कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुकुन्डोको मन भए...

सुनीता साखकर्मी

भक्तपुर — दसैं नजिकिँदै छ । मानिस घर सिंगार्ने, सपिङ गर्ने, घर फर्कन अग्रिम टिकट बुकिङ गर्ने धुनमा व्यस्त छन् । भक्तपुरको याछेँका पूर्ण चित्रकारलाई पनि भ्याईनभ्याई छ, नवदुर्गा गणको ख्वापा बनाउन ।

मुकुन्डोको मन भए...

ख्वापा अर्थात् मुकुन्डो । भक्तपुरको नेवार समुदायमा यसको कति महत्त्व छ भने, नवदुर्गाको मुकुन्डोबिना दसैंमा नवदुर्गा नाच नै सुरु हुँदैन । चित्रकारले पाँच दशकदेखि एक्लैले नवदुर्गाको मुकुन्डो बनाउँदै आएका छन् । ७३ वर्षीय चित्रकार ‘आफूपछि कसले यो पेसालाई निरन्तरता देला ?’ भनेर चिन्तित छन् । 


‘मेरो उमेरले साथ छोडदै गइरहेको छ । पहिलेजस्तो काम गर्न नसक्ने भएको छु,’ उनले भने, ‘आम्दानीभन्दा खर्च बढी हुने भएकोले छोराहरू पनि गर्न मान्दैनन् ।’ युनेस्कोले अमूर्त सम्पदा संरक्षणसम्बन्धी चलाएको गोष्ठीका सहभागीहरू हालैको दिन चित्रकारको घरमा पुग्दा उनले यस्तै चिन्ता व्यक्त गरे । मुकुन्डो बनाउन चाहिने सामग्री खरिद गर्दा, ज्याला हिसाब गर्दा वर्षको झन्डै चार लाख खर्च हुने उनले सुनाए । मुकुन्डो बनाउन उनले गुठी संस्थानबाट वार्षिक १५ हजार र संस्कृति मन्त्रालयबाट ५० हजार पाउने गरेका छन् । नपुगेको खर्च भने दाजुभाइ, साथीहरूलगायत अन्य दाताहरूसँग मागेर चलाउने गरेका छन् ।
‘बर्सेनि पैसा मागेर मुकुन्डो बनाउँदा लाज लाग्छ । तर के गर्नु, विकल्पै छैन,’ उनले भने, ‘पुखौँदेखिको पेसा छोड्न पनि सकिएन । त्यसैले बेलाबेला चिन्ताले मन भारी भएर आउँछ ।’
उनले बेलाबेलामा यो चिन्ता लिएर विभिन्न कार्यालय धाउने गरेका छन् । तर आश्वासनबाहेक केही पाएनन् । कसैबाट पनि सुनुवाइ नभएको उनले गुनासो पोखे । 


तीन छोरामध्ये माइला राजेशले बुवालाई मुकुन्डो बनाउन सहयोग गर्ने गरेका छन् । बुवापछि आफुले यो परम्परा अगाडि बढाउन सक्ने वा नसक्नेमा उनी अन्योलमै छन् । ‘बुवा एक्लैले जसोतसो यो परम्परा धानिरहनुभएको छ,’ उनले भने, ‘नवदुर्गा नाच हेर्न देशविदेशका मानिसलाई आहवान गरिन्छ । तर यही जोगाउनेबारे भने सम्बन्धित निकायको ध्यान गएको छैन । एक्लो व्यक्तिले जोगाएर कति दिन चल्छ ?’ यो पेसा जोगाउन के गर्न सकिन्छ भन्ने सहभागीहरूको प्रश्नमा राजेशले भने, ‘यही पेसाले खान लाउन पुगे अन्य पेसा नै गर्दैनथ्यौँ । तर सन्तानको भविष्यका लागि पनि हामीले पेसा बदल्नुपर्ने अवस्था सिर्जना भएको छ ।’ 

