कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘पुरानो घर’ मा नयाँ सपना

मधु शाही

काठमाडौं — सपना सबै पूरा हुँदैनन् । पूरा हुनै नसक्ने पनि होइनन् । यी सबै कर्म र लगनशीलतामा भर पर्छ । रंगकर्मी सुलक्षण भारती र सिर्जना अधिकारीले नाटकसँग साइनो गाँसेको दशक बितेछ । लगानीको प्रतिफलस्वरूप उनीहरूले नयाँ थिएटर जन्माउने जर्मको गरे र नाम पनि जुराए, ‘पुरानो घर’ ।

‘पुरानो घर’ मा नयाँ सपना

स्वअध्ययनबाट नाटक सिक्दै आएका सुलक्षण र सिर्जना लामो समयदेखि निरन्तर मण्डला थिएटरमा नाट्यकर्ममा सक्रिय छन् । पछिल्लो समय आफ्नै लेखन र निर्देशनमा समेत दक्षता देखाएको जोडी युवा पुस्ताको चाहनाअनुरूप नाटक पस्कन सफल देखिएका छन् । सुलक्षणको काममा सिर्जना र सिर्जनाको काममा सुलक्षणको जहिले हात रहन्छ । केही महिनाअघि चलेको नाटक ‘मिल्क टी’ मा दुवै जनाको अभिनय लोभ लाग्दो थियो । रंगमञ्चप्रतिको उनीहरूको लत अकासिँदै छ । नाटक खेलेर आम्दानी हँुदैन भन्नेहरूका बीच उनीहरू विपरीत सावित भइरहेका छन् । ‘गर्नुपर्छ, सम्भावना धेरै छन्,’ सिर्जना भन्छिन्, ‘नाटकबिना हामी अपूरै छौँ ।’ सुलक्षण–सिर्जना एउटा आफ्नै नाटक घर खोल्ने सोचमा पहिल्यैदेखि थिए । तर, कहिले ? मिति भने तोकेका थिएनन् । सहरमा धमाधम नाटक घर खुल्ने र बन्द हुने क्रम उनीहरूले नदेखेका हैनन् । तर हिम्मत जुटाएरै यति बेला ‘पुरानो घर’ थिएटरमार्फत नयाँ सपना सजाउने जमर्कोमा जोडी अग्रसर भएको छ ।

सुलक्षण र सिर्जनाले आफ्नै जग्गामा थिएटर घर नखुलेसम्म बन्ने र बन्द हुने जोखिम भइरहने महसुस गरे । त्यसैले पनि सिनामंगलमा रहेको आफ्नै ५ रोपनी जग्गामा ‘पुरानो घर’ को जग हाल्ने निधो कसे । दसैंको सन्दर्भ पारेर थिएटरको शिलान्याससमेत गरिसकेका उनीहरूले फागुनसम्ममा तयार पार्ने बताए । थिएटरकी म्यानेजमेन्ट डाइरेक्टर सिर्जना हुन् भने सुलक्षण क्रिएटिभ डाइरेक्टर । सुलक्षण–सिर्जना दम्पतीले बन्दै गरेको थिएटरलाई मन्दिरजस्तै पवित्र मानेका छन् । झन्डै ५०–६० लाख रुपैयाँको लगानीमा दुईतले थिएटर घर निर्माण गर्ने सिर्जनाले सुनाइन् । रंगमञ्च सामूहिक सहकार्यबिना असम्भव छ । त्यसैले अन्य सहयोगीहरू बटुलेर निर्माण गर्ने योजना पनि उनीहरूको छ । आफ्नै जग्गामा थिएटर नहुँदा बन्द हुने थिएटरहरू सहरमा थुप्रै छन् । अहिलेसम्म सर्वनाम थिएटर मात्रै आफ्नै जग्गामा ठडिन सकेको छ । गुरुकुल, थिएटर भिलेज र थिएटर मलजस्ता थिएटर घरका आफ्नै जग्गा नहुँदाको परिणाम जग्गाको लिज सकिएपछि अहिले बन्द अवस्थामा छन् । सिर्जना र सुलक्षण ‘पुरानो घर’ को नयाँ सपना पूरा गर्न योजनाबद्ध छन् । नियमित नाटक मञ्चनदेखि रंगमञ्चका अन्य प्रभावकारी गतिविधि सुचारु गरिने सुलक्षणले बताए । ‘पुरानो घर, हामी दुवैको सपना हो,’ सिर्जना थप्छिन्, ‘विपनामा परिणत गर्ने पालो आएको छ ।’

प्रकाशित : आश्विन २२, २०७४ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?