कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘क्लिनिकल रिसर्चर’ सुन्दरी

कान्तिपुर संवाददाता

लन्डन — पेशाले ‘क्लिनिकल रिसर्चर’ हुन् उनी । प्यारेक्सेल इन्टरनेशनल कम्पनीमा जागिरे सिर्जना गुरुङको परिचय अचेल थपिएको छ । जनमानस उनलाई मिस युके नेपाल-०१७ सिर्जना गुरुङबाट बढी चिन्छन्।

‘क्लिनिकल रिसर्चर’ सुन्दरी

‘उपाधि जित्छु भन्ने पटक्कै थिएन’, छुट्टीका बेला साउथ हयारो लन्डनमा भेटिएकी सिर्जनाले सुनाइन्, ‘टाइटल जित्छु भन्दा पनि यो प्रतिष्पर्धा हो, हारजित भइहाल्छ भन्ने लागेको थियो । मेरो लागि सहभागिता नै जिते बराबर थियो किनकी यसका लागि साहस चाहिन्थ्यो र यसबाट मैले धेरै कुरा सिकेकी थिएँ ।’ 

मिस नेपाल २००२ माल्भिका सुब्बा कोरियोग्राफर भएकाले फिनाले अघि पनि उनको लेक्चर, ‘पर्सनालिटी डेभलप्मेन्ट’ प्रशिक्षण ज्यादै उपयोगी भएर यसैमा खुशी रहेको सिर्जनाले बताइन् । 

भाद्र अन्तिम साता अन्य ७ प्रतिस्पर्धीलाई उछिनेर उनले उपाधि जितिन् । त्यसयता जिम्मेवारी झन् थपिएको छ उनमाथि । ‘मैले धेरै गर्नुपर्छ भन्ने भएको छ’, उनले योजना सुनाइन्, ‘एक वर्षमा बेलायतका नेपाली युवालाई एकीकृत गर्ने मेरो योजना छ । बेलायतबस्ने युवाले नेपालीपन भुल्ने क्रम बढेकालेम उनीहरुलाई एकीकृत गर्न चाहन्छु ।वृद्धवृद्धा युकेमा एक्लो महशुस गर्नुहुन्छ, उहांहरुलाई अंग्रेजी भाषा आउंदैन । रमाइलो गर्न मन लाग्दो हो, हामी साथमा छौं है भन्ने देखाउन चाहन्छु म ।’

सिर्जनाले यही नोभेम्बरभित्र ‘ब्युटी विथ द परपोज’ नामक च्यारिटी इभेन्ट गर्ने योजना बनाइरहेकी छन् । उपाधि जितेसंगै साथीभाइ, आफन्तजन र समाजले हेर्ने दृष्टिकोण सकारात्मक पाएकी छन् उनले । त्यस्तो 
सकारात्मक र रचनात्मक प्रतिक्रियाले अगाडि बढ्न सहज हुने विश्वास उनलाई छ ।

सन् २०१० बाट सुरु मिस युके नेपाल प्रतिष्पर्धा प्रारम्भदेखि नै हेरिराख्थिन् सिर्जना । तर, पहिले पढाइ प्राथमिकतामा राखेर कलेज, युनिभर्सिटी सकिएपछि उनी ब्युटी पेजेन्टतिर लागेकी हुन् । ठूलो दिदी चन्द्रा गुरुङ मिस नेपाल २००५ को फाइनलिष्ट र सानो दिदी तिर्सना गुरुङ मिस टिन २००५ । यो क्षेत्र ग्ल्यामरस मात्र होइन, समाजमा राम्रो काम गर्न प्रेरित गर्ने एउटा अस्त्र पनि हो भन्ने दिदीहरुकै प्रेरणाले यता रुची बढेको उनले सुनाइन् । 

ब्युटी पेजेन्ट बेला बेला आलोचनाको घेरामा रहन्छ । बाहिर सरसर्ती हेर्दा यो देह प्रदर्शन बाहेक केही होइन जस्तो ठान्नेहरु अधिक छन् । तर, सिर्जनाको बुझाइ अलिक फरक छ । 

‘झकिझकाउ फाइनल राउण्ड पुग्दा मानिसको नजरमा यो क्षेत्र ग्ल्यामरस लागे पनि प्रशिक्षण अवधिभर प्रतियोगीले कसरी बोल्ने, कसरी समाजसँग घुलमिल हुने भन्ने थाहा पाउँछन् । समाजलाई कसरी राम्रो कुरा दिन सकिन्छ थाहा हुन्छ । त्यसकारण यो आफैंमा नराम्रो क्षेत्र होइन,' उनको बुझाइ छ ।

लन्डन ब्रुनेल युनिभर्सिटीबाट बायो मेडिकल साइन्समा ग्र्याजुएशन गरेकी सिर्जना बिगतमा सर्ट मूभी र म्यूजिक भिडियोमा अभिनय गरिसकेकाले क्यामेरा फेस गर्न झन् मज्जा लाग्ने बताउँछिन् । राम्रो अफर आए फिल्ममा पनि खेल्ने उनको चाहना छ ।

पोखराको निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल नजिक स्थायी घर भएकी उनी दश वर्ष छँदा ब्रुनाइ गइन् । बाबु ब्रिटिश आर्मीको जिआरइमा सेवारत थिए । कक्षा ३ सकेर ब्रुनाइ गएकी सिर्जना साढे तीन वर्ष त्यहाँ बसेर सन् २००६ मा युके आइन् । 

लाहुरे परिवारमा जन्मिन पाएकामा भाग्यमानी ठान्छिन् उनी । ‘बुबा, दाई, अंकल सबैजना लाहुरे पृष्ठभूमिका । यही कारण हामी युकेमा आउन पायौं’, उनले भनिन्, ‘म यो अवसरलाई यहाँ राम्रोसँग सदुपयोग गर्न चाहन्छु ।’

लामो समयदेखि बेलायतमै रहेकी उनलाई प्रेम र सेक्स एक अर्काबीच विश्वासमा हुनुपर्छ जस्तो लाग्छ । बेलायतस्थित कयौं नेपाली युवा कुलततिर लागेका खबर सुन्दा उनी दु:खी हुन्छिन् । ‘परिवारबीच कम्युनिकेशन अत्यावश्यक छ,' उनको सुझाव छ, ‘आमा बाबुलाई आफ्नो बच्चाले के गर्दैछन् थाहा हुनुपर्छ । किनभने परिवारबाट टाढिंदै जांदा गलत बाटो हिंड्ने सम्भावना अधिक रहन्छ ।’

५ फिट ७ इञ्च उचाईं भएकी स्पोर्टी पर्सन सिर्जना फिटनेशमा खुबै ध्यान दिन्छिन् । जागिर सकेर प्रत्येक साँझ जिम जाने उनको रुटिन छ । लङजम्प, बास्केटबल, योगा, स्वीमिङ खेलबाहेक युट्यूबमा रमाइरहन्छिन् सिर्जना । फुर्सदमा मानिसका प्रेरणादायी अन्तरवार्ता हेर्न मन लाग्दो रहेछ ।

भविष्यमा क्लिनिकल रिसर्चमै अगाडि बढ्ने सोच उनको छ । मिस युके नेपाललाई बृहत रुपमा अगाडि बढाउने र नेपाली समुदायको हितका लागि सहकार्य गर्ने योजना पनि सिर्जनाले सुनाइन् । नेपालतिर गएर सामाजिक काम गर्ने सोच पनि उनको छ ।

प्रकाशित : आश्विन १९, २०७४ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?