कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जसलाई भनिन्छ रूखा र छुच्चा

काठमाडौं — सबैभन्दा रुखो, अभ्रद, घमण्डी वा छुच्चो सेलिब्रिटी को होला ? यसको जवाफ सहज छैन । तर, अमेरिकी प्रश्नोत्तर साइट, कोरा डटकमका प्रयोगकर्ताले रुखा सेलिब्रिटीबारे एउटा थ्रेड तयार पारेका छन् ।

जसलाई भनिन्छ रूखा र छुच्चा

त्यसमा बलिउड कलाकारहरू कट्रिना कैफ, टींकल खन्ना, अनुष्का शर्मा, बबी देओल, सलमान खान, गोविन्दा र सैफ अली–करिना कपुर खानलाई अचाक्ली रुखा स्टारका रूपमा समेटिएको छ । 

सलमान खान

फेमटेन डटकमका अनुसार कान्य वेस्ट, ग्वनेथ पाल्ट्रो, क्रिस ब्राउन, एलेक बल्डविन, क्रिस्टिना एगुलेरा, लिन्डसे लोहान, ब्रुस विलिस, साया लबफ, क्याथरिन हाइगल र क्रिस्टिन स्टेवार्ट रुखा सेलिब्रिटी हुन् । पत्रकार र फयानसँगको व्यवहारका आधारमा उनीहरूको रुखोपन नापिएको उक्त वेबसाइटले जनाएका छन् ।


क्रिस ब्राउन

‘सेलिब्रिटीहरू सँधै स्पटलाइटमा हुन्छन्,’ फेमटेनले लेखेको छ, ‘उनीहरू रिसाएको, खुसाएको सबै थोक समाचार बन्छ । आफ्नो इमोसन हयान्डल गर्न नजान्ने सेलिब्रिटी बदनाम हुन सक्छ ।’
सन् २००८ मा सन्तोष राई नाम गरेका फयानलाई झापड हानेको प्रसंगलाई लिएर कोरा प्रयोगकर्ताले गोविन्दालाई अभद्रको संज्ञा दिएका छन् । फिल्म ‘मनी है तो हनी है’ को छायांकनका क्रममा गोविन्दाले सन्तोषको गाला चडकाएका थिए । त्यसको एक वर्षपछि सन्तोषले बम्बे हाइकोर्टमा गोविन्दाविरुद्ध मुद्दासमेत हाले । उक्त केस सुप्रिम कोर्टसम्म पुग्यो । अन्तत: गोविन्दाले ५ लाख भारु दिएर क्षमायाचना गरेपछि सन्तोष साम्य भएका थिए । 


गोविन्दा

टींकलबारे चाहिँ एक अज्ञात प्रयोगकर्ताले आफ्नो अनुभव सेयर गरेका छन् । उनी लेख्छन्, “म त्यो बेला खेलौना स्टोरमा काम गर्थें । एउटा बच्चा आएर हाम्रो स्टोरबाट सानो खेलौना लग्यो । मैले केही भनिनँ । केही छिनपछि ऊ आफ्नी आमालाई लिएर आयो । आमा टींकन खन्ना थिइन् । उनले मलाई नराम्रोसँग झपारिन् । ‘बच्चालाई खेलौना दिने हो ?’ भनेर कराउँदासम्म ठीकै थियो । खेलौनाको मूल्य सोधेपछिको उनको प्रतिक्रियाचाहिँ अनौठो लाग्यो । उनले बच्चालाई ‘२८० रुपैयाँ कमाउन कति गाह्रो छ, तँलाई थाहा छ ?’ भन्दै थर्काएको देखेर म छक्क परेँ । कस्ती रुखी महिला होला ?”


ट्वींकल खन्ना

गायिका रिहानामाथि दुव्र्यवहार गरेको, नशामा चूर भएर तोडफोड गरेको जस्ता थुप्रै उपद्रो देखाएका अमेरिकी गायक क्रिस ब्राउनलाई पनि फेमटेनले रुखो भनेको छ । र्‍यापर कान्य वेस्टमाथि पनि उस्तै गुनासा गरिएका छन् । आफूले आफैंलाई महान् भन्ने उनको बानीको पनि वेबसाइटमा खिल्ली उडाइएको छ । ‘संगीत क्षेत्रको नम्बर वान मान्छे मै हुँ,’ कान्य भन्छन्, ‘अरू सबै दोस्रो नम्बरमा पर्छन् ।’


निकी मिनाज

अमेरिकी र्‍यापर निकी मिनाजलाई चाहिँ छुच्ची सेलिब्रिटी भनिँदो रहेछ । उनी विशेषत: मिडियासँग असहज रूपमा प्रस्तुत हुन्छिन् । केसम्म गर्छिन् भने, पत्रकारको प्रश्न चित्त नबुझे उनी लाइभ सोको बीचमै उठेर हिँडिदिन्छिन् । उनको आफ्नै ‘टु क्वेस्चन रुल’ पनि छ । दुईभन्दा बढी प्रश्न गरे उनी जुरुक्क उठेर बाटो लाग्छिन् । उनको पारा रुखो भएको पत्रकारहरूले बताउँदै आएका छन् ।

प्रकाशित : भाद्र २७, २०७४ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?