा उपस्थित हुन सकिनन् । यसबाहेक निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अशोक थापा छन् ।

फिल्म सामाजिक विषयबस्तुमा आधारित रहेकोले आफूहरुले सहकार्य गरेको नेपाल–म्यान्मार फ्रेण्डसीप काउन्सिलका अध्यक्ष शंकर घिमिरले जनाए । ‘हाम्रो लगानी गैरनाफामुखी हो’ उनले भने, ‘यो फिल्मले समाजको कथा भन्नेछ । सामाजिक क्षेत्रमा काम गर्दै आएको काउन्सिलले यही कारण सहकार्य गरेको हो ।’ फिल्ममा बुद्धि तामाङ, पुस्कर गुरुङ, सरिता गिरी, राजन खतिवडा, सरोज अर्याल, मानस राज, लक्ष्मी बर्देवा, जीवन बराल, रोशन फ्युबा, खेम मोक्तान लगायतका कलाकार छन् । एशोयिएट निर्देशक सचिन घिमिरेले पनि पटकथामा सहकार्य गरेका छन् भने प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेलको संगीत रहेको कार्यक्रममा बताइयो । फिल्मको ३० प्रतिशत छायांकन बाँकी रहेको र आउँदो माघमा रिलिजको योजना रहेको निर्देशक वलले जनाए ।

प्रकाशित : भाद्र १, २०७४ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्

भूकम्प प्रभावितमा छाला र आँखाको समस्या

बाढी प्रभावित जिल्लामा पनि सेनाको स्वास्थ्य शिविर
कान्तिपुर संवाददाता

काठमाडौं — गोरखाका भूकम्प प्रभावित क्षेत्रका अधिकांश सर्वसाधारणमा छाला र आँखाको समस्या रहेको नेपाली सेनाले जनाएको छ । नेपाल र अमेरिकासहित ५ मुलुकका सेनाले संयुक्त रूपमा सञ्चालन गरेको नि:शुल्क शिविरमा स्वास्थ्य जाँच गराउन आउनेबाट यो तथ्य खुलेको हो ।

एउटै शिविरमा आएका २ हजार २८ जनामध्ये अधिकांशमा आँखा र छालाको समस्या देखिएको सेनाले जनाएको छ । गोरखा नगरपालिकास्थित सरस्वती माध्यमिक विद्यालयमा राखिएको शिविरमा त्यति धेरै संख्यामा उपचारका लागि आएका हुन् । उपचारका क्रममा आउने सर्वसाधारणलाई औषधि र चस्मासमेत नि:शुल्क वितरण गरिएको सेनाले जनाएको छ । 

सोही कार्यक्रमअन्तर्गत इन्जिनियर टोलीद्वारा गोरखाको सरस्वती मावि आहाले, महेन्द्र मावि, महेन्द्र उच्च मावि कुन्दुर, गोरखा जिल्ला अस्पतालको प्रशासनिक भवन, नगर स्वास्थ्य केन्द्र, छेवेटारलगायतका स्थानमा शौचालय/बाथरुम निर्माण, इलेक्ट्रिक कार्य, पानी ट्यांकी राख्ने, भवन मर्मत तथा रंगरोगन, ढल व्यवस्थापनजस्ता कार्य गरिएको समेत सेनाले जनाएको छ । 

उक्त कार्यमा गोरखा जिल्ला अस्पताल र गोरखा रेडक्रसको पनि सहभागिता थियो । सेनाका युद्धकार्य महानिर्देशक उपरथी हेमन्तराज कुँवरले स्वास्थ्य शिविर सञ्चालन तथा विविध मर्मत सम्भारमा अब्बलताका लागि चुक्न नहुने भन्दै सेनाले आफ्नो उच्च अनुशासन कायम गर्नुपर्ने बताएको पनि सेनाले जनाएको छ । 

संयुक्त सैन्य अभ्यासको एउटा रूपमा नेपाली सेना तथा अमेरिकी सेनाको संयुक्त तत्वावधानमा गोरखाका स्कुल र स्वास्थ्य केन्द्रहरूको मर्मतसम्भार भइरहेको पनि सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । ‘एक्स प्यासिफिक एञ्जल–२०१७’ नामबाट सञ्चालित अभ्यासमा नेपाल र अमेरिकाका अलावा श्रीलंका, मंगोलिया र बंगलादेशका सेनासमेत सहभागी छन् । उनीहरूले स्वास्थ्य शिविरसँगै अन्य मर्मत र निर्माणको कार्यसमेत गरिरहेका छन् । 

सेनाले सुरु गर्‍यो स्वास्थ्य शिविर
नेपाली सेनाले बाढी तथा पहिरो प्रभावित नागरिकको स्वास्थ्य परीक्षणका लागि अस्थायी स्वास्थ्य शिविर राखेको छ । 

स्थानीय प्रशासनसँगको समन्वयमा नेपाली सेनाले उद्धार तथा राहतसँगै स्वास्थ्य शिविर राखेर औषधिसमेत वितरण गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सेनाले बाढी प्रभावित सप्तरी, नवलपरासी, बाँके तथा बर्दियाका विभिन्न स्थानमा अस्थायी मेडिकल शिविर राखेर स्वास्थ्य सेवा प्रदान गरिरहेको सैन्य प्रवक्ता झंकरबहादुर कडायतले जानकारी दिए ।

सेनाको टोलीले हवाई तथा पैदल मार्गबाट राहत सामग्री वितरण गरिरहेको छ । हवाई साधनबाट हाइजेनिक किट, पानी शुद्धीकरण गर्ने औषधि तथा खाद्यान्न प्रभावित इलाकातर्फ लैजाने काम भइरहेको र जनचेतना फैलाउने क्रम जारी रहेको सेनाले जनाएको छ । 

सेनाले सप्तरी, सिरहा, उदयपुर, धनुषा, रौतहट र नवलपरासीका विभिन्न स्थानमा अस्थायी तटबन्धसमेत निर्माण गरिरहेको छ । धरापझैं बनेका बाँध मर्मत अघि बढाइएको जानकारी कडायतले दिए । सप्तरी, बाँके, बर्दिया र नवलपरासीका विभिन्न स्थानमा अवरुद्ध सडक सुचारु गर्ने काममा पनि सेना खटिएको छ ।

राहत आवश्यक पर्ने स्थानको जानकारीसमेत सेनाले स्थानीय प्रशासनबाट लिइरहेको जनसम्पर्क निर्देशनालयले जनाएको छ । विभिन्न जिल्लामा उद्धार, राहत तथा तटबन्ध निर्माणका लागि करिब १७ हजार ५ सय सैनिक खटिएका छन् । 

 

 

प्रकाशित : भाद्र १, २०७४ २०:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्