उनले मुकुन्डो बनाउने प्रक्रिया सविस्तार सुनाए । घण्टाकर्णको दिन भक्तपुरको सुडालबाट ल्याएको विशेष कालो माटोको पूजा गरी देवीदेउता बनाउन माटोलाई १३ भाग लगाइन्छ । माटोलाई विधिवत् पूजा गरी बाजा बजाउने र नाच्नेहरूलाई भोज खुवाउनुपर्छ । त्यसपछि माटोबाट मुकुन्डो बनाउने विधि सुरु हुन्छ । उनले भने, ‘ल्याएको माटोलाई केही दिन पानी सुक्ने गरी पिँmजाएर हातैले पिठो हुने गरी कुटी केलाउनुपर्छ । केलाएको माटोलाई पानी, कपास, नेपाली कागज हाली मुछ्नुपर्छ । मुछेको माटोलाई दिनभरि काठको मुंग्रोले कुट्नुपर्छ ।’ पूर्णले युनेस्कोले चलाएको गोष्ठीका सहभागीहरूलाई मुकुन्डो बनाएरसमेत देखाए । यसका लागि उनले अघिल्लो दिन नै माटो मुछेर राखेका थिए । 


सबैभन्दा पहिला उनले मुकुन्डोको साँचोमाथि नेपाली कपडा राखेर मुछेको माटोलाई रोटीजस्तै बेलेर त्यसमाथि राखे । त्यसपछि एकैछिनमा माटोलाई सुन्दर आकृति दिए । ‘हेर्दा सजिलो छ, तर बनाउन निकै कठिन,’ उनले भने, ‘गाह्रो भएकोले माटोको काम गर्ने कामदार पाउन पनि मुस्किल छ । कहिलेकाँही आउँछन् । नत्र श्रीमान्श्रीमती मिलेर गर्छाैँ ।’ केही दिन सुकाएपछि पिठोको माडा बनाएर त्यसमाथि नेपाली कपडा टाँसेर रंग भरिने उनले सुुनाए । रंगको लागि जडिबुटीहरू, सुन र विभिन्न पत्थरहरूको प्रयोग गर्ने उनले सुनाए । भने, ‘रंग तयार गर्ने सामानहरू बजार निकै चर्काे मूल्य तिरेर किन्नुपर्छ । कुनै त अहिले पाइँदैन । बुवाले पहिलेदेखि नै जोगाएर राख्नुभएकोले प्रयोग गर्न पाएका छौँ ।’ 

दसंैको नवमीका दिनसम्म नौ जना दुर्गाहरू र त्यसबाहेक महादेव, भैरव, श्वेतभैरव र गणेश गरी १३ वटा मुकुन्डो बनाइसक्नुपर्छ । र, त्यही मुकुन्डो लगाएर वनमाला समुदायका कलाकारहरूले नवदुर्गाको नाच निकाल्ने गरेका छन् । जीवित देवता नवदुर्गा गणले यो मुकुन्डो नौ महिनासम्म प्रयोग गर्ने गरेको संस्कृतिविद् ओम धौभडेलले बताए । ‘नाच भक्तपुर नगरका २१ टोललगायत बनेपा, पनौती, साँगा, धुलिखेल, साँखु, मध्यपुर थिमि, पशुपति, टोखा, कीर्तिपुरलगायत ठाउँमा प्रदर्शन गर्ने परम्परा छ,’ उनले भने, ‘प्रत्येक वर्ष अष्टमीमा मुकुन्डो जलाएर नवदुर्गा देवगणको विसर्जन गरिन्छ ।’ नवदुर्गा नाचबाहेक यो मुकुन्डो ङालाकेगु जात्रा (माछा मार्ने जात्रा), गाईजात्रा, देवी नाच, भैरव नाच, लाखे नाचलगायतमा प्रयोग हुने उनले सुनाए ।

पूर्णले यो मुकुन्डो नबनाए यी सबै नाचहरू प्रभावित हुने उनले बताए । उनले भने, ‘भौतिक सम्पदा भत्किए, सबैले देख्छ । मर्मतका लागि सबै लागिपर्छन् । तर अमूर्त सम्पदा भत्किएको कसैले देख्दैन, र यो भत्किएपछि पुन: बनाउन धेरै गाह्रो हुन्छ । त्यसैले यो जोगाउनेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।’ 
अमूर्त सम्पदा जगेर्ना गर्न गुठीले ठूलो भूमिका खेल्ने बताउँदै मुकुन्डो संरक्षणको लागि गुठी र जग्गाजमिनको व्यवस्था हुनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित : भाद्र २७, २०७४ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?