कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘अग्निदहन’ प्रदर्शन तयारीमा

कान्तिपुर संवाददाता

लेखनाथ — बोक्सी प्रथाको विरोधमा कथा बुनिएको ‘अग्निदहन’ को मुलुकका विभिन्न स्थानमा च्यारिटी सो गरिने भएको छ । पोखरामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा फिल्म युनिटले डेढ वर्ष च्यारिटी सो गरिसकेपछि नियमित प्रदर्शनमा लैजाने बताएको छ ।

 ‘अग्निदहन’ प्रदर्शन तयारीमा

‘मान्छे बोक्सी हुन्न राष्ट्रिय जागरण प्रतिष्ठान’ ले बनाएको फिल्मको प्रथम प्रदर्शन भने राष्ट्रपति विद्यादेवी भण्डारीका लागि शीतल निवासमा भदौ १६ मा देखाएर गरिएको थियो । उक्त फिल्मका परिकल्पनाकार प्रतिष्ठान अध्यक्ष कोविदशरण उपाध्यायले समाजमा व्याप्त अवैज्ञानिक सोचलाई जरैदेखि निर्मुल गर्नु उद्देश्य भएको बताए ।

प्रतिष्ठानका संरक्षक भुवनेश्वर शर्मा पौडेलले बोक्सी प्रथाविरुद्धको अभियानलाई अन्तर्राष्ट्रियकरण गर्न फिल्म निर्माणको चरणसम्म आइपुगेको सुनाए ।

फिल्म निर्देशक घनश्याम लामिछानेले संस्थाको उद्देश्यसँग मिल्ने फिल्म बनाउनु अत्यन्तै जटिल भएको बताए । उनले भने, ‘कथित बोक्साबोक्सीमाथि हुने गालीगलौज, कुटपिट, सामाजिक बहिस्कारदेखि लिएर हत्या गर्नेसम्मका विद्यमान अमानवीय र जघन्य अपराधलाई सजीवतापूर्वक फिल्ममा चित्रण गर्ने प्रयास गरेका छौं ।
बालमस्तिष्कमा कुरीति र कुसंस्कार घुसाउँदा समाज कसरी अधोगतितर्फ गइरहेको छ भन्ने फिल्ममार्फत देखाउन खोजेका छौँ ।’

लोकमणि नेपालको कथा रहेको फिल्ममा प्रकाश घिमिरे, माओत्से गुरुङ, अनुपमा भण्डारी, प्रमिला तुलाचन, तुलसा जीसी, ताराबहादुर गुरुङलगायतको अभिनय छ ।

फिल्म निर्माणमा पोखरा लेखनाथ महानगरपालिका र कास्की जिविसले पनि सहयोग गरेका छन् ।

प्रकाशित : आश्विन २१, २०७४ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?